‘मेरो त प्रष्ट धारणा के छ भने हिजो पञ्चायतमा लागेका मान्छेहरू बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र मान्छौं भनेर सार्वजनिक रूपमा आउँछन् भने हामीले तिनीहरूलाई त्यसै ‘बाइपास’ गर्नु भएन । कम्युनिष्ट पार्टी पनि त तानाशाही सत्ता र वर्गसंघर्ष त्यागेर आएका छन् ।'
What you should know
काठमाडौँ — २०५१ को मध्यावधि निर्वाचनबाट एमालेले अल्पमतको सरकार बनाउने अवसर पाएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा चुनिएका थिए । एमाले सरकार बनेपछि संसद्को आठौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न उठिरहेका थिए ।
खासगरी एमालेले २०४८ को निर्वाचनपछि बनेको नेपाली कांग्रेसको सरकारविरुद्ध लक्षित कार्यक्रमहरू कसरी अघि बढ्ला भन्ने जिज्ञासा सर्वत्र थियो । कर्मचारी आन्दोलन, टनकपुर सन्धि, दासढुंगा दुर्घटना, अरुण तेस्रो जलिविद्युत् आयोजनालगायतका विषय एमालेले त्यतिबेला उठाएका मुख्य सवाल थिए । यी सवालहरूमा तत्कालीन प्रमुख प्रतिपक्षी एमालेले कांग्रेस सरकारलाई प्रश्नैप्रश्न तेर्स्याउँदै आएको थियो ।
मध्यावधि निर्वाचनपछि एमाले सरकारले विगतमा उठाएका उल्लेखित मुद्दाहरूका विषयमा कस्तो धारणा बनायो ? समाधान गर्न चाह्यो कि चाहेन ? राष्ट्रिय मुद्दामा संसद्मा प्रमुख प्रतिपक्षी कांग्रेसको भूमिका कस्तो रह्यो लगायतका प्रश्न स्वाभाविक थियो । यिनै प्रश्नको जवाफ खोज्न कान्तिपुर दैनिकले गरेको कुराकानीका क्रममा संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले एमाले सरकारले मुलुकको सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप गरेको धारणा राखेका थिए । उनले अन्तर्वार्तामा सरकारमाथि विश्वविद्यालय, प्रशासन संयन्त्र, बैंकलगायतका क्षेत्रमा राजनीतीकरण गरेको आरोप लगाएका थिए । कांग्रेसका दोस्रो पुस्ताको नेतृत्व गर्ने अवसर पाएका ४९ वर्षीय देउवाले त्यतिबेला जे जे आरोप सरकारमाथि लगाएका थिए, अहिले ४० वर्षपछि उनले आफैं त्यही आरोप खेपिरहेका छन् । ![[Archive] Deuba today and that interview from 32 years ago](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr1-16112025111410-1000x0.jpg)
कांग्रेसका समकालीन नेताहरूलाई पछि पार्दै दलको नेता सर्वसम्मत रूपमा चुनिने अवसर पाएका देउवाले राष्ट्रिय मुद्दाहरूमा आफूहरूले दबाब दिए पनि सरकारले नटेरेको भनाइ राखेका थिए । प्रमुख प्रतिपक्षको हैसियतमा संसद्मा राष्ट्रिय मुद्दामा बहस नचलाएको र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप देउवामाथि पनि लागेको थियो । तर उनी त्यो मान्न तयार थिएनन् । उनले भनेका थिए, ‘दबाब दियौं, तर सरकारको धेरै धज्जी उडाउने पक्षमा थिएनौं ।’ एमालेको अल्पमतको सरकारलाई कांग्रेसले विश्वासको मत दिएको थियो । अन्तर्वार्तामा देउवाले टनकपुर, अरुण तेस्रो, दासढुंगा दुर्घटना जस्ता विषयमा एमाले सरकार प्रस्ट नभएको आरोप लगाएका थिए ।
गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा गृहमन्त्री भएका देउवाले पार्टीमा ३६ से समूहले गरेको असहयोगलाई सैद्धान्तिक झगडा नभएको बताएका थिए । उनले गिरिजाप्रसादलाई सोझो, असल, निडर र द्दृढ नेताको संज्ञा दिएका थिए । उनले ३६ से समूहलाई अन्याय नभएको पनि बताएका थिए । मध्यावधि निर्वाचन घोषणा गर्ने प्रस्तावको सभापति कृष्णप्रसाद भट्टराइले विरोध जनाएको तर आफूले समर्थन गरेको भनाइ उनको थियो । उनले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अस्विकार गरेका थिए । उनले भनेका थिए, 'संसद् राम्रोसँग चलिरहेको छ, प्रभावकारी ढंगले हामी प्रस्तुत भइरहेका छौं ।’
संसदीय समिति गठनका क्रममा प्रमुख प्रतिपक्षले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप देउवामाथि लागेको थियो । तर उनले यसको प्रतिवाद गर्दै भनेका थिए, ‘लेखा समितिको सभापतिको सवालमा सद्भावना पार्टीका एक जना सांसदले धोका दिएका कारण हामी कमजोर देखिएका हौं । यद्यपि उम्मेदवारी नै नदिनु हाम्रो गल्ती भएको हो ।’ त्यतिबेला संसद्को लेखा समितिको सभापति सद्भावना पार्टीका हृदयेश त्रिपाठी निर्विरोध भएका थिए । ![[Archive] Deuba today and that interview from 32 years ago](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page3kpr-16112025112748-1000x0.jpg)
राष्ट्रिय प्रजातन्त्र पाटीसँग गठबन्धन गरेकामा देउवाले त्यसलाई स्वाभाविक भनेका थिए । ‘मेरो त प्रष्ट धारणा के छ भने हिजो पञ्चायतमा लागेका मान्छेहरू बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र मान्छौं भनेर सार्वजनिक रूपमा आउँछन् भने हामीले तिनीहरूलाई त्यसै ‘बाइपास’ गर्नु भएन । कम्युनिष्ट पार्टी पनि त तानाशाही सत्ता र वर्गसंघर्ष त्यागेर आएका छन् । हामीले तिनलाई समर्थन दिएका छौं,’ देउवाले भनेका थिए । अल्पमतको एमालेको सरकार उल्टो बाटो हिँडेको बताउँदै उनले कांग्रेसले सुरु गरेको आर्थिक उदारीकरणलाई भत्काउन नहुने बताएका थिए ।
शाही नेपाल वायु सेवा निगममा भएको भ्रष्टाचारको विषय राजनीतिक प्रोपगाण्डा भएको र विरोधका लागि विरोध गरिएको धारणा उनको थियो । त्यतिबेला वायु सेवा निगमसँग जोडिएको ‘धमिजा काण्ड’ को प्रतिवेदन तयार भएको थियो । उक्त विषय संसद्मा प्रवेश गरेको थियो । २०५० मा गिरिजाप्रसादको नाम जोडेर धमिजा काण्ड चर्चामा थियो । भारतसँग १९९५० मा भएको सन्धिको पुनरावलोकन गर्ने विषय उठाएकामा देउवाले असन्तुष्टि जनाएका थिए । उनले भनेका थिए, ‘यो धेरै खतरनाक सवाल हो ।’
नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टीको सरकार बनेको पृष्ठभूमिमा संसद्मा प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको धारणा बुझ्न पत्रकार नारायण वाग्लेले देउवासँग लिएको अन्तर्वार्तालाई कान्तिपुर दैनिकले २०५१ फागुन १२ मा ‘मैले नसकेको भनेको के हो ? मैले बुझ्न सकेको छैन’ शीर्षकमा प्रकाशित गरेको थियो ।
३२ वर्षअघि राजनीतिको निर्णायक भूमिकामा रहेका देउवा अहिले पनि त्यतिकै महत्त्वपूर्ण स्थानमा छन् । उनले प्रमुख प्रतिपक्षमा रहँदा उतिबेला उठाएका मुद्दा अहिले पनि समाधान भएका छैनन् । बरू तिनलाई बढावा दिने काममा देउवा पुस्तामाथि दोष थुपारिने परिस्थिति बनेको छ ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Deuba today and that interview from 32 years ago](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/deuba-10102021043831-2932025082400-1000x0.jpg&w=1001&h=0)