रामशरण महतले ३० वर्षअघि ल्याएको त्यो बजेट...

सिंहदरबारस्थित पुतली बगैंचाको संसद् भवनमा आयोजित संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले कृषि, यातायात, जलविद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रलाई प्राथमिकता दिएर बजेट प्रस्तुत गरेका थिए ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

That budget brought by Ram Sharan Mahat 30 years ago...

What you should know

काठमाडौँ — २०४६ सालको परिवर्तनपछिको निर्वाचित सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले डा. रामशरण महतलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका थिए । नुवाकोटबाट संसदीय निर्वाचनमा पराजित भएका महतलाई योजना आयोगको उपाध्यक्ष बनाएकामा कोइरालासँग सर्वोच्च नेता गणेशमान सिंह निकै रिसाएका थिए ।

२०४८ मा अर्थमन्त्री महेश आचार्यलाई बनाइएको थियो । योजना आयोगका उपाध्यक्ष महत र मन्त्री आचार्यलाई अहिले पनि खुला र उदार अर्थतन्त्रका हिमायतीका रूपमा चिनिन्छ । 

पटक–पटक गरी २०७२ सालसम्म पाँच पटक अर्थमन्त्री भएका महतले ल्याएको उदारीकरणको नीतिका कारण निजी क्षेत्रको लगानीमा अहिले सञ्चालन भइरहेको कतिपय व्यवसायको सफलताको उदाहरण दिने गरिन्छ । मुलुकलाई बजारमुखी अर्थतन्त्र र आर्थिक उदारीकरणको बाटोमा डोर्‍याउने जग महतले नै राखेको भनाइ अहिले पनि अर्थविद् बताउने गर्छन् । यसमा महत र आचार्यको नाम जोडिने गरेको छ । 

निजीकरणको नाममा उद्योगधन्दा कौडीको भाउमा बेचेको भन्दै उनीहरू दुवैको आलोचना गर्नेको जमात पनि ठूलै छ । खासगरी बाँसबारी छालाजुत्ता कारखाना, हरिसिद्धि इँटा टायल, भृकुटी कागज कारखानालगायतका सरकारी उद्योग र कारखाना निजीकरणका कारण विस्थापित भएको एकाथरीको तर्क छ ।

महत भने व्यापार/व्यवसाय निजी क्षेत्रले गर्नुपर्ने मान्यता राख्थे । उनीहरूको सिद्धान्तले २०४६ को परिवर्तनपछि साढे तीन दशकसम्म निरन्तरता भने पाइरह्यो । उनीहरू व्यापार सरकारले गर्ने होइन भन्ने मान्यतामा अडिग थिए । ऊर्जा, बैंक, हवाई यातायात, अस्पताल, कलेज, स्कुल, होटललगायतका क्षेत्रमा निजी लगानी भित्र्याउने महतको नीतिलाई अन्य राजनीतिक दलले अस्विकार गर्न सकेका छैनन् । महत भन्ने गर्थे, ‘सरकारले उद्योगधन्दा खोल्ने होइन, वातावरण दिने हो ।’ That budget brought by Ram Sharan Mahat 30 years ago...

२०५१ को मध्यावधि निर्वाचनमा नुवाकोटबाट पहिलो पटक सांसद जितेका थिए महतले । मध्यावधि निर्वाचनपछि बनेको अल्पमतको एमाले सरकार ढलेपछि महतले २०५२ भदौमा अर्थमन्त्री हुने अवसर पाएका थिए । मर्यादाक्रममा उनी प्रधानमन्त्रीपछि १२ औं नम्बरका मन्त्री थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित शेरबहादुर देउवा प्रधानमन्त्री रहेको संयुक्त सरकारले २०५२ असोज २९ मा पहिलो बजेट पेस गरेको थियो । महतले अर्थमन्त्रीको हैसियतमा पहिलो पटक आर्थिक वर्ष २०५२/०५३ को बजेट प्रस्तुत गरेका थिए ।

कुल ५१ अर्ब ६४ करोड ७८ लाखको बजेट प्रस्तुत गरेका महतले निजी क्षेत्रको संलग्नता बढाइने नीति बनाएका थिए । उनले बजेट वक्तव्यका क्रममा भनेका थिए, ‘उदारीकरणलाई आर्थिक क्षेत्र सुधारको प्रमुख रणनीतिका रूपमा अगाडि बढाउने र उदारीकरणबाट प्राप्त उपलब्धिलाई विपन्न र निमुखा समुदाय तथा ग्रामीण क्षेत्रमा प्रवाहित गर्दै विकास गर्ने नीति लिइनेछ ।’ उनले आर्थिक स्थायित्वको वातावरणमा मात्र उदारीकरणको नीति प्रभावकारी हुने बताएका थिए । 

अर्थशास्त्रीहरूले त्यतिबेला महतले ल्याएको बजेटलाई कनिका कि लड्डु भन्ने प्रश्न गरेका थिए । महतले एमालेले बजेटलाई कनिका जसरी छरेको भन्दै आलोचना गर्दै आएकामा उनले बनाएको बजेट पनि छरिएको भन्दै यस्तो आलोचना भएको थियो । एमालेले वृद्धभत्ताको व्यवस्था गर्दा महतले यो सुविधा मुलुकले लामो समय धान्न नसक्ने प्रतिक्रिया दिएका थिए । That budget brought by Ram Sharan Mahat 30 years ago...

उनले बजेटमार्फत सम्पत्ति र चुंगी कर खारेज गरेका थिए भने गाउँको अधिकार गाउँमै, वृद्ध, विधवा र अशक्त भत्ता घरदैलोमा जस्ता नारा अघि सारेका थिए । उनले साधारण खर्चभन्दा विकास बजेटको आकार ठूलो पारेका थिए । उनले साधारण खर्च २२ अर्ब ८२ करोड १५ लाख १९ हजार प्रस्ताव गरेका थिए । विकास खर्च २८ अर्ब ८२ करोड ६२ लाख ८६ हजार प्रस्ताव गरेका थिए । 

महतले अघिल्लो सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको बजेटको आकार बढाएका थिए । भरतमोहनले २०५२ असार २७ मा प्रस्तुत गरेको बजेटभन्दा महतले १ अर्ब २४ करोड ६७ लाख वृद्धि गरेर आयव्यय अनुमान प्रस्तुत गरेका थिए । सिंहदरबारस्थित पुतली बगैंचाको संसद् भवनमा आयोजित संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले कृषि, यातायात, जलविद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रलाई प्राथमिकता दिएर बजेट प्रस्तुत गरेका थिए । सबैभन्दा धेरै यातायातमा १६.९९ प्रतिशत विनियोजन गरिएको थियो । दोस्रो विद्युतमा १५.१२ र स्थानीय विकासका लागि १३.३० प्रतिशत बजेट विनियोजन गरिएको थियो । 

बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय कारोबार केन्द्रका रूपमा विकास गर्ने, निजी क्षेत्रत्रबाट सञ्चालन हुने विद्यालय, महाविद्यालयलाई कम्पनी कानुनअनुसार सञ्चालन गर्न दिने, विकासका लागि प्रतिनिधिसभा सदस्यलाई ४ लाख र राष्ट्रियसभाका सांसदलाई २ लाख ५० हजार विकासका लागि विनियोजन गर्ने, ६० वर्ष उमेर नाघेका असहाय विधवालाई मासिक १ सय दिने, वृद्ध, विधवा र अशक्त भत्ता घरदैलोमा पुर्‍याउने, निजी क्षेत्रका विमानलाई देशबाहिर पनि उडान गर्न पाउने व्यवस्था गर्ने, पशुपति क्षेत्रलाई प्रदूषणमुक्त बनाउन गौरीघाटदेखि तीलगंगासम्म तीन सय मिटर लामो टनेल र अलग्गै ढल निर्माण गर्ने, राजस्व बोर्ड स्थापना गर्ने, मालपोत रकम साविक गाविस र नगरपालिकामा बुझाउने, पिछडिएका जातिको उत्थानका लागि जनजाति प्रतिष्ठान स्थापना गर्ने, रासायनिक मलको आयातमा निजी क्षेत्रलाई प्रतिस्पर्धा गराउनेलगायतका नीति अघि सारिएको थियो । 

उक्त बजेटलाई प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो पार्टीलाई कनिका छरेको आरोप लगाउने महतले ल्याएको बजेटले आफूलाई जितेको व्यंग्य गरेको थियो । आर्थिक उदारीकरणका अगुवाका रूपमा चिनिएका महतले पहिलो पटक मन्त्री भएका बेला बनाएको आव २०५२/०५३ को वार्षिक बजेट, बजेटमा गरिएका प्रस्ताव, बजेट कार्यान्वयनबाट प्राप्त हुन सक्ने अपलब्धिका विषयमा केन्द्रित भएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५२ असोज ३० मा ‘अर्थमन्त्रीद्वारा ५१ अर्ब ६४ करोड ७८ लाख रुपियाँ बजेट प्रस्तुत’ शीर्षकमा प्रकाशित गरेको थियो । कान्तिपुरले त्यसै दिन ‘बजेटका विशेषताहरू’ शीर्षकमा पनि समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully