[अर्काइभ] संसदीय व्यवस्थामा यसरी सुरु भएको थियो अस्थिरताको बीजारोपण...

देउवा मन्त्रिपरिषद्का मन्त्रीहरू आफैंविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न तयार भएपछि राजनीतिक नैतिकताको प्रश्न पनि उठेको थियो । तर त्यतिबेला सत्ताको अगाडि राजनीतिक इमानदारी र नैतिकताको विषय गौण बनेको थियो ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

[Archive] This is how the seeds of instability began to be sown in the parliamentary system...

What you should know

काठमाडौँ — विसं २०५१ कात्तिकमा भएको मध्यावधि निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको एमालेले नौ महिना सरकार सञ्चालन गरेको थियो । २०४८ मा तीन सिटमा सीमित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यावधिमा २० जना सांसद जितेको थियो । सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमाले सरकारलाई कांग्रेस र राप्रपासहितका दलले अविश्वास प्रस्तावमार्फत ढालेका थिए ।

अधिकारीले आफ्नो सरकार ढाल्न खोजेपछि मध्यावधि निर्वाचनको सिफारिस गरेकामा सर्वोच्च अदालतले २०५२ भदौ १२ मा उल्ट्याइदिएको थियो । अधिकारीलाई अविश्वास प्रस्तावबाट हटाएपछि २०५२ भदौमा राप्रपाको समेत समर्थनमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । 

अस्पतालमा उपचार गराइरहेका तत्कालीन प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिने अवसरसमेत कांग्रेस र राप्रपाले नदिएको र राम्रो काम गर्दागर्दै सरकार ढालेको भन्दै त्यतिबेला एमाले निकै रुष्ट भएको थियो । हेलिकप्टर दुर्घटनामा परेका अधिकारीले प्रतिपक्षले संसदमा पेस गरेको अविश्वासको जवाफ दिन केही दिन कुर्न माग गरेका थिए ।

कांग्रेससहितका प्रतिपक्षी दलहरूले कुर्न नसक्ने जवाफ दिएपछि २०५२ भदौ २५ मा अधिकारीले काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालबाट संसदमा उठेको जवाफ टेलिभिजनमार्फत दिएका थिए । अनेक उपाय गर्दा पनि नसकेपछि अधिकारीले अविश्वास प्रस्तावको सामना गरेका थिए । 

मुख्यतः त्यतिबेला एमालेले आफूले जनमुखी कार्यक्रम ल्याएकाले प्रतिपक्षीहरू आफ्नो अस्तित्व सकिने डरले सरकारबाट हटाउन लागेको आरोप लगाएको थियो । अल्पमतको सरकार भएकाले बहुमतको प्रतिपक्षी दलहरूसँग उसले सामना गर्न सक्ने अवस्था थिएन । [Archive] This is how the seeds of instability began to be sown in the parliamentary system...

आफू सरकारबाट हट्नु परेको ‘इगो’ एमाले नेताहरूमा निकै झांगिएको थियो । यही पृष्ठभूमिमा देउवा प्रधानमन्त्री बनेदेखि नै एमालेले राप्रपासँग निकट रहेर प्रधानमन्त्री नै बनाउन सक्ने आश्वासन दिइरहेको थियो । एमालेसँग वार्ता गर्न केपी शर्मा ओली र राधाकृष्ण मैनाली रहेको ‘हाइकमाण्ड’ नै बनाइएको थियो । एमालेले राप्रपा नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखिसकेको थियो । चन्द सहमत भएका कारण एमालेले देउवाविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको थियो । उक्त अविश्वास प्रस्तावका विषयमा छलफल गर्न २०५२ चैत ७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन प्रारम्भ गरिएको थियो ।

प्रधानमन्त्रीको प्रस्तावले राप्रपामा चरम विवाद

आफ्नो पार्टीले प्रधानमन्त्री नै पाउने भएपछि एमालेको अविश्वास प्रस्तावमा सहमति जनाउनुपर्ने राप्रपाका एकाथरी सांसदहरूको भनाइ थियो । राप्रपा बैठकमा चन्दले आफूलाई प्रधानमन्त्रीको अफर एमालेबाट आएको जानकारी गराएका थिए । तर राप्रपा अध्यक्ष सूर्यबहादुर थापा त्यसमा सहमत थिएनन् । पूर्वपञ्चहरू २०४८ को निर्वाचनमा राप्रपा (थापा समूह) र राप्रपा (चन्द) समूहबाट निर्वाचन लडेका थिए । राप्रपाभित्र त्यतिबेला दुई पार्टी हुँदाको मनमुटाव पनि कायम थियो ।

पञ्चायतकालदेखि नै चन्द र थापा फरक धारमा थिए । २०४६ को जनआन्दोलनका बेला राजाले अन्तिम अस्त्रको रूपमा प्रधानमन्त्री नियुक्त गरेका चन्द बहुदलमा पनि सरकारको नेतृत्व गर्न पाउने अवसर गुमाउन चाहँदैनथे । चन्द पक्ष आन्दोलनबाट हटाएको पञ्चहरूले ६ वर्षपछि नै प्रधानमन्त्री नै हुने अवसर गुमाउन नहुने पक्षमा थियो । देउवा मन्त्रिमण्डलमा रहेका राप्रपाका मन्त्रीहरू नै आफैंविरुद्ध ल्याइएको अविश्वासको पक्षमा देखिएका थिए । केन्द्रीय सदस्यहरू नै थापा र चन्द समूहमा विभाजित भएका थिए । [Archive] This is how the seeds of instability began to be sown in the parliamentary system...

२०५२ चैत ७ मा बसेको केन्द्रीय समितिको बैठकमा थापा समूहमा २४ र चन्द समूहमा १७ जना केन्द्रीय सदस्य पक्ष–विपक्षमा उभिएका थिए । यसले राप्रपामा निकै ठूला संकट उत्पन्न गरेको थियो । देउवा मन्त्रिपरिषद्का मन्त्रीहरू आफैंविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न तयार भएपछि राजनीतिक नैतिकताको प्रश्न पनि उठेको थियो । तर त्यतिबेला सत्ताको अगाडि राजनीतिक इमानदारी र नैतिकताको विषय गौण बनेको थियो । प्रतिनिधिसभामा मुलुकको सबैभन्दा ठूलो दल एमालेले प्रधानमन्त्री नै दिने भएपछि पूर्वपञ्चहरूले मौका छोप्नु स्वाभाविक थियो । चन्द राप्रपा संसदीय दलको नेता थिए । 

राप्रपाको नक्सालमा बसेको चैत ७ को बैठक राती १२ बजेसम्म चलेको थियो । तर चन्दले अन्तिममा बैठक नै बहिष्कार गरेर बेलुकी ५ बजे नै निस्केका थिए । चन्द पक्षका १६ जना केन्द्रीय सदस्य भने अविश्वासको पक्षमा निर्णय हुनुपर्ने भन्दै राती १० बजे बैठकबाट निस्केका थिए । थापाको अध्यक्षतामा बसेको बैठकले राती १२ बजे २४ जना केन्द्रीय सदस्यको बहुमतमा अविश्वास प्रस्तावको विपक्षमा मत जाहेर गर्न सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको थियो ।

चन्दको पक्षमा लागेर बैठक बहिष्कार गरेका पार्टीका उपाध्यक्ष तथा कृषि मन्त्री पद्मसुन्दर लावतीले संसदमा गोप्य मतदान गर्न लबिङ गर्न माग गरेका थिए । उनले तत्काल केन्द्रीय समिति बैठक स्थगित गर्न माग गरेका थिए । बैठक जारी रहेपछि लावती बाहिर निस्केका थिए । पार्टीका महामन्त्री तथा परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले भने चन्द समूहका १७ जना केन्द्रीय सदस्यको अनुपस्थितिले केही नहुने भन्दै पार्टी अघि बढ्ने बताएका थिए । लावतीले भने संसदमा पार्टीको मत पक्ष र विपक्षमा जाने बताएका थिए । बैठकमा अध्यक्ष थापाले भनेका थिए, ‘मध्यावधि निर्वाचन हुने बेलामा हाम्रो के स्थिति हुन्छ ? त्यसबेला हामी सत्तामा रहन्छौं कि बाहिर ? सबै केन्द्रीय सदस्यले सोच्नुपर्छ । आत्तिएर निर्णय गर्न हुँदैन ।’ 

मन्त्रीको राजिनामा र पार्टी विभाजनको सम्भावना 

केन्द्रीय समिति बैठकमा संसदीय दलका नेता चन्दले एमालेले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निश्चित भएको लिखित प्रस्ताव पेस गरेका थिए । तर अध्यक्ष थापाले भने व्यक्ति विशेषभन्दा पनि संस्थागत कुरा हुने भन्दै देउवा नेतृत्वको सरकारलाई सुधार गरेर लैजान सकिने तर्क गरेका थिए । थापाले एमालेले व्यक्तिलाई अघि सारेर पार्टीमा विभाजन ल्याउन खोजेको संकेत गरेका थिए । पार्टीको केन्द्रीय समितिमा ४१ सदस्य रहेकामा ४० प्रतिशत अर्थात् १७ जना आफ्नो पक्षमा रहेको भन्दै चन्द समूहले पार्टी विभाजन हुन सक्ने संकेत गरेको थियो । संसदीय दलमा भने थापा पक्षमा ११ र चन्द पक्षमा ८ जना सांसद थिए । 

केन्द्रीय समिति बैठकमा सहभागी नेताहरूको पक्ष–विपक्षमा नारा लगाइएको थियो । सुरक्षा घेरामा रहेका कार्यकर्ताले नेताहरूलाई निर्णय गर्दा होस पुर्‍याउनु भन्दै चेतावनी दिएका थिए । सुरक्षा बिग्रने देखेर सरकारले पार्टी कार्यालयमा सय भन्दा बढी दंगा प्रहरी तैनाथ गरेको थियो । बैठकमा सहभागी हुन गएका महामन्त्री पशुपतिशमशेर राणा र रवीन्द्रनाथ शर्माको गाडीको झ्यालबाट हात घुसारेर केही कार्यकर्ताले अविश्वास प्रस्तावको पक्षमा निर्णय नगरे ठिक नहुने भन्दै हकारेका थिए ।

बैठक चलिरहेका बेला चन्द लन्चमा जान लागेको भन्दै बाहिरिएका थिए । उनलाई दंगा प्रहरीको सुरक्षा दिइएको थियो । ‘लन्च ब्रेक’ भन्दै बाहिरिएका चन्दसहितका नेताहरू दिनभर बेपत्ता भएका थिए । अध्यक्ष थापा पक्षका नेताहरूले भने पार्टी कार्यालयमै खाना खाएका थिए । चन्द र केही केन्द्रीय सदस्य बेलुकी ५ बजे मात्र फर्केका थिए । चन्द एकछिन बैठकमा बसेर निस्केका थिए । देउवाको मन्त्रिमण्डलमा रहेका मन्त्रीहरू कमल थापा, पद्मसुन्दर लावती, राज्यमन्त्री रामकृष्ण आचार्य तथा सहायक मन्त्रीहरू प्रेमबहादुर भण्डारी र राजीव पराजुलीले भने राजिनामा दिने बताइएको थियो । 

त्यही दिनबाट अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिसभाको विशेष अधिवेशन सञ्चालन भएको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता मनमोहन अधिकारीले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुको औचित्यमा बोलेका थिए । उनले तीन गुटको दीक्षणपन्थी गठबन्धन भएको वर्तमान देउवा सरकार हटाउन विशेष महाधिवेशन आह्वान गरेको बताएका थिए । उनले सरकार असफल भएको भन्दै अविश्वास प्रस्ताव उचित भएको जिकिर गरेका थिए ।

संसद‍्को पहिलो दिनको बैठकमा राप्रपाका धेरै नेता अनुपस्थित भएका थिए । एमालेका ८६ जना प्रतिनिधिसभा सदस्यले २०५२ फागुन २८ मा राजासमक्ष संविधानको धारा ५३ (३) अनुसार अधिवेशनका लागि समावेदन चढाएको थिए । सोही अनुसार बैठक बसेको थियो । सभामुख रामचन्द्र पौडेलले अविश्वास प्रस्तावमाथिको छलफल २०५२ चैत ९, १० र ११ लाई तोकेका थिए । २०४६ को परिवर्तनपछि ६ वर्षमा तीन वटा सरकार बनेको थियो ।

सरकार ढाल्ने उद्देश्यले दर्ता गरिएको अविश्वास प्रस्ताव, सत्तारुढ राप्रपाभित्रको द्वन्द्व, संसदको विशेष र राजनीतिमा देखिएको अस्वाभाविक घटनालाई समेटेर पत्रकार नारायण वाग्लेले फोटो पत्रकार केदार ओझासमेतको सहयोगमा तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘राप्रपा दुई चिरामाः पार्टीद्वारा सरकार टिकाउने निर्णय, चन्द पक्षद्वारा बैठक बहिष्कार’ शीर्षकमा २०५२ चैत ८ मा छापेको थियो । सोही दिनको प्रतिनिधिसभाको विशेष अधिवेशनको समाचार पनि कान्तिपुरले छापेको थियो ।

संसदीय व्यवस्थामा राजनीतिक विकृति सुरु भएको यही घटनालाई लिने गरिएको छ । सिंहदरबारमा सत्ताको खिचलो चलिरहेका बेला माओवादीले भने ‘दीर्घकालीन जनयुद्ध’ भन्दै सशस्त्र आन्दोलन चर्काइरहेका थिए । उनीहरूले संसदीय व्यवस्थाको विकृतिका बारेमा बोल्ने अवसर पाएका थिए । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully