[अर्काइभ] विदेशी मुद्रा भित्र्याउने उद्योग यसरी परेको थियो संकटमा

गार्मेन्टले विदेशी मुद्रा आर्जन गरेको मात्र होइन, ठूलो संख्यामा रोजगारीसमेत सिर्जना गरेको थियो । तर बैंक ग्यारेन्टी, मजदुरहरूको सुविधा वृद्धि, उद्योगलाई आवश्यक इक्वुमेन्टमा भन्सार छुट नहुनु जस्ता कारणले तयारी गार्मेन्ट उद्योग बिस्तारै धराशयी हुने चिन्ता सुरु भएको थियो ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

[Archive] This is how the foreign exchange earning industry was in crisis

What you should know

काठमाडौँ — ५० को दशकमा नेपालको निर्यात व्यापारको हिस्सा मुख्यतः गलैंचा, तयारी पोसाक र पस्मिनाले ओगटेको थियो । तयारी पोसाक (गार्मेन्ट) दोस्रो स्थानमा थियो । त्यसमा पनि अमेरिकाले दिएको कोटा प्रणालीको सुविधाका कारण गार्मेन्टको निर्यात उत्साहजनक थियो ।

२०४६ को परिवर्तनपछि सरकारले अपनाएको खुला बजार अर्थतन्त्रका कारण बैंकको ऋण लगानी गरेर उद्योग खुल्न सुरु गरिएको थियो ।

झापामा मोमेन्टोज एप्पेरल्स तयारी कपडा (गार्मेन्ट) उद्योग २५ करोडको लागतमा स्थापना गरिएको थियो । उक्त उद्योगको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ जेठ १८ मा उद्घाटन गरेका थिए । मोमेन्टोजमा मात्र सयौंले रोजगारी पाएका थिए । 

आव २०५०/०५१ मा कुल निर्यात व्यापारको झण्डै ३१ प्रतिशत हिस्सा नेपालमा उत्पादन भएको गार्मेन्टले ओगटेको थियो । उक्त आर्थिक वर्षमा ५ अर्ब ९४ करोड ३२ लाख रुपियाँको गार्मेन्ट निर्यात भएको थियो । आर्थिक वर्ष २०५०/०५१ मा अमेरिकाले मात्र ३ अर्ब २५ करोड ८३ लाख बराबरको गार्मेन्ट खरिद गरेको थियो । जबकि त्यतिबेला अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने नेपालको कुल वार्षिक बजेट नै ४० देखि ४५ अर्बको हाराहारीमा हुन्थ्यो ।

गार्मेन्टले विदेशी मुद्रा आर्जन गरेको मात्र होइन, ठूलो संख्यामा रोजगारीसमेत सिर्जना गरेको थियो । तर बैंक ग्यारेन्टी, मजदुरहरूको सुविधा वृद्धि, उद्योगलाई आवश्यक इक्वुमेन्टमा भन्सार छुट नहुनु जस्ता कारणले तयारी गार्मेन्ट उद्योग बिस्तारै धराशयी हुने चिन्ता सुरु भएको थियो । त्यसमा पनि २००५ देखि अमेरिकाले दिने कोटा प्रणाली हटाउने तयारी गरिएको थियो । मल्टी फाइवर सम्झौता (एएफए) अनुसार पाएको सुविधालाई अमेरिकाले पूर्ण रुपमा हटाउने तयारी गरिएको थियो ।

यी सवै कारणले नेपालमा उत्पादित गार्मेन्ट विश्व बजारमा महँगो हुने अवस्था सिर्जना भएको थियो । नेपाल नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष चण्डीराज ढकालले सरकारले संरक्षण नगर्ने हो भने नेपाली उत्पादन २५ प्रतिशत महँगो हुने बताएका थिए । आव २०५१/०५२ देखि गार्मेन्टमा पनि व्यापार तथा महसुलसम्बन्धी महासन्धि (ग्याट) लागू भइसकेको थियो ।[Archive] This is how the foreign exchange earning industry was in crisis

दक्षिण एसियाली मुलुकहरूमा गार्मेन्ट कपडाको उत्पादन लागत त्यतिबेला १५ देखि १६ प्रतिशत बढिरहेको अनुमान थियो । त्यसमा पनि सरकारी नीति, अन्तर्राष्ट्रिय बजार, सन्धि/महासन्धि र विभिन्न शीर्षकमा दिइंदै आएको सुविधा कटौतीका कारण नेपाली उद्यमीले सरकारबाट संरक्षण खोजिरहेका थिए । उद्योगीहरूले गार्मेन्ट उद्योगको संरक्षणका लागि ग्याटपूर्व बजार र मूल्य प्रतिस्पर्धाको पूर्वाधार विकास गर्नुपर्ने माग गरिरहेका थिए ।

उद्योगको संरक्षणका लागि राष्ट्र बैंकले भने उद्योगीहरूको मागअनुसार नै रिभल्विङ बैंक ग्यारेन्टी र डलर एलसी खोल्न राजी भएको थियो । उद्योगीहरूले भने भारतले आफ्नो उद्योगको संरक्षणका लागि सरकारी सुविधा दिएर पूर्वाधारको व्यवस्थापन पनि मिलाएको बताउने गरेका थिए ।

नेपाली उत्पादनले भारतसँग पनि विश्व बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले गार्मेन्ट उद्योग संकटमा पर्नुको अर्को कारण थियो । उद्योगीले नेपालमा परम्परागत नेपाली गार्मेन्टको उत्पादन र निर्यातको सम्भावना रहे पनि कच्चा पदार्थको अभाव रहेको बताउँदै आएका थिए ।

छिमेकी मुलुकको भन्दा महँगो मूल्यमा हुने उत्पादन बिक्री गर्न नसकिने चिन्ता व्यवसायीमा थियो । नेपालमा गार्मेन्ट उद्योगले निर्यात व्यापारमा पुर्‍याएको योगदान, यसबाट मुलुकलाई हुने विदेशी मुद्रा आर्जन, गार्मेन्ट उद्योग बचाई राख्न व्यवसायीले खोजेको नीतिलगायतका विषयमा केन्द्रित भएर कान्तिपुर दैनिकले २०५१ फागुन १७ गते ‘तयारी पोसाक उद्योग संकटमा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully