महानगर प्रमुख पीएल सिंहले यथेष्ट अधिकार नपाएका कारण सोचेअनुसारको काम गर्न नपाएको गुनासो गरेका थिए । उनले काठमाडौंलाई बस्न लायक सहर बनाउनुपर्ने भन्दै ‘स्वच्छ, सफा र हराभरा काठमाडौं’को नारा अघि सारेका थिए ।
काठमाडौँ — विसं २०४६ को राजनीतिक परिवर्तनपछि काठमाडौं नगरपालिकाको पहिलो निर्वाचित मेयर प्रेमलाल सिंह (पीएल सिंह) ले त्यतिबेला विदेशीसँगको सम्बन्ध विस्तार, आर्थिक स्रोतको पहिचान र योजना व्यवस्थापन गरेको चर्चा अहिले पनि हुने गरेको छ । उनले बसालेको थिति र जगमा नै अहिले महानगर चलिरहेको भन्नेहरू पनि छन् ।
२०४९ को स्थानीय निर्वाचनबाट मेयर बनेका पीएललाई ‘भिजिनरी’ व्यक्तिका रूपमा हेरिन्थ्यो । उनले बसालेका विकासका कतिपय जगलाई त्यसपछिका मेयरले निरन्तरता दिएको भनाइ अहिले पनि सुनिने गरेको छ । उनी काठमाडौंलाई अमेरिकाको सुन्दर सहर रोचेस्टरजस्तै हेर्न चाहन्छु भन्दै पटक–पटक उदाहरण दिने गर्थे ।
नगरपालिकालाई उनकै कार्यकालमा २०५२ मंसिर २९ मा महानगरपालिका बनाइएको थियो । तर पीएलले महानगर भए पनि यथेष्ट अधिकार नपाएका कारण सोचेअनुसारको काम गर्न नपाएको गुनासो गरेका थिए । उनले काठमाडौंलाई बस्न लायक सहर बनाउनुपर्ने धारणा अघि सारेका थिए । मेयर भएपछि उनले ‘स्वच्छ, सफा र हराभरा काठमाडौंको’ नारा अघि सारेका थिए । समयको पावन्दी र स्रोतको अभावमा उनले सार्वजनिक गरेका धेरै योजना त्यतिबेला कार्यान्वयन हुन सकेनन् ।
आजभन्दा ३० वर्षअघिको काठमाडौं नगरको अवस्था र आफूले गरेका कामका बारेमा धारणा सार्वजनिक गरेका थिए । २०५२ पुसमा कान्तिपुर दैनिकका पत्रकार गुणराज लुर्इंटेलसँगको लामो अन्तर्वार्तामा उनले आफू मेयर हुँदा काठमाडौं नगरपालिकाको संरचना निकै कमजोर भएको उल्लेख गरेका थिए । उनले विश्वका नगरपालिकासँग पनि प्रतिस्पर्धा गर्न सक्ने गरी काम गर्नुपर्ने धारणा अघि सारेका थिए । जनताको अधिकार स्थापित गर्न सिस्टमलाई नै हेर्नुपर्ने भन्दै उनले विश्वमा चलिरहेको प्रविधिलाई पनि ध्यान दिनुपर्ने बताएका थिए ।
आफूलाई लण्डन पुग्दा बेलायतीहरूले ‘लर्ड मेयर’ र जापान पुगेँ भने ‘अनरेबल मेयर’ भन्ने गरेको प्रसंग जोड्दै उनले नेपालमा स्थानीय निकायलाई शक्तिशाली बन्ने अधिकार दिनुपर्ने तर्क गरेका थिए । ‘मलाई बाहिर जाँदा महानगरको मेयर भनेर इज्जत त हुन्छ । तर महानगरजस्तो भएको छैन । यो वास्तविकतालाई सामान गर्न काम गरेर देखाउनुपर्ने अवस्था छ,’ उनको भनाइ थियो ।![[Archive] The Kathmandu that the mayor of the metropolis saw three decades ago...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page3kpr-1312026052300-1000x0.jpg)
सहरी समस्या समाधानका लागि विश्व बैंकले काठमाडौंलगायतका विश्वका ६ वटा महानगरलाई सहायता दिएको थियो । उक्त सहायता सरकारले नै खर्च गर्ने भएपछि अन्याय भएको गुनासो पीएलको थियो । नेपाली कांग्रेसबाट जितेका पीएलले सरकारले खर्च गरेकामा भन्दा पनि जसको नाममा आएको छ, त्यसले खर्च गर्न नपाएको गुनासो गरेका थिए । उक्त रकम आफूसमक्ष आउनुपर्ने तर्क गर्दै उनले सहयोगको उपयोग आधारभूत संचरनामा खर्च गर्नुपर्ने बताएका थिए ।
जापानमा १९६० मा भएको प्रदुषण काठमाडौंमा १९९५ मा देखिएको चर्चा गर्दै अन्तर्वार्तामा मेयर पीएलले भनेका थिए, ‘त्यहाँ ३० वर्षमा भएको काम मैले यहाँ ५ वर्षमा गर्नुपर्यो । गाउँबाट सहर जाने मानिसको प्रवृत्ति हुन्छ । राजधानीमा एउटा घर बनाऔं भन्ने हुन्छ । त्यसका लागि गुरुयोजना बनाउनु जरुरी छ ।’
अब राजधानीवासीलाई समयमा सुविधा दिनुपर्ने धारणा राख्दै उनले जनताले सुविधा पाएको महसुस गर्नुपर्ने बताएका थिए । पानी, बिजुली र ढल नगरपालिकाको हातमा हुनुपर्ने भनाइ उनको थियो । ‘साइट सिटी’ बनाएर आधारभूत सुविधा दिएमा काठमाडौंवरिपरिका मान्छे राजधानी नआउने अवधारणा उनले राखेका थिए । उनले भनेका थिए, ‘अमेरिकाको रोचेस्टर सिटीमा बिहान गाउँका मानिस काम गर्न आउँछन् र दिनभरि काम गरेर बेलुकी घर फर्किन्छन् ।’
आफू बच्चा हुँदा काठमाडौं स्वच्छ, सफा र हराभरा भएको र प्राकृतिक स्रोत पनि भएको स्मरण गर्दै उनले भनेका थिए, ‘महानगर हुनासाथ सरकारलाई एउटा प्रतिवेदन दिएको थिएँ । त्यो कार्यान्वयन हुन सकेन । मैले संसदमा गएर सांसदहरूलाई लबिइङ गर्नुपर्ने अवस्था छ । आफ्नो अधिकार नै नभएपछि के गर्ने ? काठमाडौंको साँच्चै विकास गर्ने हो भने बढी स्वायत्तता दिनुपर्छ ।’
काठमाडौं महानगरका संस्थापक स्वर्गीय पीएल सिंहसँगको अन्तर्वार्तालाई कान्तिपुर दैनिकले २०५२ पुस २८ मा ‘काठमाडौंलाई बस्न मात्र होइन, काम गर्न लायक पनि बनाउनुपर्छ’ शीर्षकमा प्रकाशित गरेको थियो । उनको २०८१ पुसमा ८५ वर्षको उमेरमा निधन भएको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The Kathmandu that the mayor of the metropolis saw three decades ago...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/plsingh-1734403326-1312026052416-1000x0.jpg&w=1001&h=0)