[अर्काइभ] रोल्पामा भएको ‘गुरिल्ला युद्ध’ को त्यो तयारी...

'जिरो जिरो' भनेपछि भेला हुने र 'जिरो जिरो वान' भनेपछि आक्रमण गर्ने रणनीति बनाएकाले उनीहरूले गुरिल्ला युद्धको तयारी गरेको अनुमान सरकारी सुरक्षा अधिकारीले गरेका थिए ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

[Archive] The preparations for the 'guerrilla war' in Rolpa...

What you should know

काठमाडौँ — रोल्पामा संयुक्त जनमोर्चा नेपाल (बाबुराम भट्टराई समूह) ले २०५० देखि नै विपक्षीमाथि बल प्रयोग गरेको घटना सार्वजनिक भइरहेको थियो । २०५२ मंसिरसम्ममा जनमोर्चाको आक्रमणका कारण तीन वर्षमा ९ जनाको ज्यान गएको भनाइ स्थानीयको थियो । विशेषतः नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति जनमोर्चा अनुदार देखिएको थियो ।

स्थानीयले जनमोर्चाले प्रारम्भिक चरणको गुरिल्ला युद्ध चलाउन खोजेको बताउने गरेका थिए । २०५१ असोजदेखि नै जनमोर्चाको गतिविधि हिंसात्मक देखिएको भनाइ स्थानीयको थियो । सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै त्यस्ता गाउँहरूमा प्रहरी उपरीक्षक चूडाबहादुर श्रेष्ठको नेतृत्वमा विशेष प्रहरी कारबाही अभियान नै चलाइएको थियो । 

कारबाहीका क्रममा ३ सय २८ जना पक्राउ परेकामा अन्यलाई सोधपुछ गरेर छाडिएको थियो भने १ सय ७ जना हिरासतमा थिए । जनमोर्चाबाट निर्वाचित उवा गाविस अध्यक्ष देउसिंह रोका नै थुनामा थिए । पक्राउ परेका र हिरासतमा रहेकाहरूको संख्याले पनि त्यहाँको अवस्था सामान्य छैन भन्ने बुझ्न सकिन्थ्यो । 

प्रहरी हिरासतमा २० जना महिला थिए । महिलाहरूले आफूले केही नगरेको र प्रहरीले अनावश्यक रूपमा कुटपिट गरेको बताउँथे । तर प्रहरी भने जनमोर्चाले महिला प्रयोग गरेर गाउँमा प्रहरी छिर्न नदिएको र घेरेर आक्रमण हुन थालेको बताउने गर्थे । प्रहरीले जंगल र घरबाट ४७ थान बन्दुक बरामद गरेको थियो । 

स्थानीयले भने जनमोर्चाले ग्रामीण वर्गसंघर्ष र जनयुद्धको तयारी थालेको बताउने गर्थे । उनीहरूले रोल्पाका मान्छे सिधा भएकाले जनमोर्चाले डर, त्रास देखाएर आफ्नो पक्षमा लिने गरेको बताउने गर्थे । [Archive] The preparations for the 'guerrilla war' in Rolpa...

जनमोर्चाको आक्रमणबाट घाइते भएका साविक उवा गाविसका बमबहादुर पुनले जनमोर्चाका कार्यकर्ताले आफूलाई महिलाको पेटीकोट लगाएर बेइज्जत गरेको बताएका थिए । ‘उनीहरूले मलाई जनमोर्चा समर्थक हुन दबाब दिए,’ उनले भनेका थिए, ‘जंगलमा हतियार भएकाले मारिन सक्छौ भन्दै पिटे । घर जान नसकी सुलिचौरमा बसेका छु ।’ 

जनमोर्चाका कार्यकर्ताहरू सांस्कृतिक कार्यक्रम गर्ने बहानामा गाउँमा छिरेर कुटपिट गरेको गुनासो धेरैको थियो । गाउँका शिक्षित, पढेलेखेका र धनीवर्गलाई पहिले जनमोर्चा बनाउने कोसिस गर्ने र नबनेमा कुटपिट गरेर गाउँबाटै भाग्न विवश बनाउने गरेको गुनासो धेरै सुनिन्थ्यो । 'जिरो जिरो' भनेपछि भेला हुने र 'जिरो जिरो वान' भनेपछि आक्रमण गर्ने रणनीति बनाएकाले उनीहरूले गुरिल्ला युद्धको तयारी गरेको अनुमान सरकारी सुरक्षा अधिकारीले गरेका थिए । 

स्थानीय जनमोर्चाले अर्को गाउँबाट अपरिचित मान्छे ल्याएर कुटपिट गराउने गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो । त्यस्तो कुटपिट गराउनुपर्दा अर्को गाउँका मान्छेलाई सांकेतिक भाषाको प्रयोग गर्थे । जनमोर्चाले अभियान चलाउन प्रत्येक घरबाट आलु र मकै चन्दा लिने गरेको पनि स्थानीयको भनाइ थियो । उवा गाविसले आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रमको रकम सांस्कृतिक कार्यक्रममा खर्च गरेको भनाइ स्थानीयको थियो । 

जनमोर्चाले रोल्पाको जलजला र रुकुमको सिस्ने हिमाली क्षेत्र जोड्ने ‘सिज’ अभियान चलाएका थियो । कोटगाउँका ९ कक्षामा अध्ययनरत हेमन्तकुमार घर्ती मगर र जनमोर्चाका कार्यकर्ता मनध्वज कार्कीका अनुसार सिज अभियानलाई हिमाली भेगका शोषित पीडित जनताको मुक्तिका लागि सञ्चालित कार्यक्रम हो । सरकारका प्रतिनिधि प्रहरी उपरीक्षक श्रेष्ठले सिज अभियान गुरिल्ला अभियानको प्रारम्भिक चरण भएको बताएका थिए । उनका अनुसार जंगलमा प्रहरीले हतियार र खाद्यान्न फेला पारेको थियो । त्यसैले गुरिल्ला युद्धको थालनी गरेको अनुमान गरिएको थियो । प्रहरी पुग्यो भने सांकेतिक भाषामा सूचना दिने गरेको र गुफा र जंगलहरूमा तालिम दिने गरेको उपरीक्षक श्रेष्ठले जनाएका थिए । 

रोल्पाका एमाले जिल्ला सचिव टीकाराम खड्काले भने सरकारले कम्युनिस्ट मास्ने अभियान चलाएको बताएका थिए । उनले राजनीतिक कार्यकर्तालाई प्रतिशोधको आधारमा मुद्दा चलाउने गरेको बताएका थिए । नेपाली कांग्रेसका जिल्ला उपसभापति माधव आचार्य गाउँमा प्रहरी चौकीहरू थप गरेर शान्ति सुरक्षा कायम गर्नुपर्ने बताएका थिए । उनले आवश्यकाता आधारमा प्रहरी चौकी स्थापना गर्न माग गरेका थिए । 

 राष्ट्रिय पञ्चायतकी पूर्वसदस्य बमकुमारी बुढाका अनुसार रोल्पा र रुकुममा २०३८ देखि नै कम्युनिस्टहरूले थबाङ गाविसमा आतंक मच्चाएको अनुभव सुनाएकी थिइन् । त्यतिबेला पनि धेरै प्रहरी तैनाथ गरिएको थियो । २०३८ मा पनि कम्युनिस्टहरूले निर्वाचन बहिष्कार गरेको घटना उनले सुनाएकी थिइन् । बहुदलीय व्यवस्था आएपछि उनीहरूले विपक्षीमाथि दमन गर्ने नीति लिएको भनाइ बुढाको थियो ।

जनमोर्चाले रोल्पा र रुकुममा प्रहरी देखेपछि भाग्ने गाउँलेहरूलाई प्रयोग गरेर विपक्षीमाथि प्रहार गरेको भनाइ सरकारी सुरक्षा अधिकारीहरूको थियो । प्रहरी उपरीक्षक श्रेष्ठले रोल्पाका प्रत्येक प्रहरी परिवारको एक जना सदस्य प्रहरीमा भर्ना गर्ने, महिलालाई सीपमूलक तालिम दिने, रोजगारमूलक उद्योगहरू गाउँमा लैजानेलगायतका दीर्घकालीन र अल्पकालीन कार्यक्रम लागू गर्न सरकारलाई सुझाव दिएको बताएका थिए । 

 काठमाडौंमा भने रोल्पामा भएका यस्ता घटनाका विषयलाई संसदमा प्रवेश गराइएको थियो । एमाले सांसद तथा प्रमुख सचेतक देवीप्रसाद ओझाले २०५२ मंसिर १५ को संसदमा बोल्दै सांसदहरूको एउटा टोली घटनास्थल पठाउनुपर्ने माग गरेका थिए । गृहमन्त्रीका तर्फबाट निर्माण तथा यातायात मन्त्री विजयकुमार गच्छदारले रोल्पामा भूमिगत रूपमा रहेर आपराधिक गतिविधि गर्नेहरूलाई कारबाही गरेको जानकारी दिएका थिए । उनले सांसदहरूको टोली पठाएर यथार्थ कुराको जानकारी लिनुपर्ने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताएका थिए ।

सिज अभियानका नाममा जनमोर्चाले विपक्षीमाथि गरेको आक्रमण, गुरिल्ला युद्धको तयारी, रोल्पा र रुकुममा कम्युनिस्ट आन्दोलनको पृष्ठभूमि र सरकारले शान्ति सुरक्षाको नाममा चलाएको कारबाहीलगायतका विषय समेटेर पत्रकार हरिबहादुर थापाले फिल्ड रिपोर्टिङका आधारमा रोल्पाको थवाङ डेटलाइनमा तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५२ मंसिर १६ मा ‘प्रहरीको सक्रियतामा रोल्पाको तनाव शिथिल’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सोही विषयमा सरकारले काठमाडौंबाट सांसदहरूको टोली घटनास्थल पठाउने तयारीको गरेको सन्दर्भलाई पनि ‘छानबिन गर्न निरीक्षण टोली गठन गरिने’ शीर्षकमा समाचार प्रकाशित गरिएको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully