[अर्काइभ] खुमबहादुरको कठालो समातेर संसद‍्भित्रै लछारपछार पारेपछि...

सभामुख बाहिर निस्केपछि उनलाई लखेट्दै गएका सांसदहरू सिटमा बसिरहेका गृहमन्त्री नजिकै गएका थिए । एमाले सांसदले गृहमन्त्री खड्काको कठालो समातेर लतारे ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

[Archive] After Khum Bahadur was dragged around inside the parliament by his own hands...

What you should know

काठमाडौँ — ‘तत्कालीन गृहमन्त्री खुमबहादुर खड्कालाई प्रतिनिधिसभामा कठालो समातेर लछारपछार पारियो’ भन्दा सहजै पत्याउन नसकिएला । तर, २०५२ असोज १० मा खड्काको कठालो समातेर  लछारपछार पारेको प्रतिनिधिसभा बैठकको दृश्यलाई कान्तिपर दैनिकले समाचारका रूपमा सार्वजनिक गरेको थियो ।

झण्डै तीन दशकअघिको प्रतिनिधिसभामा सांसदहरूले देखाएको अस्वाभाविक दृश्य नेपालको संसदीय व्यवस्थामा सम्भवतः पहिलो थियो । त्यसपछिका संसद् बैठकमा यस्ता दृश्य पटक–पटक देखिएका छन् । तर, त्यतिबेला भने सांसदहरूको संलग्नतामा भएको उद्दण्ड व्ययहार सर्वसाधारणका लागि भने नौलो थियो । 

मुडभेठको सुरुवात 

प्रधानमन्त्री मनमोहन अधिकारीको सिफारिसमा घोषणा गरिएको संसद् विघटन र मध्यावधि निर्वाचनलाई सर्वोच्च अदालतले २०५२ भदौ १२ मा असंवैधानिक ठहर गरेकामा एमालेले विरोध जनाउँदै आएको थियो । त्यही असन्तुष्टिको उपजका रुपमा एमालेले प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय र न्यायाधीश सुरेन्द्रप्रसाद सिंहविरुद्ध २०५२ असोज १ मा प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो । तर सभामुख रामचन्द्र पौडेलले महाअभियोग प्रस्तावलाई प्रतिनिधिसभामा छलफल नगराई अस्वीकृत गरेका थिए । एमालेले भने उक्त महाअभियोग प्रस्तावलाई सभामुखलाई खारेज गर्ने अधिकार नभएको भन्दै छलफलमा ल्याउनुपर्ने माग राख्दै आएको थियो । [Archive] After Khum Bahadur was dragged around inside the parliament by his own hands...

२०५२ असोज १० मा प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै एमालेका प्रमुख सचेतक देवीप्रसाद ओझाले नियमापत्ति गर्दै सभामुखले खारेज गरेको प्रस्ताव छलफलमा ल्याउन माग गरेका थिए । ओझाले नियमापत्ति गरेपछि सभामुख पौडेलले विवादको अन्त्य गर्ने उद्देश्यले ‘महाअभियोग प्रस्तावमा विवाद गरिराखेर मात्र हुँदैन’ भन्ने वित्तिकै प्रतिपक्षका सांसदहरूले होहल्ला गर्न थालेका थिए ।

सत्तापक्षका सांसदहरूले भने सभामुखले नियम अनुसार खारेज गरेको प्रस्ताव छलफलमा ल्याउन मिल्दैन भन्दै बैठक अघि बढाउन माग गरिरहेका थिए । दुवै पक्षबीचको अडानले १२.२० मा सुरु भएको बैठक २.४५ बजेसम्म होहल्लामै बित्यो । यसबीचमा सभामुखले एउटा विशिष्ट परिस्थितिमा प्रस्ताव अस्विकृत गरेको भन्दै एमाले सांसदहरूलाई सम्झाउने प्रयास गरेका थिए ।  

सरकारको नीति तथा कार्यक्रम अघि बढाउन सभामुख पौडेलले एमाले सांसद केपी शर्मा ओलीलाई संशोधन प्रस्ताव ल्याउनुस् भन्नासाथ सांसद राधाकृष्ण मैनाली र अमृत बोहराको नेतृत्वमा एमाले सांसदहरू सभामुखका अगाडि पुगेका थिए । सांसद बोहराले सभामुखको माइक तान्दै गरेको देखिएको थियो । एमाले आक्रोशित सांसदहरू रघुजी पन्त, भीम रावल, मिठाराम शर्मा बजगाईं अग्रपंक्तिमा देखिएका थिए । त्यसबेला एमाले नेता सीपी मैनाली भने संसदमा देखिएका थिएनन् । संसदभित्र रहेको दर्शकहरूले उठेर दृश्य हेर्दै थिए ।

एमालेका सबै सांसद सभामुख नजिक जान खोजिरहेका थिए भने मर्यादापालकले रोकेका थिए । प्रतिपक्षी सांसदहरूको उत्तेजित र अमर्यादित भीडले सुरक्षा घेरा तोडेर सभामुखमाथि आक्रमण गर्न खोजेको देखिन्थ्यो । मर्यादापालकसँग पनि बल प्रयोग गरेको देखिन्थ्यो । केही संसाद ‘यस्तो सभामुख चाहिँदैन’ भन्दै नारा लगाइरहेका थिए भने केही सभामुख टेबुलमा गएर रोस्टममाथि चढ्न खोजेको देखिन्थ्यो । तीन मिनेटपछि सभामुखले बैठक अवरुद्ध गरेका थिए । सभामुख राजदण्ड अघि लगाएर बाहिर निस्कन खोज्दा पनि एमाले सांसदहरू सभामुखमाथि जाइलाग्न खोज्दै थिए । 

सभामुख बाहिर निस्केपछि उनलाई लखेट्दै गएका सांसदहरू सिटमा बसिरहेका गृहमन्त्री नजिकै गएका थिए । एमाले सांसदले गृहमन्त्री खड्काको कठालो समातेर लतारे । लछारपछार नै गर्न थालेपछि खड्काले केही बोलेका थिए । तर उनले के भने सुनिएको थिएन । खड्काको कठालो समात्ने एमाले सांसद विनोदकुमार शाह थिए । हल्ला, नारा र ठोक भन्ने आवाजले सदन तनावपूर्ण भएको थियो ।

भीडमा कसले कसलाई हिर्कायो भन्न सक्ने अवस्था थिएन । दर्शकदीर्घाका बसेका व्यक्तिहरू बैठक कक्षमा हाम फालेर सांसदसँग भिडेको पनि देखिन्थ्यो । त्यतिबेला संसद बैठक सिंहदरबारको पुतली बगैंचाको भवनमा बस्ने गरेको थियो । साँघुरो स्थान र सुरक्षा व्यवस्थापन बलियो नभएका कारण दर्शकदीर्घाका मान्छे बैठक कक्षमा प्रवेश गर्न सक्ने अवस्था थियो । संसदमा अहिलेको व्यवस्थापनको तुलनामा त्यतिबेला कमजोर देखिन्थ्यो । प्रतिनिधिसभाका सांसदहरू पनि २०५ जना थिए । 

 बैठकमा उत्पन्न भएको हुलमुलमा बेन्चमाथि चढेर मन्त्रीहरूलाई तानेको पनि देखिन्थ्यो । माइक भाँचिएको थियो भने कुर्सी तोडफोड भएको थियो । बैठक कक्षमा भएको क्षतिको विवरण संसद सचिवालयले पनि तत्कालै यकिन गर्न सक्ने अवस्था थिएन ।  एमाले सांसदहरूले गृहमन्त्रीलाई लछारपछार गर्न थालेपछि कांग्रेस सांसद पनि आक्रामक देखिएका थिए । सांसद शरदसिंह भण्डारीले गृहमन्त्रीलाई थप लछारपछार पार्नबाट रोक्न बाहिर निकालेका थिए । कांग्रेस सांसद बलबहादुर केसीले भने आक्रोशित कांग्रेसका सांसदलाई रोकिरहेका थिए । दश मिनेटको कोलाहलपछि कांग्रेसका सांसद तथा मन्त्रीहरू बाहिर निस्केका थिए ।

सभामुखमाथि गुन्डा छिराएको आरोप 

एमाले सांसदहरूले भने सभामुखले सुनियोजित ढंगले गुन्डा ल्याएर सांसदमाथि हातपात गराएको आरोप लगाएका थिए । सोही विषयलाई मुद्दा बनाएर उनीहरू सभामुखको कोठामा गएका थिए । सभामुखको कोठामा पनि उनीहरूले विवाद गरेर होहल्ला गरेका थिए ।

एमाले सांसदहरूले गुन्डा छिराएको आरोपलाई सभामुखले अस्विकार गरेका थिए । उनले ‘माननीय सदस्यहरू तपाईंहरू आफ्नो मर्यादामा बस्नुपर्‍यो’ भन्दा एमाले सांसद वामदेव गौतमले बाहिरबाट मान्छे लगाएर हामीमाथि आक्रमण भएको छ भन्दै सत्ताधारी दल मुठभेडमा संलग्न भएको आरोप लगाएका थिए । तर सभामुखसँगै बसेका राष्ट्रियसभा अध्यक्ष बेनीबहादुर कार्कीले त्यसको प्रतिकार गरेका थिए । उनले वामदेवलाई जवाफ दिँदै भनेका थिए, ‘बाहिरबाट कोही ल्याएका छैनौं । यहीँ भएका मर्यादापालकलाई एक सयबाट बढाएर पाँच सय बनाउन सक्छौं । मर्यादापालकलाई सुरक्षा दिन हामीले अह्राएका हौं ।’

सभामुख पौडेलले भने बाहिरबाट कोही नल्याएको भन्दै  तपाईहरू (एमाले सांसद)ले बल प्रयोग गरेकाले अराजक स्थिति सिर्जना भएको धारणा राखेका थिए । उनले भनेका थिए, ‘तपाईंहरू यस्तो आवेगमा आउनु भएन । तपाईंहरूले आफूलाई कति मर्यादामा राख्नुपर्ने हो, त्यसको पनि विचार गर्नुपर्‍यो ।’ बाहिरबाट गुन्डा ल्याएको विषयमा एमाले सांसदहरूले छानबिन गर्नुपर्ने भन्दै १५ मिनेट विवाद गरेका थिए । सभामुख पौडेलले त्यस विषयमा आफूले सोधखोज गर्ने बताएपछि एमाले सांसदहरू बाहिरिएका थिए । सांसदहरू बाहिरिएपछि सभामुखले सञ्चारकर्मीहरूसँगको कुराकानीमा एमाले सांसदहरूले प्रक्रियामा जाने भन्दा बल प्रयोग गर्नेमा बढी जोड दिएको बताएका थिए । 

महाअभियोग प्रस्ताव अस्विकृत गरेको घटनामा एमाले सांसदहरूले प्रतिनिधिसभामा गरेको तोडफोड, बैठकमा  सभामुखको भूमिका तथा संसदभित्रै गृहमन्त्री खड्कामाथि भएको हातपातलगायतका विषयमा केन्द्रित भएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५२ असोज ११ मा ‘प्रतिनिधिसभामा बल प्रदर्शन’  शीर्षकमा पहिलो पृष्ठमा प्रकाशित गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर संवाददाता

Link copied successfully