राष्ट्रिय समाचार समिति (रासस) ले प्रधानमन्त्रीले अस्पतालबाटै जवाफ दिएको विश्वमै पहिलो घटना भएको जनाएको थियो ।
What you should know
काठमाडौँ — सर्वोच्च अदालतले २०५२ भदौ १२ मा प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रधानमन्त्री मनमोहन अधिकारीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दर्ता गरेको अविश्वास प्रस्तावको सामना गर्नुपर्ने परिस्थिति बनेको थियो ।
आफूले गरेको संसद् विघटन र मध्यावधिको निर्वाचनलाई सर्वोच्चले उल्ट्याएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नुपर्ने सुझाव पनि उनलाई दिइएको थियो । तर उनले आफूलाई संसद्ले प्रधानमन्त्री बनाएकाले संसद्मै अविश्वास प्रस्तावको ‘फेस’ गर्ने घोषणा गरेका थिए ।
तर अल्पमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री अधिकारीसँग अविश्वास प्रस्तावको विपक्षमा उभ्भिने सांसदहरूको बहुमत थिएन । २०५१ मा भएको मध्यावधि निर्वाचनपछि नौ महिना अल्पमतको सरकारको नेतृत्व गरेका अधिकारीविरुद्ध २०५२ जेठमा संसदमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
अविश्वास प्रस्तावसम्बन्धी मतदान हुने समयमा अधिकारी हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका थिए । उनको उपचार शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको थियो । उनी २०५२ साउन २९ मा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएका थिए ।
विपक्षीको अनुरोधमा बोलाइएको विशेष अधिवेशनमा अविश्वास प्रस्तावसम्बन्धी निर्णयका लागि मतदान हुने दिन २०५२ भदौ २५ मा तोकिएको थियो । अविश्वास प्रस्तावको प्रस्तावकका तर्फबाट कांग्रेसका तत्कालीन संसदीय दलका नेता शेरबहादुर देउवाले एमाले सरकारमाथि संविधान मिचेको, मुलुकको आर्थिक अवस्था धराशयी बनाएको, मानवअधिकारको हनन गरेको, कर्मचारीतन्त्रलाई एमालेकरण गरेको, विदेश नीतिमा सन्तुलन कायम नगरेको, प्रजातान्त्रिक मूल्य र मान्यता एवं संसदीय मर्यादा मिचेको लगायतका आरोप लगाएका थिए ।
प्रधानमन्त्री अधिकारी देउवाको उक्त आरोपको जवाफ दिन चाहन्थे । संसदीय व्यवस्थामा प्रधानमन्त्रीले आफूमाथि लागेको आरोप वा उठेका प्रश्नको जवाफ संसद्बाटै दिन पाउने अधिकार प्रयोग गर्ने धारणा उनको थियो । तर त्यतिबेला अधिकारी बिरामी भएर अस्पतालमा उपचार गराइरहेकाले आफूमाथि उठेको प्रश्नको जवाफ दिन प्रतिनिधिसभामा उपस्थित हुन सक्ने अवस्था थिएन । ![[Archive] The no-confidence motion that Manmohan Adhikari faced from his hospital bed...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-2-20122025065110-1000x0.jpg)
उनले आफूले प्रतिनिधिसभामा उपस्थिति भएरै जवाफ दिन पाउनुपर्ने अडान राखेका थिए । त्यसैले अस्पतालबाट डिस्चार्ज भएपछि मात्र अविश्वास प्रस्तावसम्बन्धी निर्णयका लागि मतदान गर्न एमाले सांसदहरूले अनुरोध गरेका थिए । तर प्रतिपक्षी दलहरूले नमानेपछि प्रधानमन्त्री अधिकारीले आफूले अविश्वास प्रस्तावतको फेस गर्ने र जवाफ दिने वातावरण मिलाउन मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको चाहनाअनुसार मन्त्रीहरूले अस्पतालको शय्याबाटै टेलिभिजनमार्फत संसद्मा उठेका प्रश्न र लगाएको आरोपको प्रत्युत्तर दिने व्यवस्था मिलाएका थिए । अविश्वास प्रस्ताव सम्बन्धमा मतदान हुने दिन बिहानै शिक्षण अस्पतालको शय्यामा टेलिभिजनको स्टुडियो तयार गरिएको थियो । अधिकारीले उक्त रेकर्डमार्फत संसदमा उठेका विषयको २०५२ भदौ २५ मा जवाफ दिएका थिए । संसद बैठकको ११ स्थानमा टेलिभिजन स्क्रिन राखेर अधिकारीको प्रत्युत्तर सांसदहरूले सुन्ने व्यवस्था गरिएको थियो ।
नेपालको इतिहासमा प्रधानमन्त्रीले अस्पतालको शय्याबाटै संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्दै प्रश्नहरूको उत्तर दिएको यो पहिलो घटना थियो । राष्ट्रिय समाचार समिति (रासस)ले प्रधानमन्त्रीले अस्पतालबाटै जवाफ दिएको विश्वमै पहिलो घटना भएको जनाएको थियो । नेपाल टेलिभिजनले रेकर्ड गरेको हेर्न विदेशी पत्रकारलाई समेत शिक्षण अस्पताल बोलाइएको थियो । यसको सबै व्यवस्थापन तत्कालीन सञ्चारमन्त्री प्रदीप नेपालले मिलाएका थिए ।
सुरुमा प्रधानमन्त्रीले सम्बोधन पढ्ने र त्यसपछि मन्त्रिमण्डलका मन्त्रीले पढ्न सक्ने सहमति संसदको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको थियो । सोही सहमतिअनुसार अधिकारीले प्रत्युत्तरको ६ पृष्ठ पढेपछि उपप्रधानमन्त्री माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको थियो । एमाले महासचिवसमेत रहेका नेपालले शय्याको छेउमै बसेर बाँकी पृष्ठ पढेका थिए । १ घण्टा २१ मिनेट लामो उक्त सम्बोधन रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण गरिएको थियो । प्रत्युत्तरका क्रममा अधिकारीले आफूलाई संसदले प्रधानमन्त्री बनाएकाले संसदबाट नभाग्ने र त्यहाँबाट भएको निर्णय मान्य हुने बताएका थिए । प्रत्युत्तरमा अधिकारीले अविश्वास प्रस्तावमा आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको जिकिर गरेका थिए । उनले आरोपहरू निराधार र पूर्वाग्रही भएको बताएका थिए । ![[Archive] The no-confidence motion that Manmohan Adhikari faced from his hospital bed...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-26-20122025065107-1000x0.jpg)
पञ्चहरूले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूप्रति लक्षित गर्दै उनले प्रजातन्त्रका नाममा सर्वसत्तावाद लाद्न खोज्नेहरू तथा निरंकुश व्यवस्था सञ्चालनमा बानी परेकाहरूले कसरी प्रजातान्त्रिक आचरणको अनुशरण गर्नुपर्छ भनेर हामीलाई अर्ति उपदेश दिनु स्वयं हास्यास्पद भएको बताएका थिए । उनले कांग्रेसप्रति लक्षित गर्दै भनेका थिए, ‘आफ्नो निजी स्वार्थ पूरा नहुने सम्भावना उत्पन्न हुँदा सार्वजनिक रूपमा ‘मेसिनगन’ चलाउने र राजतन्त्र मास्नेसम्मका धम्कीका भाषण गर्ने नेताहरू रहेको प्रतिपक्षले हामीप्रति संविधान, संसदीय प्रणाली र स्वस्थ राजनीतिक प्रतिस्पर्धाले ‘बाटो बिराउन’ लागेको आरोप लगाउनु स्वयंमा निरर्थक छ ।’
अधिकारीले सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलाप्रति अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाएका थिए । उनले संविधानले शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर्नुका साथै हरेक संवैधानिक निकायको भूमिका र क्षेत्र निर्धारण गरिएको बताएका थिए । संवैधानिक सीमा र क्षेत्रको पुनःसंरचना गर्ने अधिकार जनतासँग मात्र रहेको भन्दै अधिकारीले कार्यपालिकामाथि न्यायपालिकाले हस्तक्षेप गरेको आशय व्यक्त गरेका थिए । उनले मध्यावधि निर्वाचन नहुँदा मुलुकमा अराजकता र अस्थिरता उत्पन्न हुन सक्ने भन्दै राजनीतिक निकास दिन खोज्दा आफूमाथि संसदलाई कमजोर बनाउन खोजेको आरोप लाग्नु गलत भएको तर्क गरेका थिए । उनले आफ्नो नौ महिने कार्यकालमा धेरै राम्रा र जनपक्षीय काम गरेको दाबी पनि गरेका थिए ।
अविश्वास प्रस्तावको पक्षमा १०७ मत
प्रधानमन्त्री अधिकारीले अस्पतालको शय्याबाट प्रत्युत्तर दिएकै दिन २०५२ भदौ २५ मा अविश्वास प्रस्ताव निर्णयार्थ प्रतिनिधिसभामा मतदानका लागि पेस भएको थियो । मतदानमा प्रधानमन्त्री अधिकारी पराजित भएपछि उनले त्यसै दिन राजासमक्ष राजीनामा दिएका दिए । मतदानमा अविश्वास प्रस्तावको पक्षमा १०७ र विपक्षमा ८८ मत परेको थियो । प्रस्तावको पक्षमा कांग्रेसका ८४, राप्रपका १९, नेपाल सद्भावना पार्टीका तीन र स्वतन्त्रका एक सांसदले मत दिएका थिए । अविश्वास प्रस्तावको विपक्षमा एमालेको ८६ र नेकपा (मसाल) को दुई मत परेको थियो । नेपाल मजदुर किसान पार्टीका तीन सांसद अनुपस्थित भए । उक्त अविश्वास प्रस्ताव २०५२ जेठ २७ मा कांग्रेसका ७७ जना सांसदले हस्ताक्षर गरेर दर्ता गराएका थिए । विघटित संसद् पुनर्स्थापना भएपछि विशेष अधिवेशनमा निर्णयार्थ प्रस्तुत गरिएको थियो । अधिकारी २०५१ मंसिर १२ मा प्रधानमन्त्री बनेका थिए । उनले ९ महिना १२ दिन सरकार सञ्चालन गरेका थिए । .
अविश्वास प्रस्ताव पारित भएपछि अधिकारीले दिएको राजिनामा राजाले स्विकृत गरेको, अधिकारीले अस्पतालको शय्याबाटै आफ्नो नौ महिने कार्यकालमा गरेको कामको विवरण सुनाएको र देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेको घटनालाई सन्दर्भ बनाएर पत्रकार तारानाथ दाहालसहितको टिमले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५२ भदौ २६ मा ‘अविश्वास प्रस्तावमा एमाले सरकार पराजित’ मुख्य शीर्षकमा प्रकाशित गरेको थियो । सोही दिन कान्तिपुरले ‘प्रमको प्रत्युत्तरदेखि देउवालाई बधाइसम्म’, ‘अविश्वास प्रस्तावका आरोपहरू निराधार र पूर्वाग्रही’, ‘नेपाली व्यवस्थापिकामा अविश्वासको प्रस्ताव’, ‘प्रजातन्त्रको सुन्दर पक्ष सत्ताको शान्तिपूर्ण हस्तान्तरण’ लगायतका उपशीर्षकमा थप समाचार प्रकाशित गरेको थियो । उक्त दिन कान्तिपुरले प्रधानमन्त्री अधिकारी अस्पतालको शय्यामा सुतिरहेको दृश्य देखिने गरी छेउमा बसेर उपप्रधानमन्त्री तथा एमाले महासचिव नेपालले प्रत्युत्तर भाषण पढ्दै गरेको फोटो पनि भित्री पृष्ठमा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The no-confidence motion that Manmohan Adhikari faced from his hospital bed...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page8kpr-26-photo-20122025065121-1000x0.jpg&w=1001&h=0)