[अर्काइभ] देउवाले पाँचपटक प्रधानमन्त्री बन्ने जग बसालेको त्यो दिन...

डडेल्धुराबाट लगातार सात पटकसम्म चुनाव जितेर पाँचपटक राज्य सञ्चालनको जिम्मेवारी पाएका देउवा जेनजी आन्दोलनपछि आठौं पटक डडेल्धुराबाटै निर्वाचन लड्ने तयारीमा नाम सिफारिस गराएका छन् ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

[Archive] The day Deuba laid the foundation for becoming Prime Minister five times...

What you should know

काठमाडौँ — मुलुकको सबैभन्दा पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेस संसदीय दलको नेता बन्ने अवसर पाउनु नै शेरबहादुर देउवाका लागि प्रधानमन्त्री बन्ने खुड्किलो थियो । २०५१ को मध्यावधि निर्वाचनबाट चुनिएका कांग्रेसका सांसदहरूले उनलाई २०५२ मंसिर १६ मा संसदीय दलको सर्वसम्मत नेता बनाएका थिए ।

दलको नेता चुनिएको नौ महिनामा अल्पमतको एमाले सरकार ढल्यो । त्यसपछि उनले पहिलो पटक  प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । २०५२ भदौ २५ मा प्रतिनिधिसभामा भएको अविश्वास प्रस्तावसम्बन्धी मतदानमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी पराजित भएपछि देउवालाई प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको थियो । प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री मनमोहन अधिकारीले सोही दिन राजासमक्ष राजिनामा दिएका थिए । राजाले २०५२ भदौ २६ मा कांग्रेस संसदीय दलको नेताको हैसियतमा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । देउवाको राजनीतिक व्यक्तित्व बन्ने जग त्यही दिनबाट सुरु भएको थियो । 

देउवाले कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी र स्वतन्त्र सांसदहरूसमेतको समर्थनमा विश्वासको मत प्राप्त हुने आधार पेस गरेकाले उनलाई राजाले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । उनको नियुक्तिले त्यतिबेला सत्ता र शक्ति युवा पुस्तामा हस्तान्तरण भएको सर्वत्र चर्चा थियो । 

देउवा प्रधानमन्त्रीमा नियुक्त हुँदा ४९ वर्षका थिए । २०४८ मा बनेको कांग्रेस नेतृत्वको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देउवालाई गृहमन्त्री बनाएका थिए । सुदूरपश्चिमको ‘कमान्डर’का रूपमा चिनिएका देउवा त्यतिबेला कोइरालाका विश्वास पात्र थिए । कांग्रेसको झापामा भएको महाधिवेशनपछि कृष्णप्रसाद भट्टराईले देउवालाई पार्टीको केन्द्रीय सदस्य मनोनीत गरेका थिए । पार्टीका अन्य सिनियर नेताहरूलाई उछिनेर जसरी संसदीय दलको नेता चुनिए, त्यही बेलादेखि देउवाको राज्य सञ्चालनको भाग्य चम्केको थियो । सुदूरपश्चिम छात्रा समितिको अध्यक्ष बनेर राजनीति सुरु गरेका उनले पार्टीका अन्य सिनियर नेताहरूलाई पछि पार्दै प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । [Archive] The day Deuba laid the foundation for becoming Prime Minister five times...

साढे तीन दशकको अवधिमा देउवा  विभिन्न राजनीतिक घटनाक्रममा जोडिएर ५ पटक प्रधानमन्त्री बनिसकेका छन् । दुई पटक  पार्टी सभापति पद जितेर कांग्रेसलाई एकछत्र रूपमा सञ्चालन गर्ने अवसर पनि पाएका थिए । २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ को निर्वाचनमा डडेल्धुराबाट लगातार चुनाव जित्दै आएका देउवा पहिलो पटक संसदीय दलको नेता हुनु नै उनका लागि पहिलो ‘टर्निङ प्वाइन्ट’ थियो । प्रधानमन्त्री बन्नु उनका लागि दोस्रो ‘टर्निङ प्वाइन्ट’ वा राज्य शक्ति आर्जन गर्ने खुड्किलो बनेको थियो । त्यसकै आधारमा देउवाले पाँचपटकसम्म राज्य सञ्चालनको जिम्मेवारी पाएका हुन् । जेनजी आन्दोलनपछि पनि उनले अहिले आठौं पटक डडेल्धुराबाटै निर्वाचन लड्ने तयारीमा नाम सिफारिस गराएका छन् । 

प्रधानमन्त्री नियुक्त भएपछि संयुक्त सरकारको रोडम्यापका रूपमा सत्तापक्षका दलहरूले स्वच्छता र स्थिरताका लागि भन्दै १० सूत्रीय साझा कार्यक्रम पनि घोषणा गरेका थिए । कांग्रेस, राप्रपा र सद्भावनाले जारी गरेको संयुक्त वक्तव्यका अनुसार दलहरूको संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, संसदीय शासन प्रणाली, स्वतन्त्र न्यायपालिकाजस्ता आधारभूत संरचनाप्रतिको प्रतिबद्धता अटुट रहने उल्लेख गरिएको थियो । वक्तव्यमा एमालेको नौ महिने सरकारका बेला मुलुकले सही दिशा नदिएको आरोप लगाइएको थियो । 

एमालेको अल्पमतको सरकार ढालेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको विषयमा केन्द्रित रहेर तयार गरेको समाचार कान्तिपुरले २०५२ भदौ २७ मा ‘श्री ५ द्वारा देउवालाई मिलिजुली सरकारको प्रधानमन्त्री नियुक्त’ र ‘प्रमुख प्रतिपक्षी नेता जब प्रधानमन्त्री बन्नुभयो’ शीर्षकमा छापेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully