[अर्काइभ] अमेरिकी प्रथम महिलालाई काठमाडौंमा देखाइएको त्यो कालो झण्डा !

कालिमाटीतर्फ जाने क्रममा सडकमा शक्ति लम्साल, हिसिला यमीसहित ५० जनाभन्दा बढीको एक समूहले हिलारीलाई कालो झण्डा देखाएको थियो । कालो झण्डा देखाउनेहरू पेरु क्रान्ति समर्थक समितिसम्बद्ध थिए ।

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

[Archive] That black flag shown to the American First Lady in Kathmandu!

What you should know

काठमाडौँ — संयुक्त राज्य अमेरिकाकी प्रथम महिला हिलारी रोधन क्लिन्टन २०५१ चैत १७ मा  नेपाल भ्रमणमा आएकी थिइन् । अमेरिकी प्रथम महिला नेपाल आएको इतिहासमा यो पहिलो थियो । उनी विल क्लिन्टनकी श्रीमती थिइन् । विल क्लिन्टन ४२ वर्षको उमेरमा १९९३–२००१ सम्म अमेरिकाको राष्ट्रिपति निर्वाचित भएका थिए ।

हिलारी दक्षिण एसियाली राष्ट्रको भ्रमणका क्रममा विशेष जेट विमानबाट दिल्ली हुँदै काठमाडौं आएकी थिइन् । हिलारीलाई रानी ऐश्वर्य तथा अधिराजकुमारी श्रुतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । हिलारीको स्वागतका लागि गृहमन्त्री खड्गप्रसाद ओली, श्रीमती राधिका ओली, नेपालका लागि अमेरिकी राजदूत सान्द्रा भोगेलगेसाङ तथा नेपालका उच्च पदस्थ कर्मचारी विमानस्थलमा उपस्थित थिए ।

विमानस्थलमा कडा सुरक्षा थियो भने हिलारी चढ्ने बुलेटप्रुफ गाडी अमेरिकाबाटै ल्याइएको थियो । उनको तस्बिर खिच्न काठमाडौंका सञ्चारकर्मीको भीड थियो । उनको भ्रमणको तस्बिर खिच्न र समाचार संकलन गर्न अमेरिकाकै ह्वाइट हाउस प्रेसका १६ जना पत्रकार हिलारीसँगै नेपाल आएका थिए । 

रानी ऐश्वर्य र हिलारीले झण्डै ३० सेकेन्ड हात मिलाएका थिए । त्यसको पृष्ठभूमिमा खुलेको उपत्यकाको उत्तरतिरका हिमशृंखला मनमोहक देखिन्थे । तर नेपाली पत्रकारले फोटो खिच्न पाएनन् । कारण के थियो भने शिष्टाचार महापाल अगाडि उभिएर छेकेको छेक्यै गरेका थिए । फोटो पत्रकारहरूले चिफ साहेव, चिफ साहेब भन्दै शिष्टाचार महापाललाई अनुरोध गरेर हटाउँदा हटाउँदै शीर्षस्थ महिलाको हात मिलाएको क्षण बितेको थियो । 

फिक्का हरियो कोट र नीलो स्कट लगाएकी हिलारीको कार्यक्रम विमानस्थलबाट कालिमाटीस्थित एउटा स्वास्थ्य क्लिनिङ जाने रहेको थियो । त्यहाँ नेपालमा रहेका अमेरिकी महिलाले २०१/०१६ मा खोलेको उपचार केन्द्रमा क्लिन्टनले सुरक्षित सुत्केरी सामग्री वितरण कार्यक्रमको शुभारम्भ गर्ने योजना रहेको थियो ।[Archive] That black flag shown to the American First Lady in Kathmandu!

कालिमाटीतर्फ जाने क्रममा सडकमा शक्ति लम्साल, हिसिला यमीसहित ५० जनाभन्दा बढीको एक समूहले हिलारीलाई कालो झण्डा देखाएको थियो । कालो झण्डा देखाउनेहरू पेरु क्रान्ति समर्थक समितिसम्बद्ध थिए । नेपालमा पेरु कम्युनिस्ट क्रान्ति समर्थक समिति बनाएर उनीहरू विरोधमा उत्रेका थिए ।

अमेरिकाले पेरुको कम्युनिस्ट आन्दोलनलाई दबाएको भन्दै विरोध गर्ने क्रममा उनीहरूले हिलारीलाई कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाउन उपस्थित भएका धेरै मानिस पक्राउ परेका थिए । तर प्रहरीले भने २३ जनालाई हिरासतमा लिएको जानकारी दिएको थियो । 

सडकमा विरोध भए पनि हिलारी कालिमाटी क्लिनिकमा पुगेकी थिइन् । उनले स्वास्थ्य केन्द्रमा परिवार नियोजनका साधनको प्रयोग, महिला तथा शिशुहरूको स्वास्थ्य, खोपलगायतका विषयमा जानकारी लिएकी थिइन् ।

५० को दशकमा नेपालमा मृत्यु हुने एक लाख महिलामा करिव ८ सय ५० जना असुरक्षित सुत्केरीबाटै हुने तथ्यांक थियो । हिलारीले सुत्केरी गराउन सहज हुने सामग्री हस्तान्तरण गरेकी थिइन् । उक्त सामग्रीले घरमै सुत्केरी हुने र सुडेनीहरूलाई सजिलो पर्ने अपेक्षा गरिएको थियो ।

तत्कालीन श्री ५ को सरकारले स्विकृति प्रदान गरेको नेपालमा उत्पादित सामग्री सफल भएमा दक्षिण एसियामै प्रयोगका लागि उपयोग गर्न सकिने जानकारी अमेरिकी सूचना केन्द्रले दिएको थियो । उपचार केन्द्रमा १२ हजार महिलाले उपचार गराइरहेका थिए ।

पछिल्लो समय मात्र तीन हजार महिलाले नाम लेखाएका थिए । उनले २० जना नेपाली महिलालाई भेटेर उत्पादनका बारेमा जानकारी लिएकी थिइन् । उनले बेलुकी द्वारिकाज भिलेज होटलमा सञ्चारकर्मी, राजनीतिक व्यक्तित्व, गैरसरकारी संस्था र उद्यमीहरूसँग भेटघाट गरेकी थिइन् ।

नेपालमा बहुदलीय व्यवस्था प्राप्त भएको लगभग ५ वर्षपछि विश्वको शक्तिशाली राष्ट्रकी प्रथम महिलाको भ्रमण, हिलारीविरुद्ध कालो झण्डा देखाइएको र उनले असुरक्षित सुत्केरीका विषयमा राखेको चासोलाई समेटेर कान्तिपुर दैनिकले २०५१ चैत १८ मा ‘अमेरिकी प्रथम महिलाको आगमन : व्यस्त दिनचर्या’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully