२०५२ भदौ २७ मा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले गठन गरेको मन्त्रिपरिषद् विस्तार गर्दा बहुदलपछि पहिलोपटक पूर्वपञ्चहरूले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सामेल गराइएको थियो ।
What you should know
काठमाडौँ — विसं २०४६ को आन्दोलनका क्रममा सडकमा गुञ्जेको नारा थियो, ‘पञ्चे चोर देश छोड् । हत्यारा पञ्च मुर्दावाद । पम्फादेवी मुर्दावाद ।’ सडकमा नारा मात्र लागेको थिएन, बहुदलवादी नेताहरूले भ्रष्ट पञ्चहरूले नेपाललाई विश्वकै गरिब मुलुक बनाएको आरोप लगाएका थिए ।
आन्दोलनका क्रममा प्रजातन्त्र प्राप्त भएपछि पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्विट्जरल्यान्ड बैंकमा राखेको करोडौं रुपियाँ फिर्ता ल्याएर देश विकास गर्ने आवाज सडकमा सुन्ने गरिन्थ्यो । पञ्चायतले मुलुकलाई खोक्रो बनाएको धारणा आन्दोलनकारीको मुखमुखबाट सुनिन्थ्यो । बहुदलवादीहरू पञ्चायत र त्यसका शासकविरुद्ध ३० वर्ष लड्दा भोग्नुपरेको पीडा दन्त्यकथाजसरी सुनाउने गर्थे ।
तर नेपाली कांग्रेसले तिनै पञ्चलाई आन्दोलन सफल भएको ६ वर्षमै सत्तारोहण गराएर प्रजातन्त्रमा सबैको जित हुन्छ भन्ने मान्यतालाई स्थापित गराएको थियो । २०५२ भदौ २७ मा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले गठन गरेको मन्त्रिपरिषद् विस्तार गर्दा बहुदलपछि पहिलोपटक पूर्वपञ्चहरूले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सामेल गराइएको थियो । २०४८ मा तीन सिटमा सीमित दुई राप्रपा (चन्द र थापा) पक्षलाई २०५१ को मध्यावधि निर्वाचनले निकै ठूलो राहत दिएको थियो । लगभग अस्तित्व जोगाउन संघर्ष गरिरहेका पञ्चलाई मतदाताले सत्ता सञ्चालक बन्ने अवसर दिएका थिए ।
सरकार गठनपछि कतिपयले बहुदल र प्रजातन्त्रविरोधी शक्तिलाई सत्तामा जाने अवसर दिएको भन्दै कांग्रेसको आलोचना गरेका थिए । राप्रपाले त्यतिबेला प्रतिनिधिसभामा २० सिट जितेको थिए । एमालेको अल्पमतको सरकारलाई विस्थापित गर्न कांग्रेसले राप्रपालाई प्रधानमन्त्री मनमोहन अधिकारीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभ्याएको थियो । एमालेलाई सत्तामा बस्न नदिने मनसायले कांग्रेसले राप्रपालाई ‘प्रजातान्त्रिक शक्ति’का रूपमा व्याख्या गरेको थियो । ![[Archive] The first cabinet after the multi-party system in which the former Panchayats came to power](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-pho2-24122025072254-1000x0.jpg)
बहुदल प्राप्त भएको खुसीयालीमा २०४६ चैत २७ मा काठमाडौंको टुंडिखेलमा आयोजना गरेको विजयी र्यालीमा कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले ‘यो जित पञ्चहरूको पनि हो’ भनेका थिए । पञ्चहरूको सत्तारोहणलाई राजनीतिक जानकारहरूले कोइरालाको भनाइलाई कांग्रेसले नै ६ वर्षपछि पुष्टि गरेको व्यंग्यात्मक टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री देउवासमेत २६ सदस्यीय मन्त्रिपरिषदमा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीसमेत १३ जना राप्रपाका थिए । २०४६ को आन्दोलन दबाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येका कमल थापासहितका पञ्चलाई देउवा सरकारमा महत्त्वपूर्ण मन्त्रालय दिइएको थियो । थापाले स्थानीय विकास मन्त्रालय पाएका थिए भने पद्मसुन्दर लावतीलाई कृषिमन्त्री बनाइएको थियो । पशुपतिशमशेर जलस्रोत, बलराम घर्तीमगरलाई आवास तथा भौतिक योजना, प्रकाशचन्द्र लोहनीलाई परराष्ट्र, फत्तेसिंह थारुलाई वाणिज्य र बुद्धिमान तामाङलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।![[Archive] The first cabinet after the multi-party system in which the former Panchayats came to power](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-n-24122025072241-1000x0.jpg)
राज्य र सहायक ६ जना मन्त्री राप्रपाका नयाँ अनुहारका थिए । राप्रपाका मन्त्रीहरू भने सबै पञ्चायतमा मन्त्री बनेर अनुभव सँगालेकाहरू थिए । कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित बलबहादुर राई, शेख इद्रिस, डुण्डीराज शास्त्री, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी, चक्रप्रसाद बाँस्तोला, रामशरण महत, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, भीमबहादुर तामाङ र नेपाल सद्भावना पार्टीका तर्फबाट गजेन्द्रनारायण सिंह मन्त्री भएका थिए । खुमबहादुरलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो । उनी त्यही समयदेखि बढी चर्चामा आएका हुन् ।
एमालेको अल्पमतको सरकार नौ महिनामा ढालेर बनेको देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तार र बहुदल प्राप्त भएको ६ वर्षमै पूर्वपञ्चहरू सत्तामा पुग्ने अवसर पाएको घटनालाई सन्दर्भ बनाएर कान्तिपुर दैनिकले तयार गरेको समाचार २०५२ असोज ७ मा ‘श्री ५ बाट प्रमको सिफारिसमा मन्त्रिपरिषद्को विस्तार’ शीर्षकमा छापिएको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The first cabinet after the multi-party system in which the former Panchayats came to power](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-pho1-24122025072249-1000x0.jpg&w=1001&h=0)