प्रधानमन्त्री शेरबहादुर देउवाको समयमा तत्कालीन परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी र भारतका विदेशमन्त्री प्रणव मुखर्जीबीच २०५२ माघ १५ मा भएको सम्झौताले टनकपुरलाई निकास दिएको थियो ।
What you should know
काठमाडौँ — सर्वोच्च अदालतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ मा भारतसँग गरेको टनकपुर सम्झौतालाई सन्धि नै भएको ठहर गरेको थियो । प्रधानमन्त्री कोइरालाले त समझदारी मात्र भएको बताएका थिए । ५० को दशकमा टनकपुरको विषय सडक र सदनमा लामो समय चर्कियो । खासगरी २०४६ को परिवर्तनपछि प्रमुख प्रतिपक्षी दल एमालेले सबैभन्दा बढी सडक र सदनमा उठाएको विषय टनकपुर सन्धि नै थियो ।
२०५१ मा भएको मध्यावधि निर्वाचनपछि एमाले प्रतिनिधिसभामा सवैभन्दा ठूलो दल बनेको थियो । उसले नौ महिना सरकार चलायो । तर टनकपुरको बारेमा संसदबाट कुनै निर्णय हुन सकेन । २०५२ भदौं २६ मा नेपाली कांग्रेस संसदीदय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सद्भावना पार्टीले समर्थन गरेका थिए । त्यतिबेला परराष्ट्र मन्त्री राप्रपाका प्रकाशचन्द्र लोहनी भएका थिए । अदालतले सन्धि नै भएको ठहर गरेको चार वर्षसम्म टनकपुरको विषय अनिर्णीत थियो ।
प्रधानमन्त्री देउवाको समयमा तत्कालीन परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी र भारतका विदेशमन्त्री प्रणव मुखर्जीबीच २०५२ माघ १५ मा भएको सम्झौताले टनकपुरलाई निकास दिएको थियो । त्यसलाई महाकाली सन्धिको प्रारूप मानिएको थियो । त्यतिबेलाको सम्झौतामा नेपाल–भारतबीच ‘शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर परियोजनासमेत महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि’ मा दुवै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका थिए । त्यसैलाई ‘महाकाली सन्धि’ को रूपमा बुझिने गरेको हो ।
हस्ताक्षरका लागि विदेशमन्त्री मुखर्जी नेपाल आएका थिए । गिरिजाप्रसादको समयमा भएको टनकपुर सन्धिलाई समेत समेटेर महाकाली सन्धिको प्रारूप तयार पारिएको थियो ।![[Archive] This is how the draft of the Mahakali Treaty was signed...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-10-2512026055334-1000x0.jpg)
‘महाकली नदी साझा पानी आधा–आधा’ भन्ने मान्यतालाई आत्मसात् गरेर उक्त सन्धिको प्रारूप तयार गरिएको थियो । महाकालीमा दुवै देशको समान हक हुने र नेपालले थप सुविधासमेत पाउने सर्तमा सन्धि हुन लागेको भन्दै दुवै मुलुकबीचको प्रारम्भिक सम्झौतालाई एमालेले पनि स्वागत गरेको थियो । एमालेको केन्द्रीय कमिटीको २५ औं बैठकले महाकालीमा नेपालको हक पहिलो पटक कायम भएको र आधारभूत रूपमा सीमा नदीको मान्यता दिएको भन्दै स्वागत प्रस्ताव पारित गरेको थियो ।
प्रधानमन्त्री कोइरालाले राष्ट्रघाती सम्झौता गरेको भन्दै एमालेले टनकपुर सन्धिलाई परिमार्जित गरेर संसदबाट दुईतिहाइ बहुमतले पारित गराउनुपर्ने माग गर्दै आएको पृष्ठभूमिमा महाकालीको सन्धिको प्रारूपलाई स्वागत गरेको हो । त्यतिबेला टनकपुरसमेतलाई समेटेर सन्धिलाई अन्तिम रूप दिने तयारी गरिएको थियो । त्यसलाई एमालेले आफ्नो ९ महिने सरकारका बेला भारतसँग सल्लाह गरेर तयार गरेको खाकालाई नै आधार मानेर दुई मुलुकका परराष्ट्रमन्त्रीबीच हस्ताक्षर भएको दाबी गरेको थियो ।
प्रधानमन्त्री देउवा माघको अन्तिम साता भारत जाने कार्यक्रम तय गरिएको थियो । उक्त सन्धिमा भारतका तत्कालीन प्रधानमन्त्री र देउवाले हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको थियो । उक्त सन्धिमा टनकपुर बाँधबाट नेपालले वर्षमा १ हजार क्विसेक र हिउँदा ३ सय क्विसेक पानी तथा विद्युत् गृहबाट वार्षिक ७ मेगावाट विद्युत् प्राप्त गर्ने उल्लेख गरिएको थियो ।
भारतले बनाएको उक्त बाँधका लागि नेपालले ५ सय ७७ मिटर जमिन उपलब्ध गराउने सन्धिमा उल्लेख थियो । यसअघिको सन्धिमा नेपालले १ सय ५० क्विसेक पानी र २ मेगावाट युनिट विद्युत् पाउने उल्लेख थियो । टनकपुर विवादको अन्त्य गर्ने उद्देश्यले सभामुख रामचन्द्र पौडेलेको संयोजकत्मा सर्वदलीय बैठकसमेत बसेर सहमति गरिएको थियो ।
मुखर्जीको नेतृत्वमा काठमाडौं आएको टोलीले सन्धिमा हस्ताक्षर गर्न सर्वदलीय सहमति खोजेको थियो । त्यसका लागि सभामुख पौलेलले पटक–पटक सर्वदलीय बैठक राखेर दलहरूबीच सहमति गराएका थिए । विवाद मिलाएर मात्र फर्कने प्रयास स्वरूप भारतबाट आएको विदेशमन्त्रीको टोली भ्रमण एक दिन लम्ब्याएर बसेको थियो । सर्वदलीय सहमतिपछि विदेशमन्त्री मुखर्जी, परराष्ट्रमन्त्री लोहनी र जलस्रोतमन्त्री पशुपतिशमशेर राणाबीच २०५२ माघ १५ को बिहान शीतलनिवासमा तीन घण्टा निर्णायक वार्ता भएको थियो । साँझ एमाले र राप्रपाका नेताहरूको समेत उपस्थितिमा सन्धिको प्रारूपमा हस्ताक्षर गरिएको थियो ।
टनकपुर मात्र नभई महाकाली नदीको एकीकृत रूपमा विकास गर्ने सन्धिमा उल्लेख गरिएको थियो । सन्धिमा नेपाल र भारतबीच समान सहभागिता हुने पनि समावेश गरिएको थियो । महाकालीमा कुनै पनि योजनाको विकास गरेर प्राप्त थप पानी वा बिजुली आधा/आधा बाँड्ने सन्धिमा उल्लेख गरिएको थियो । पञ्चेश्वर बहुउद्देश्यीय योजनाको कार्यान्वयन गर्दा पानीको लाभको वितरण समान रूपमा हुने प्रावधान सन्धिमा राखिएको थियो ।
सन्धिमा हस्ताक्षरपछि जलस्रोत मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित गरेर भविष्यमा जलस्रोतसम्बन्धी योजना कार्यान्वयन गर्ने आधार तयार भएको दाबी गरेको थियो । जलस्रोत मन्त्री राणाले टनकपुरसम्बन्धी विवादको अन्त्य भएकाले भविष्यमा विद्युत् उत्पादनमा निजी क्षेत्रको आकर्षण बढाएको बताएका थिए ।
विदेशमन्त्री मुखर्जीले आफ्नो भ्रमणका क्रममा नेपालका दलहरूबीच सर्वदलीय राजनीतिक सहमति भएकामा खुसी हुँदै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना ८ वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उक्त आयोजनाबाट ६ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सम्भावना रहेको जानकारी पनि उनले दिएका थिए । भारतले त्यतिबेला विद्युत् उत्पादन, लगानी तथा किनबेचको ढाँचाका विषयमा ‘अंब्रेला’ सम्झौता गर्ने प्रस्ताव पनि राखेको थियो । तर यो विषय प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा छलफल गर्न सक्ने मौखिक समझदारी भएको थियो ।
पञ्चेश्वरमा कसैले लगानी गरेमा त्यसबाट उत्पादित विद्युत् भारतको बजारमा कसरी बिक्री गर्ने भन्ने विषय अंब्रेला सम्झौतामा राख्ने तयारी गरिएको थियो । विदेशमन्त्रीको भ्रमणको अन्त्यमा प्रकाशित विज्ञप्ति अनुसार भारतले नेपाललाई लगाएको ५० प्रतिशत कच्च पदार्थ तथा श्रमको बन्देज हटाउने निर्णय भएको उल्लेख थियो । पर्यटन प्रवर्द्धन, आर्थिक सहयोग, पूर्व–पश्चिम मोटरेबल पुल निर्माण लगायतका विषयमा दुवै मुलुकबीच हस्ताक्षर भएको थियो ।
भारतका विदेशमन्त्री मुखर्जीको भ्रमण र टनकपुरको विवादसमेत समाधान हुनेगरी तयार गरिएको महाकाली सन्धिको प्रारूपमा भएको हस्ताक्षरलाई समेटेर पत्रकार नारायण वाग्लेले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५२ माघ १६ मा ‘टनकपुर समस्या समाधानः महाकालीको एकीकृत रूपमा विकास गर्न नेपाल–भारत सहमत’ शीर्षकमा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] This is how the draft of the Mahakali Treaty was signed...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/untitled-design-33-2512026055312-1000x0.jpg&w=1001&h=0)