[अर्काइभ] ‘न्यायमूर्तिहरू सच्चिने’ विश्वासमा फिर्ता भएको त्यो महाअभियोग प्रस्ताव...

‘प्याकेजमा डिल’ भएर महाअभियोग प्रस्ताव फिर्ता भएको सभामुख रामचन्द्र पौडेलले बताए पनि एमाले नेताहरूले कुन सर्तमा फिर्ता लिएको हो भन्नेबारे प्रस्ट पारेका थिएनन् ।

पुस १७, २०८२

कान्तिपुर संवाददाता

[Archive] The impeachment motion that was withdrawn in the belief that 'justices will be vindicated'...

What you should know

काठमाडौँ — एमालेले कार्यदक्षतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय र सर्वोच्चका न्यायाधीश सुरेन्द्रप्रसाद सिंहविरुद्ध संसद् सचिवालयमा २०५२ असोज १ मा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो । खासगरी प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनका लागि गरेको सिफारिस सर्वोच्च अदालतले बदर गरेपछि न्यायाधीशहरूको कार्यदक्षता र निष्पक्षतामाथि प्रश्न उठाएर महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो ।

सर्वोच्चले २०५२ भदौ १२ मा संसद् पुनर्स्थापना गरेपछि प्रधानन्यायाधीश उपाध्यायसहितका न्यायाधीशहरूसँग एमाले रुष्ट थियो । फैसला गरेको एक महिना नबित्दै प्रधानन्यायाधीश उपाध्याय २०५२ भदौ ८ बाट निवृत्त भएका थिए । विश्वनाथपछि रोलक्रमअनुसार सिंह प्रधानन्यायाधीश नियुक्त भएका थिए । एमालेले सिंहलाई प्रधानन्यायाधीश नियुक्ति हुनुअगावै महाअभियोग लगाउने योजनाअनुरुप प्रस्ताव दर्ता गरेको थियो । मध्यावधि निर्वाचन रोकेको रिसमा एमालेले सिंहविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको थियो । 

संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावलाई सभामुख रामचन्द्र पौडेलले असान्दर्भिक भन्दै औपचारिक प्रक्रियामै लगेका थिएनन् । तर एमाले सांसदहरूले सभामुख पौडेलले सत्तापक्षलाई साथ दिएको भन्दै महाअभियोग प्रस्तावमाथि छलफल हुनुपर्ने अडान राख्दै आएका थिए । एमालेले प्रतिनिसभामा बेल घेराउ गर्ने, नारा लगाउने, बैठक बहिष्कार गर्ने, तोडफोड गर्ने, मन्त्रीहरूमाथि दुर्व्यवहार गर्ने जस्ता गतिविधि गर्दै आएको थियो । 

महाअभियोग प्रस्ताव छलफल गर्नुपर्ने माग राख्दै झण्डै डेढ महिनासम्म संसद् नियमित रुपमा चल्न सकेन । सत्तापक्षले भने प्रधानन्यायाधीशविरुद्ध राजनीतिक प्रतिशोध लिन महाअभियोग प्रस्ताव ल्याएको बताउँदै आएको थियो । महाअभियोगको विषयमा लामो समयसम्म सत्ता र प्रतिपक्षको अडानका कारण सांसदहरूबीच आरोप–प्रत्यारोप र छेडछाड चलिरह्यो । सरकारको नीति तथा कार्यक्रम, बजेटसम्बन्धी विषयगत छलफलसमेत सहज रुपमा हुन सकेन । [Archive] The impeachment motion that was withdrawn in the belief that 'justices will be vindicated'...

तर एमालेले २०५२ कात्तिक २५ को संसद् बैठकमा न्यायपालिका निष्पक्ष, सम्मानित बनोस्, न्यायमूर्तिहरू चरित्रवान् होऊन् भन्दै महाअभियोग फिर्ता लिने निर्णय सुनाएको थियो । एमाले प्रमुख सचेतक देवीप्रसाद ओझाले संसदमा विशेष समय लिएर जनआन्दोलन २०४६ को सहभागी र विद्यमान संविधान निर्माणमा सक्रिय योगदान पुर्‍याएको भन्दै न्यायक्षेत्रमा सुधारको अपेक्षा गर्दै प्रधानन्यायाधीश सिंहविरुद्धको प्रस्ताव फिर्ता लिएको बताएका थिए । 

सभामुख पौडेलले त्यसअघि नै प्याकेज डिलको आधारमा सहमति भएको बताएका थिए । पौडेलले उक्त सूचना सदनलाई दिएपछि एमाले सांसद तथा प्रमुख सचेतक ओझाले आफ्नो संसदीय दलको बैठकले महाअभियोग प्रस्ताव फिर्ता लिएको बताए थिए । उनले दलको बैठकमा लामो समय छलफल भएर प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको बताएका थिए । डेढ महिनाको विवाद कसरी र के सर्तमा प्रस्ताव फिर्ता भयो, त्यो भने उनले जानकारी दिएनन् । ओझाले पार्टीको संसदीय दलको बैठकमा महाअभियोगसम्बन्धी छलफल गरेर फिर्ता लिने निर्णय गरेको जानकारी सदनलाई दिएका थिए । 

सभामुखले ‘प्याकेजमा डिल’ भएर महाअभियोग प्रस्ताव फिर्ता लिएको बताए पनि एमाले नेताहरूले कुन सर्तमा फिर्ता लिएको हो भन्नेबारे प्रस्ट पारेका थिएनन् । कुनै पनि सर्त नभएको भए लामो समय सदन अघि बढ्न नदिएको परिणाम के त भन्ने प्रश्न उठेको थियो । एमालेले राखेको महाअभियोग प्रस्ताव फिर्ता लिएको विषयमा केन्द्रित भएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५२ कात्तिक २६ मा ‘एमालेद्वारा महाभियोग प्रस्ताव फिर्ता’ शीर्षकमा प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully