नकाबधारीको समूहले २०५२ फागुन २ मा ‘माओवाद जिन्दावाद’ भन्दै रोल्पा, रुकुम, गोरखा र सिन्धुलीका प्रहरी चौकीमा तोडफोड गरे । रोल्पामा गोली हानाहान नै भयो । चौकी आक्रमण गर्नेहरूले ‘माओवाद जिन्दावाद’को नारा लगाएका थिए ।
What you should know
काठमाडौँ — संयुक्त जनमोर्चा (भट्टराई समूह) का कार्यकर्ताले पश्चिमी जिल्ला रोल्पा, रुकुममा गुरिल्ला तालिम सञ्चालन गरेको, विपक्षीलाई कुटपिट गरेको र हतियार संकलन गरेको घटना सार्वजनिक भइरहेको थियो । पहिलो पटक २०५२ असोजमा पश्चिमी जिल्लामा उल्लेखित घटनाको प्रमाण भेटिएको थियो । त्यही बेलादेखि नै दीर्घकालीन ‘जनयुद्ध’को तयारी गरेको अनुमान सुरक्षा निकायले गरेको थियो ।
प्रहरीको अनुमान सही हुँदै गएपछि रोल्पा, रुकुममा प्रहरीको विशेष टोलीले विशेष अभियान नै चलाएको थियो । तर सर्वसाधारणले ‘माओवादी जनयुद्ध’ भन्ने सुनेका थिएनन् । सतहमा जनमोर्चा नेपाल पार्टी मात्र देखिन्थ्यो ।
तर नकाबधारीको समूहले २०५२ फागुन २ मा ‘माओवाद जिन्दावाद’ भन्दै रोल्पा, रुकुम, गोरखा र सिन्धुलीका प्रहरी चौकीमा तोडफोड गरे । रोल्पामा गोली हानाहान नै भयो । चौकी आक्रमण गर्नेहरूले ‘माओवाद जिन्दावाद’को नारा लगाएका थिए ।
रोल्पाको सखी गाविसस्थित होलेरी प्रहरी चौकी लुट्न आएकाहरू र प्रहरीबीच राती डेढ घण्टासम्म गोली हानाहान भएको थियो । रोल्पाका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द खनालले प्रहरीले १० राउन्ड गोली प्रहार गरेको जानकारी दिएका थिए । आक्रमणकारीले प्रहरीको हतियार मागेका थिए । हतियार दिन्न भनेपछि गोली प्रहार गरिएको थियो ।
प्रहरीले भने चौकी भवनको प्वालबाट बन्दुकको नाल छिराएर फायर गरेका थिए । आक्रमणकारीले हानेको गोली भने चौकी भवनको भित्तामा लागेको थियो । नकाबधारीहरूले राष्ट्रिय वाणिज्य बैंकमा रहेको टेलिफोन लाइन पनि काटिदिएका थिए । चौकी नजिकै रहेको मन्दिर जलाइएको थियो । उनीहरूले चौकीमा रहेका कागजपत्र जलाएका थिए भने फ्यूजवायर र जिलेटिन लगेका थिए । उक्त चौकीमा ६ जना प्रहरी थिए । आक्रमणपछि नेपालगन्जबाट २० जना प्रहरी पठाइएको थियो । ![[Archive] That 'Maoism Long Live Maoism' that was made public for the general public to hear...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-ruk-2812026061347-1000x0.jpg)
त्यही रात रुकुमको आठविसकोट गाविसमा लगभग २ सय ५० जनाको समूहले प्रहरी चौकी र गाविस अध्यक्ष लोकेन्द्र बटालाको पसल लुटेका थिए । पसलको सामान नजिकैको खोलामा फ्याँकेको जानकारी रुकुमका तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद अर्यालले दिएका थिए । प्रहरी चौकी अध्यक्ष बटालाको घरमा भाडामा बसेको थियो । त्यहाँ पनि ‘माओवाद जिन्दावाद’को नारा लगाएको स्थानीयले बताएका थिए ।
सुरुमा हतियार मागेको र नदिएपछि चौकी तोडफोड गरेका थिए । सडक निर्माणका लागि राखिएको जिलेटिन पनि लगेका थिए । घटनास्थलमा थप प्रहरी पठाइएको थियो । घटनामा जाजरकोट भगवती गाविसको घ्यारगाउँवासी पनि संलग्न भएको जानकारी रुकुमका तत्कालीन प्रहरी उपरीक्षक पुष्करनाथ योगीले दिएका थिए ।
आठबिसकोटका अध्यक्ष बटालाले भने संयुक्त जनमोर्चा नेपालका कार्यकर्ताले लुटपाट गरेको बताएका थिए । उनले यसअघि पनि कांग्रेस कार्यकर्ताहरू नैनसिंह नेपाली, गणेश शाह, लालबहादुर केसीलाई हत्या गरेको बताएका थिए । उनीहरूको हत्यामा प्रशासनले केही नगरेका कारण आक्रमणकारीको मनोबल बढेको भनाइ उनको थियो ।
आक्रमणका क्रममा सिन्धुली जिल्लामा झण्डै तीन सय अज्ञात व्यक्तिहरूको हुलले सिन्धुलीगढी चौकी लुटपाट गरेका थिए । उनीहरूले तीन जना प्रहरीलाई बाँधेर छाडेका थिए भने कागजपत्र जलाएका थिए । उक्त चौकी जंगलमा थियो । त्यस्तै गोरखाको च्याङलीस्थित साना किसान विकास आयोजनाको कार्यालय जलाएका थिए । घटनामा संलग्न भएको आरोपमा गोरखा धुँवाकोटकी पूर्णकुमारी कँडेल, गोरखा क्याम्पसमा अध्ययनरत छात्रा सुमित्र गुरुङ र कौशिला गुरुङलाई पक्राउ गरिएको थियो ।
त्यतिबेला प्रहरी चौकी र प्रहरीमाथि हुने आक्रमण निकै संवेदनशील मानिन्थ्यो । त्यसैले यस्ता घटना राज्यका लागि एक प्रकारको नौलो थियो । माओवाद भन्ने शब्द सर्वसाधारणले सुनेका पनि थिएनन् । उल्लेखित घटनालाई आधार बनाएर पत्रकारहरू नेपालगन्जबाट राजेन्द्र ज्ञवाली, दाङबाट दधिराम सुवेदी र राष्ट्रिय समाचार समितिको समेत सहयोगमा तयार गरेको समाचार ‘रोल्पा, रुकुम र सिन्धुलीका प्रहरी चौकी तोडफोड’ शीर्षकमा २०५२ फागुन ३ मा कान्तिपुरमा प्रकाशित भएको थियो ।
‘माओवाद जिन्दावाद’ भन्दै पश्चिमी जिल्लाहरूमा सीमित घटना गोरखा र सिन्धुलीमा पनि देखिएपछि गुरिल्ला आन्दोलन जनमोर्चाले मात्र नेतृत्व नगरेको र यो योजनाबद्ध रहेको सुरक्षा अधिकारीहरूले बताउन थालेका थिए ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That 'Maoism Long Live Maoism' that was made public for the general public to hear...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/img20190213145946-2812026061218-1000x0.jpg&w=1001&h=0)