[अर्काइभ] तीन दशकअघिको शून्य समयमा जे देखियो...

संसद् अवरुद्ध र बहिष्कार गर्ने क्रममा २०५२ कात्तिक २० गतेको शून्य समय निकै रोचक र घोचक बनेको थियो ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

[Archive] What was seen in the zero hour three decades ago...

What you should know

काठमाडौँ — शून्य समयमा संसदमा सांसदहरूबीच एकआपसमा नागरिकको जल्दोबल्दो समस्या उठाउने मात्र होइन, दलहरूबीच राजनीतिक आरोप–प्रत्यारोप र छेडखानी पनि हुने गर्छ । आजभन्दा ३० वर्षअघि प्रतिनिधिसभामा सांसदहरूबीचको व्यंग्य र नियमापत्ति निकै रोचक र घोचक थियो ।

२०५२ भदौमा अल्पमतको सरकार ढलेपछि एमाले संसद‍्मा प्रमुख प्रतिपक्षी दलका रूपमा क्रियाशील थियो । मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकारले सिफारिस गरेको मध्यावधि निर्वाचन उल्ट्याएकामा एमाले सर्वोच्च अदालत र न्यायाधीशप्रति निकै आक्रोशित थियो । 

सिफारिस रद्द गर्ने प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय असोजमा निवृत्त भएका थिए । मध्यावधिको सिफारिस विफल बनाउने टिमका न्यायाधीश सुरेन्द्रप्रसाद सिंहविरुद्ध एमालेले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो । मनमोहन सरकारलाई अविश्वास प्रस्तावबाट हटाएपछि कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सद्भावना पार्टीको समर्थनमा प्रधानमन्त्री भएका थिए । 

सुरुमा त एमालेले सिंहलाई प्रधानन्यायाधीश बन्नबाटै रोक्ने रणनीति लिएको थियो । विश्वनाथपछि सिंह नै प्रधानन्यायाधीश हुने रोलक्रममा थिए । महाअभियोगलाई सभामुख रामचन्द्र पौडेलले छलफलमा लगेको भए सिंहलाई प्रधानन्यायाधीश नियुक्ति गर्न मिल्दैनथ्यो । त्यसैले सभामुख पौडेलले २०५२ असोजमा २ मा छलफल गर्न उपयुक्त नहुने भन्दै महाअभियोग प्रस्ताव अस्विकृत गरेका थिए । महाअभियोग अस्विकृत भएपछि सिंह प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । 

सिंह प्रधानन्यायाधीश नियुक्त भएपछि पनि एमालेका सांसदहरूले भने सभामुखले सांसदको अधिकार खोसेर दर्ता गरेको प्रस्ताव अस्विकार गरेको भन्दै संसदमा बेलाबेलामा आवाज उठाइरहेका थियो । उनीहरूले उक्त महाअभियोग प्रस्ताव संसदमा छलफल गर्नुपर्ने माग गरिरहेका थिए । त्यस क्रममा एमाले सांसदहरूले महाअभियोग प्रस्ताव अघि बढाउन माग गर्दै २०५२ कात्तिक २० को संसद् बहिष्कार गरेका थिए । [Archive] What was seen in the zero hour three decades ago...

संसद् अवरुद्ध र बहिष्कार गर्ने क्रममा संसद‍्मा २०५२ कात्तिक २० गतेको शून्य समय निकै रोचक र घोचक बनेको थियो । शून्य समय सुरु भएलगत्तै एमाले सांसद धनहर्क राईले देउवा नेतृत्वको सरकारले आर्थिक अनुशासनको कुरा गरेर नथाक्ने तर सरकारी गाडी आफ्ना कार्यकर्तालाई ओसार्ने काममा प्रयोग गरेको आरोप लगाएका थिए । उनको उक्त आरोपको खण्डन गर्दै कांग्रेसका सांसद शिवराज जोशीले जवाफ दिए, ‘प्रतिपक्ष (एमाले)ले अहिले पनि ४२ वटा गाडी प्रयोग गरिरहेको छ । हामी हिँडिरहेका छौं ।’ 

कांग्रेसका सांसद भक्तबहादुर बलायरले सरकार आर्थिक अनुशासन कायम गर्न प्रतिबद्ध रहेको बताइरहँदा सभामुख पौडेलले ‘त्यसको स्पष्टीकरणमा तपाईंले होइन, सरकारले दिन्छ’ भनेपछि संसदमा हाँसोको फोहरा चलेको थियो । संसद् बैठक चलिरहेका बेला मन्त्रीहरू एक जना मात्र देखेपछि राप्रपाका सांसद मिर्जा दिलसाद बेगले भनेका थिए, 'अगाडि सिटहरू खाली छन् । एक जना मन्त्री बसेका रहेछन् । हामीले विभिन्न समस्याका बारेमा बोलेका कुरा एउटै मन्त्रीले कहाँ लान्छन् ? अब पनि यस्तै हुने हो भने शून्य समयमा म बोल्ने छैन ।’ एमाले सांसद कृष्णगोपाल श्रेष्ठले मिर्जालाई सम्झाउँदै भनेका थिए, ‘एक जना मन्त्री पनि खाली राप्रपाका मात्र रहेछन् ।’ 

०००

कृषिमन्त्री पद्मसुन्दर लावती आफ्नो मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिन संसदको रोस्टममा उभिएका थिए । एमाले सांददहरूले महाअभियोगको कुरा उठाएर बैठक चल्न दिएनन् । मन्त्री लावती उभिई नै रहेका थिए । एमाले प्रमुख सचेतक देवीप्रसाद ओझाले बोल्दै गरेका थिए ।

मन्त्री उभिएकाले सभामुख पौडेलले ओझालाई थोरै समय दिएका थिए । तर मन्त्री लामो समय उभिएको देखेर ओझाले भनेका थिए, ‘हाम्रा कृषिमन्त्री ओजनदार हुनुहुन्छ । मैले एक घन्टाको समय बोले पनि उहाँ उभिरहन सक्नुहन्छ ।’

एमाले सांसद मीठाराम शर्मा बजगाईंले भने आफ्नो पार्टीको सांसद बोल्ने बेलामा ठिक हो, चाहियो, हो, होइन जस्ता शब्द उच्चारण गर्दै ठूलो आवाज निकाल्ने गरेका थिए । उनले यस्तो आचरण मनमोहन सरकारविरुद्ध विशेष अधिवेशनका बेला प्रस्ताव गरिएको अविश्वास प्रस्तावका बेलादेखि सांसद शर्माले विशेष स्वर निकाल्ने गरेका थिए । उनी सांसदहरूको ध्यान आफूतिर खिच्न खप्पिस थिए । 

०००

कृषिमन्त्री लावतीले प्रतिनिधिसभा हलको विशिष्ट कक्षमा आफ्ना विशिष्ट केही कर्मचारीसँग विशेष बैठक बसेका थिए । बैठकमा कर्मचारीसँग मन्त्री लावतीले कानेखुसी गरेको देखिन्थ्यो ।[Archive] What was seen in the zero hour three decades ago...

कर्मचारी भने राताराता अनुहार पारिरहेका थिए । उनले प्रतिनिधिसभामा नै मिटिङ चलाएपछि मन्त्री कति व्यस्त भन्ने खासखुस कुराकानी भएको थियो । विशेष समयमा कांग्रेस सांसद जयप्रकाशप्रसाद गुप्ताले संयुक्त सरकारले काम गर्न नसकेको आरोप लगाएका थिए । सानो कुरामा पनि संयुक्त सरकारबीच सहमति हुन नसकेको भनाइ उनको थियो ।

एमाले सांसद गुरु बरालले विराटनगर औद्योगिक सहर मृत सहरमा परिणत हुन लागेको बताएका थिए । नेमकिपाका नारायणमान बिजुक्छेले विभिन्न समयमा खोसिएका राजनीतिक योद्धाका सम्पत्ति फिर्ता गर्न माग गरेका थिए । 

०००

बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल नभएको भन्दै एमाले सांसदहरू विरोध जनाइरहेका थिए । लामो समयसम्म पनि महाअभियोगको विषय टुंगोमा पुग्न नसकेको भन्दै सभामुख पौडेलले अग्रसरता लिएका थिए । तर एमाले सांसदहरूले सभामुखले संविधान र कानुन मिचेको आरोप लगाएका थिए ।  सांसद ओझाले बैठक बहिष्कारको घोषणा गरेपछि सबै सांसद बैठकबाट बाहिरिएका थिए । प्रतिपक्षको बेन्चमा मजदुर किसान पार्टीका र नेकपा मसालका सांसद मात्र थिए ।

संसद‍्मा देखेको र सुनेको रोचक प्रसंग, एमालेले लगाउन खोजेको महाअभियोग, शून्य समयमा उठेका प्रश्न र सरकारी अडानको विषयलाई समेटेर तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘शून्य समयमा आरोप प्रत्यारोप, महाअभियोग विवादले बैठक बहिष्कार’ शीर्षकमा २०५२ कात्तिक २१ मा प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully