[अर्काइभ] कुर्सी महिमाले रोचक बनाएको त्यो संसद् बैठक

‘क्यान्टिनमा समेत कमिसन खाइएको छ । कुर्सी किन्दा ठूलो घोटाला भएको छ,’ कृष्णगोपाल श्रेष्ठले भने । उनी यत्तिमै अडिएनन्, यी सबैको जवाफ पनि मागेपछि सभामुखले भनेका थिए, 'धेरै कुरा सम्झाएकामा तपाईंलाई धन्यवाद ।'

पुस २८, २०८२

कान्तिपुर संवाददाता

[Archive] That Parliament meeting made interesting by the glory of the chair

What you should know

काठमाडौँ — संसद् मुख्यतः कानुन निर्माण गर्ने र जनताबाट चुनिएका प्रतिनिधिले जनताकै आवाज उठाउने सर्वोच्च थलो हो । तर जनप्रतिनिधिहरूले कहिलेकाहीँ रोचक र व्यंग्यात्मक प्रसंग उठाएर संसद् बैठकलाई रोमाञ्चक बनाउने गरेका छन् । सांसदहरूले उठाउने प्रसंगमा हाँसो र ठट्टा मात्र होइन, सन्देश पनि दिएको पाइन्छ । 

२०५२ पुस १८ को प्रतिनिधिसभाको बैठकमा ‘कुर्सी विवाद’ उठाएर व्यंग्यात्मक भनाइमार्फत रचनात्मक सन्देश प्रवाह गरेको घटना एउटा उदाहरण हो । उनीहरूले रोचक प्रसंग जोडेर नेताहरूमा देखिने कुर्सी–मोह र भ्रष्टाचारको सन्दर्भ उठाएका थिए । 

सभामुख रामचन्द्र पौडेलले बैठक सुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको नियमापत्तिको पर्रा नै छुटेको थियो । बैठक सुरु हुनेवित्तिकै सांसदहरूले निरन्तर नियमापत्ति गरेको धेरै दिन भएको थियो । त्यो सन्दर्भ जोडेर सभामुख पौडेलले सांसदहरूलाई भनेका थिए, ‘माननीय सांसदहरू बैठकको कारबाही सुरु गरेलगत्तै नियमापत्ति गर्ने र हात उठाउने परम्परा बसाल्न थाल्नु भएको त होइन ?’ 

कुर्सी विवादमा घोचपेच र व्यंग्य 

एमाले सांसद हिक्मतबहादुर शाहीले उल्लेख गर्नुभएको कुर्सी विवाद निकै रोचक थियो । सांसद शाहीको टिप्पणी थियो, ‘म यसअघि संसदको पछिल्लो बेञ्चमा बस्थेँ । तर आज अगाडि आएर बसेको त पूर्वप्रधानमन्त्रीका लागि मात्र भनेर लेखेको कुर्सी देखेँ । कहीँ नभएको व्यवस्था पनि यहाँ कसरी भयो, त्यसको जानकारी चाहियो ।’

सभामुख पौडेलले जवाफ दिँदै भनेका थिए, ‘माननीय सदस्य तपाईं धेरैपछि मात्र अगाडि आउनुभएछ । तपाईंका आँखा पूर्वप्रधानमन्त्रीको कुर्सीमा त पुग्यो तर नियमावली पल्टाएर हेर्नेतिर चाहिँ पुगेको रहेनछ ।’ त्यसपछि एमाले सांसद उर्वादत्त पन्तले सभामुखसँग सोधेका थिए, ‘सदनमा होचोबाट अग्लो बनाउँदै लाने कुर्सीको व्यवस्था गर्ने रुलिङ तपाईंले गर्नुभएको थियो । त्यसबारे के हुँदैछ जानकारी पाउँ !’ सभामुखले प्रतिनिधिसभाको भवन व्यवस्थित गर्न कमिटी बन्दैछ, त्यसले सुझाव दिएपछि कार्यान्वयन हुने बताए । [Archive] That Parliament meeting made interesting by the glory of the chair

कुर्सी विवाद त्यत्तिमा रोकिएन, एमाले सांसद विरोध खतिवडाले समाधानको उपाय पनि सुझाए । उनले ठट््यौली शैलीमा भनेका थिए, ‘सदनमा होचा सांसदलाई अगाडि र अग्ला सांसदलाई पछाडि बस्ने गरी कुर्सीमा नाम टाँस्नुपर्छ । त्यसपछि त आफैं मिलिहल्छ नि !’ उनको कुरामा सभामुख पौडेलले थपे, ‘त्यो भए जेएन (झलनाथ खनाल) पनि पछाडि जान पर्लाजस्तो छ ।’ सभामुखको कुरामा एमाले सांसद केशव बडालले नियमापत्ति गर्दै भनेका थिए, ‘सांसद खतिवडाको उपायले सभामुखलाई समेत पछाडि पार्नेछ ।’ सभामुखले थपेका थिए, ‘मेरो सिट त अग्लो ठाउँमै छ ।’ 

खतिवडाले दिएको समाधानको उपाय चित्त नबुझेपछि एमाले सांसद राजेन्द्रप्रसाद पाण्डेले फेरि कुर्सी विवाद निकाल्दै प्रश्न गरे, ‘संविधान र नियमावलीमा पूर्वप्रधानमन्त्रीलाई यहाँनेर र यतापट्टि बस्ने भनेर नै उल्लेख गरिएको छ कि अहिलेलाई मात्रै यस्तो व्यवस्था गरिएको हो ?’ पाण्डेको भनाइप्रति इंगित गर्दै विरोध खतिवडाले नियमापत्ति गर्दै कसैलाई पूर्वप्रधानमन्त्री भनेको मन पर्दैन भन्दै व्यंग्य गरेका थिए । उनले भनेका थिए, ‘कुर्सीमा पनि पूर्वप्रधानमन्त्री भनेर उल्लेख गर्नु भएन । पूर्वप्रधानमन्त्रीको वर्तमान हुने इच्छामा ठेस पुर्‍याउनु भएन ।’

पूर्व भन्ने शब्दलाई संशोधन गर्ने प्रस्ताव गर्दै खतिवडाले भनेका थिए, ‘होचा सांसदलाई अगाडि र अग्ला सांसदलाई पछाडि लाने त ? तर त्यसो गर्दा पनि म जिन्दगीभरि पछाडी पर्ने रहेछु ।’ आफू सबैभन्दा अग्लो भएकाले मर्का पर्ने भनाइ उनको थियो । यो व्यवस्थाले सत्तापक्षका होचा सांसदको भने चान्स बढ्ने विचार उनको थियो । ‘किनकि, सत्ता पक्षका अगाडि मन्त्री बस्छन्,’ उनले भनेका थिए । 

संसद‍्का कर्मचारीलाई तक्मा !

एमाले सांसद कृष्णगोपाल श्रेष्ठले संसद‍् सचिवसहितका कर्मचारीलाई तक्माको व्यवस्था गर्न सभामुखसँग माग गरे । उनले आफूले बोलेका कुरा सभामुखलाई सुनिरहन मन लाग्ने र समय पनि दिइराख्न मन लाग्ने विषय उठाउने गरेको भन्दै संसदको कुर्सी खरिदमा भ्रष्टाचार भएको प्रसंग निकालेका थिए ।

‘क्यान्टिनमा समेत कमिसन खाइएको छ । कुर्सी किन्दा ठूलो घोटाला भएको छ । कमिसन खाएका छन्,’ उनले भनेका थिए । थुप्रै स्थानमा घोटाला भएको भन्दै सांसद श्रेष्ठले भ्रष्टाचार गरेबापत सचिव सूर्यकिरण गुरुङ लगायतका अन्य कर्मचारीलाई तक्माको व्यवस्था गर्न माग गरेका थिए । जवाफमा सभामुखले धेरै कुरा सम्झाएको भन्दै सांसद श्रेष्ठलाई धन्यवाद दिएका थिए । 

कसले छेक्यो मन्त्रीको बाटो ? 

एमाले सांसद हिमाञ्चल भट्टराईले लक्ष्मणसिंह खड्काले कराउने डरले मन्त्रीहरू संसदमा आउन छाडेको भन्दै व्यंग्य गरे । संसदमा मन्त्रीहरूको उपस्थिति नहुने प्रवृत्ति बढेपछि उनले यस्तो व्यंग्य गरेका हुन् । सांसद भट्टराईले भनेका थिए, ‘निकै दिनदेखि संसदबाहिर लक्ष्मणसिंह भाषण गर्छन् । कुनै पनि मन्त्री सदनभित्र छिर्न लागेको र बाहिर निस्कन लागेको देखेपछि उनी सार्वजनिक रूपमा व्यंग्य र गाली गर्न थाल्छन् । वरपर भीड जम्मा गर्ने खड्काले मन्त्रीलाई गाली गरेपछि हाँस्ने नै भए । मन्त्रीको मुख भने रातो हुन्छ । त्यही डरले गर्दा पनि मन्त्रीहरू सदन भवन नजिक आउन डराउन थालेका छन् ।’ 

आजभन्दा ३० वर्षअघि सिंहदरबारस्थित पुतली बगैंचाको संसद् भवनमा सांसदहरूले गरेको व्यंग्यात्मक र रोचक छलफललाई समेटेर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०८२ पुस १९ मा ‘प्रतिनिधिसभामा कुर्सी महिमा’ शीर्षकमा प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully