खासमा प्रधानमन्त्रीको पत्र संसदमा प्रवेश गराउने बाटो नभएको भन्दै देउवालाई अविश्वास प्रस्ताव पेस गर्न दिएका कारण संसद्मा हंगामा भएको थियो ।
What you should know
काठमाडौँ — एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा नेपालमा पहिलो पटक बनेको कम्युनिस्ट सरकारविरुद्ध प्रतिनिधिसभाको विशेष अधिवेशन (२०५२ भदौ २२) मा अविश्वास प्रस्ताव दर्ताको तयारी थियो । सरकार बनेको नौ महिनामा अविश्वास प्रस्तावमार्फत अधिकारीलाई सत्ताबाहिर पठाउने योजनाअनुरूप नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले प्रतिनिधिसभामा बहुमत सांसदको हस्ताक्षर गरेका थिए ।
सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला सुनाएपछि नयाँ सरकार बनाउने तयारीस्वरूप विशेष अधिवेशन बोलाइएको थियो । अधिकारीको सफारिसमा राजाले मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । तर सर्वोच्चले भदौ १२ मा विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका बेला प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरूले आफ्ना माग राखेर अवरोध सिर्जना गर्ने प्रयास गरेका थिए ।
प्रधानमन्त्री अधिकारीविरुद्धको प्रस्ताव पढ्ने क्रममा एमाले सांसदहरूले होहल्ला गरिरहेका थिए । होहल्लाकै बीच देउवाले अविश्वास प्रताव पढेका थिए । प्रतिनिधिसभा बैठकमा झन्डै पौने दुई घण्टा एमाले सांसदहरूले होहल्ला गरिरहेका बेला देउवाले पढेको अविश्वास प्रस्ताव कसैले सुनेनन् ।
२०५१ मंसिरमा गठन भएको अधिकारी नेतृत्वको सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावप्रति एमाले निकै आक्रामक बनेको देखिन्थ्यो । एमालेले सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलाविरुद्ध आफ्नो भ्रातृ संस्थामार्फत मुलुकभर विरोधका कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा अविश्वास प्रस्ताव टेबुल गरिएको थियो । त्यतिबेला हेलिकोप्टर दुर्घटनामा घाइते भएका प्रधानमन्त्री अधिकारी शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका थिए । एमाले सांसदहरूले प्रधानमन्त्री अधिकारी उपचारका क्रममा रहेकाले अविश्वास प्रस्ताव रोक्नुपर्ने माग गरिरहेका थिए ।
एमाले सांसदहरूले अधिकारीले प्रतिनिधिसभालाई पठाएको पत्र पढेर सुनाउनुपर्ने र रेकर्डमा राख्नुपर्ने माग पनि गरेका थिए । बैठक सुरु हुनेबित्तिकै एमाले सांसद तथा सचेतक राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको पत्रलाई संसदको अभिलेखमा राख्न माग गरेका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्रीको पत्रलाई उपेक्षा नगरियोस् ।’ कांग्रेससहितका प्रतिपक्षी दलका सांसदले भने प्रधानमन्त्री अधिकारीको उपचार विशेष ढंगले नगरी सत्ता लम्ब्याउन अस्पतालमा राखेको र उनको स्वास्थ्यसम्बन्धी तथ्य जानकारी नदिएको आरोप लगाएका थिए ।
कांग्रेस सांसद अमरराज कैनीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था देखाएर एमालेले सत्ता लम्ब्याउने षड्यन्त्र गरेको आरोप लगाएका थिए । उनको भनाइपछि प्रतिनिधिसभा बैठकमा झण्डै तीन मिनेटसम्म होहल्ला नै चलेको थियो । कैनीले प्रधानमन्त्रीको उपचारको राम्रो व्यवस्था नगरेको, सुविधाजनक अस्पतालमा नलगेको र विशेषज्ञ सुविधा नदिएको आरोप लगाएका थिए । ![[Archive] UML MP demolishes rostrum while Deuba is speaking...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-1-18122025020733-1000x0.jpg)
एमाले प्रमुख सचेतक देवीप्रसाद ओझाले कैनीको भनाइको प्रतिवाद गर्दै एमाले सरकार जोगाउने षड्यन्त्रमा नलागेको बताएका थिए । उनले प्रतिपक्षीले लगाएको आरोप फिर्ता नलिए संसद् चल्न नदिने अडान राखेका थिए । एमालेले प्रतिपक्षी सांसदहरूलाई थुनेको प्रसंग जोडेर बोल्न थालेपछि कांग्रेस र राप्रपाका सांसदहरूले पनि प्रतिवाद गरेका थिए । विवाद लम्बिएपछि राप्रपाका कमल थापा, प्रकाशचन्द्र लोहनी, पद्मसुन्दर लावती, एमालेका विष्णुबहादुर राउत, जेपी भेटवाल, गुरुप्रसाद बराल, रघुजी पन्त र कांग्रेसका डा. रामशरण महतले विवादका विषयमा बोलेका थिए । महतले प्रतिनिधिसभा पुनर्स्थापनाको ५१ पृष्ठ लामो फैसला पढेर विश्लेषण गर्न सक्ने प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिन किन नसक्ने भन्दै प्रश्न गरेका थिए । उनको भनाइपछि एमालेका केशव बडालले बैठक अघि बढ्न नसक्ने बताएका थिए ।
सभामुख रामचन्द्र पौडेलले प्रधानमन्त्रीको पत्र संसदमा पेस गर्ने कुनै व्यवस्था नभएको भन्दै सांसदहरूको अध्ययनका लागि पिजन होलमा राखेको जानकारी दिएका थिए । ओझाले भने पत्र संसदमा प्रवेश गराउनुपर्ने अडान छाडेका थिएनन् । कांग्रेस सांसद अर्जुननरसिंह केसीले भने प्रधानमन्त्रीको पत्र छलफलका लागि कुनै पनि नियमअनुसार प्रस्ताव गर्न नसकिने बताएका थिए । एमाले सांसद विरोध खतिवडाले बाधा फुकाएर भए पनि प्रधानमन्त्रीको पत्र संसदमा प्रवेश गराउनुपर्ने धारणा राखेका थिए । राप्रपा सांसद लोहनीले भने श्री ५ बाहेक कसैले पनि संसदमा कुनै सन्देश पठाउन नसक्ने ठोकुवा गरेका थिए । एमालेका रघुजी पन्त, विष्णुबहादुर राउत, खगराज अधिकारी, भोजराज जोशीले बैठक अघि बढ्न नदिने अडान राख्दै विशेष अधिवेशन असंवैधानिक भएको बताएका थिए ।
कांग्रेस सांसद विमलेन्द्र निधिले विशेष अधिवेशन कार्यपालिकाको इच्छा र अनिच्छाले नचल्ने भन्दै प्रधानमन्त्रीको प्रतिनिधिसभामा जवाफ दिनुपर्ने कर्तव्य भएको बताएका थिए । प्रधानमन्त्रीको स्वास्थ्यको कुरा आउँदा सत्तापक्षका सांसदहरूको नियमापत्ति आउँथ्यो भने सांसद थुनिएको कुरा उठाउँदा प्रतिपक्षको नियमापत्ति हुन्थ्यो ।
सभामुख पौडेलले अधिवेशन सुरु हुने बिहान प्रधानमन्त्री अधिकारीलाई अस्पतालमै भेटे पनि आफूले उहाँको स्वास्थ्यका बारेमा चिकित्सकबाट यथार्थ जानकारी नपाएको बताएका थिए । सभामुख पौडेलले चिकित्सकले प्रधानमन्त्री देखाउने र प्रधानमन्त्रीले चिकित्सक देखाउने गरेर आफूले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा ल्याउने विषयमा यकिन निर्णय हुन नसकेको जानकारी सदनलाई गराएका थिए । पौडेलले आफूलाई कसैले पनि प्रधानमन्त्रीको विषयमा थप सूचना नदिएको भन्दै अविश्वास प्रस्तावमाथि छलफल जारी रहने बताएका थिए ।![[Archive] UML MP demolishes rostrum while Deuba is speaking...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-2-18122025020728-1000x0.jpg)
खासमा प्रधानमन्त्रीको पत्र संसदमा प्रवेश गराउने बाटो नभएको भन्दै देउवालाई अविश्वास प्रस्ताव पेस गर्न दिएका कारण संसदमा हंगामा भएको थियो । प्रतिनिधिसभाको बैठकमा अविश्वास प्रस्ताव टेबल गर्ने तयारीको सिलसिलामा संसदीय व्यवस्थामा पहिलो पटक अस्वाभाविक दृश्य देखिएका थिए । अविश्वास प्रस्ताव टेबल गर्नुअगावै सत्तापक्षका सांसदहरूले सभामुख पौडेलको कुर्सी घेराउ गरेर नारा लगाएका थिए । प्रमुख प्रतिपक्षी दलका नेताले देउवाले अविश्वास प्रस्ताव टेबल गर्न खोज्दा उनी उभिएको रोस्टम ढालेका थिए । रोस्टम ढाल्नुअघि एमाले सांसद तथा संगठन विभाग प्रमुख अमृतकुमार बोहराको नेतृत्वमा सभामुखको छेउको खाली ठाउँमा जम्मा भएर सांसदहरूले दुई मिनेट नारा लगाएका थिए । सत्तापक्षको बेन्चअगाडि बसेका एमाले सांसद कृष्णगोपाल श्रेष्ठ तात्तिएर आगाडि पुगेर ललितपुरका एमाले सांसद मीठाराम शर्माको साथ लिएर रोस्टम ढालेका थिए । चुप लागेर बसेका प्रतिपक्षी सांसदहरू रोस्टम नै ढालेपछि बलबहादुर केसी र कमल थापा देउवाको सुरक्षाका लागि आगाडि बढेका थिए । बैठकमा दुवै पक्षबीच घच्चाघच्ची भएपछि अप्रिय घटना नहोस् भन्नाका लागि सभामुख पौडेलले १२.४५ मा बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।
स्थगनपछि सुरु भएको बैठकमा तत्कालीन कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री मनमोहनले सभामुख र सांसदहरूलाई लेखेको पत्र संसदमा पेस गरेका थिए । बैठक स्थगित भएको समयमा बसेको सर्वदलीय बैठकले जरुरी सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिने सहमति भएअनुसार नेम्वाङले पत्र पढेका थिए । बोल्ने क्रममा नेम्वाङले एमाले सत्ता लम्ब्याउने पक्षमा नभएको बताएका थिए । उनले भनेका थिए, ‘जनतासमक्ष जानु कायरता होइन र सर्वसत्तावाद पनि होइन । बरु जनतामा जान डराउनु (मध्यावधिमा जान नखोज्नु) कायरता हो ।’ उनले प्रधानमन्त्रीविरुद्ध आएको अविश्वास प्रस्तावलाई सरकारले स्वाभाविक रूपमा लिएको बताएका थिए । यसअघि प्रधानमन्त्रीको पत्रलाई संसदको पिजन होलमा राख्ने भनिएको थियो । त्यही सन्दर्भमा विवाद भएर संसदमा अस्वाभाविक गतिविधि देखिएको थियो । विशेष अधिवेशन सुरु भएको पहिलो दिन बसेको एमाले संसदीय दलको बैठकले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने निर्णय गरेको जानकारी उप्रधानमन्त्री तथा एमाले महासचिव माधवकुमार नेपालले त्यसै दिन दिएका थिए ।![[Archive] UML MP demolishes rostrum while Deuba is speaking...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-3-18122025020743-1000x0.jpg)
विशेष अधिवेशनको दोस्रो दिनको बैठकमा कांग्रेस संसदीय दलका नेता देउवाले अविश्वास प्रस्ताव पेस गर्दै मनमोहन नेतृत्वको सरकार बनेदेखि नै देशलाई दिनप्रतिदिन गम्भीर राजनीतिक अस्थिरता, आर्थिक संकट, दिशाहीनता, साम्प्रदायिक कलह र विद्वेषमा धकेलेको आरोप लगाएका थिए । देउवाले ८ वटा बुँदागत आरोप लगाउँदै संसदीय प्रणाली र संवैधानिक प्रावधानको पटक–पटक उल्लंघन गरेको बताएका थिए । उनले ७ पृष्ठ लामो अविश्वास प्रस्तावमा न्यायालयको गरिमा र संवैधानिक हैसियतलाई अधिकारी सरकारले पाइलैपिच्छे उपहास गरेको उल्लेख गरेका थिए ।
कांग्रेसका सांसदहरू थुनिएको चर्चा !
विशेष अधिवेशनको दोस्रो दिनको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षका सांसदहरू होटलमा थुनिएको आवाज उठेको थियो । विशेषतः एमालेका सांसदहरूले उक्त विषय पटक–पटक उठाएका थिए । तर सत्तापक्षका सांसदहरूले भने नियमापत्ति गरिरहेको देखिन्थे । खासमा कांग्रेसका शीर्ष नेताहरूबाहेक सबै ८० जना सांसदलाई अविश्वास प्रस्ताव टेबल हुनुभन्दा केही दिनअगावै काठमाडौंको शंकर होटलमा खाने, बस्ने व्यवस्था गरिएको थियो । गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, शैलजा आचार्य, प्रदीप गिरिलगायतका नेताहरूबाहेक सबै सांसद होटलमा बसेका थिए । कांग्रेसले भने सांसदहरूलाई न्याय, कानुन, अर्थ, जलस्रोतलगायतका विषयमा प्रशिक्षण दिन होटलमा बस्नुपरेको बताएको थियो ।
राजनीतिक बजार र मिडियामा भने जटिल परिस्थितिमा सांसदहरू किनबेच हुन सक्ने सम्भावना टार्न होटलमा थुनेर राखेको चर्चा थियो । उक्त विषयमा सुनील अधिकारीले लखेको समाचार २०५२ भदौ २२ को कान्तिपुर दैनिकले ‘नेपाली कांग्रेसका सांसदहरूलाई सुरक्षित गुरुकूलमा बेफुर्सद’ शीर्षकमा प्रकाशित गरेको थियो । उक्त समाचारमा उल्लेख भएअनुसार कांग्रेसका सांसदहरूले समसामयिक विषयमा प्रशिक्षण दिएको बताएका थिए । सांसद कमला पन्तले भने संवेदनशील समयमा सांसदहरूले सुरक्षाका दृष्टिकोणले सतर्कता अपनाउनु जरुरी भएको बताएकी थिइन् । उनले सरकारले सुरक्षा दिन नसकेपछि हामी के गर्ने भन्दै प्रतिप्रश्न गरेकी थिइन् । होटलमा भएको गोष्ठीमा आफूहरूले धेरै कुरा सिकेको भन्दै उनले विपक्षीले लगाएको आरोपको खण्डन गरेकी थिइन् । सांसदहरू होटलको चौरमा कुराकानी गरेर दिन कटाएको, घुम्न र किनमेल गर्न गएको सूचना सार्वजनिक भइरहेको थियो ।
सांसदहरू होटलमा बसेको प्रसंग विशेष अधिवेशनमा पटक–पटक उठेको थियो । एमाले सांसदहरूले बैठकमा भनेका थिए, ‘सांसदहरू थुनिएका छन् । केटाकेटीसँग खेल्न पाएका छैनन् । अमानवीय यातना दिइएको छ ।’ प्रतिपक्षले उक्त विषय उठाउने बित्तिकै कांग्रेसका सांसदहरूले नियमापत्ति गर्थे । बेलाबेलामा नियमापत्तिको आवाजले सदन थर्किन्थ्यो । नियमापत्ति गर्नेमध्येका राप्रपा सांसद कमल थापाले सांसदहरू थुनिएका छन्, मेरो पनि आपत्ति छ भन्दा सत्तापक्षका सांसदहरूले टेबल ठोकेका थिए । थापाले आफ्नो भनाइ सच्याउँदै विपक्षी सांसद त थुनिएका छैनन्, सत्तापक्षका छन् भने गृहमन्त्रीले जवाफ दिनुपर्छ भन्दा सत्तापक्षका सांसदहरू हाँसेका थिए । सांसदहरूलाई होटलमा थुनेको प्रसंगमा राप्रपा सांसद लोहनीले भनेका थिए, ‘सत्तापक्षका सांसद थुनिएको भन्दै उहाँहरू (एमाले सांसद) को आँखाबाट आँशु झर्न थालिसकेको छ जस्तो छ । तर रुनचाहिँ नरुनु होला ।’
विपक्षीले बोल्दैपिच्छे सत्तापक्षले नियमापत्ति गरेपछि...
विशेष अधिवेशनको दोस्रो दिन संसदमा रोचक प्रसंग देखिएको थियो । सुरुमा एमाले सांसद राजेन्द्र पाण्डेले गरेको नियमापत्तिले संसदमा होहल्ला सुरु भएको थियो । प्रतिपक्षले प्रधानमन्त्रीको स्वास्थ्यका कुरा उठएपछि सत्तापक्ष रुष्ट हुने र सत्तापक्षले सांसदहरू होटलमा थुनिएको कुरा उठाएपछि प्रतिपक्ष कांग्रेसका सांसद रिसाउने परिस्थिति बनेको थियो । यी दुई विषय नै मुख्य मुद्दा बनेपछि सदन नै केही बेरका लागि स्थगित गर्नुपरेको थियो । प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा विपक्षीले केही टिप्पणी गर्नासाथ सांसद, प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा दृष्टि साप्ताहिकका प्रधान सम्पादक रघु पन्त नियमापत्ति गर्न थाल्थे । जति जना विपक्षी सांसदले प्रधानमन्त्रीको स्वास्थ्यको टिप्पणी गरे, पन्तले त्यति जनामाथि नै नियमापत्ति गरेका थिए । सदनमा रिपोर्टिङमा गएका पत्रकारहरूको टिप्पणी थियो, ‘पत्रकार एवं सांसद रघुजी पन्तले कृष्णगोपाल श्रेष्ठलाई पनि माथ गर्न आँटिसकेछन् ।’ नियमापत्ति गर्नेमा एमाले सांसद खगराज अधिकारी पनि अग्रपंक्तिमा थिए । उनी प्रत्येक सांसदले बोल्नासाथ नियमापत्ति भन्थे । आफ्नै पार्टीकाले बोल्दा नियमापत्ति गर्ने खगराजले विपक्षीले बोल्दा त झन् बीचमै ‘नियमापत्ति, नियमापत्ति’ भनेर कराइरहन्थे । सांसद मिठाराम शर्मा भने नियमापत्ति गर्दैनथे । तर उनी आफ्नै पार्टीका सांसदहरूले बोल्नासाथ ठूलो स्वरमा हो, होइन, ठिक, बोल्न पाउनुपर्छ भनेर हल्ला गरिरहन्थे ।
सदनमा सवैभन्दा धेरै बोल्न चाहने सांसद विष्णुबहादुर राउत थिए । सभामुखले उनलाई तपार्इं कुन नियमले बोल्नुहुन्छ भन्दा उनले भनेका थिए, म सांसद हुँ, सांसदको नियममा बोल्दैछु ।’ विपक्षी दलको कुनामा सभामुखको कम आँखा पर्ने ठाउँमा बसेका सांसद नारायणमान विजुक्छेको नियमापत्ति भने भिन्न थियो । उनले प्रश्न गरेका थिए, ‘ठूलो स्वरले बोल्नेले मात्र बोल्न पाउने भए यो माइकको के काम ? देउवा बोल्दाबोल्दै सांसद कृष्णगोपालले रोस्टम ढालेका थिए । सांसद रघुजी पन्तले ढालिएको रोस्टममाथि तबेला बजाएर मजाक उडाएका थिए । संसद बैठकको अन्तिममा बसेका एमाले सांसद झलनाथ खनाल बीचमा आएर आफ्ना सहकर्मीको चर्तिकला हेरिरहेका थिए । मन्त्रीहरू भने आफ्नै कुर्सीमा बसेर सहकर्मीहरूको गतिविधि हेरिरहेका थिए । एमालेका सबैजसो सांसदले एकै पटक नियमापत्ति गर्दा संसद् बैठक बेलाबेलामा होहल्लामा परिणत हुने गर्थ्यो ।
विशेष अधिवेशनको दोस्रो दिन प्रधानमन्त्री अधिकारीविरुद्ध प्रतिनिधिसभामा प्रस्तुत अविश्वास प्रस्ताव, सत्ता र प्रतिपक्षी सांसदहरूबीचको नियमापत्ति, हुलहुज्जत र ठेलमठेलका कारण रोस्टम नै ढालेको र कांग्रेसका सांसदहरूलाई शंकर होटलमा राखेको सहितका प्रसंगमा केन्द्रित रहेर पत्रकार तारानाथ दाहाल, हरिबहादुर थापा, सुनीलसहितको टिमले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५२ भदौ २३ मा प्राथमिकताकासाथ पहिलो पृष्ठमा प्रकाशित गरेको थियो । समाचारका शीर्षकहरू ‘प्रतिनिधिसभा विशेष अधिवेशनको दोस्रो दिनः प्रधानमन्त्रीको स्वास्थ्य, सदनको रोस्टम र नियमापत्ति, सत्तापक्षका सांसदले रोस्टम ढाले, प्रमुख प्रतिपक्षीद्वारा प्रमविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत’ रहेका थिए । साथै एमालेले सर्वोच्चले गरेको संसद् पुनर्स्थापनाको फैसलाविरुद्ध मुलुकभर भ्रातृ संस्थामार्फत विरोध गरिरहेको र प्रम मनमोहन अस्पतालमा उपचार गराइरहेको विषय जोडेर वात्स्यानले तयार गरेको व्यंगात्मक कार्टुन कान्तिपुरले सोही दिन प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] UML MP demolishes rostrum while Deuba is speaking...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/sherbahadur-deuba-2272021035156-1000x0-18122025021125-1000x0.jpg&w=1001&h=0)