बच्चाको पेटको सालभित्र भ्रुणको विकास भइरहेको र त्यो सुनौलो रंगको भ्रुणले बालक सूर्यप्रकाशको रगत चुसिरहेको हुन सक्ने चिकित्सकको अनुमान थियो । उक्त भ्रुण रहेको थैली आमाको परिवर्तित साल भएको चिकित्सकले बताएका थिए ।
What you should know
काठमाडौँ — तीन महिनाको बच्चाको पेटमा अर्को बच्चा ! सुन्दै पनि अपत्यारिलो लाग्ने ३२ वर्षअघिको उक्त घटना कान्ति बाल अस्पतलमा देखिएको थियो । सालनालसहित हातखुट्टा र मेरुदण्डसहितको शरीर विकसित भएको छोराका रूपमा रहेको उक्त बच्चा भेटिएपछि चिकित्सकहरूले यसलाई विश्वमा हुने एक–दुईवटा घटनामध्येको भएको बताएका थिए ।
तीन महिनाको एक बच्चा कान्ति बाल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । शल्यक्रिया गरेर अचम्मको बच्चा निकालिएको थियो । शल्यक्रिया गरिएका तीन महिनाका सूर्यलाल खुलालको स्वास्थ्यमा भने सुधार भयो । खुलाल बारास्थित आफ्नै घरमा निजगढ रोड टोलमा २०५१ असोज १७ मा जन्मेका थिए ।
खुलालका बुवा/आमा खड्गबहादुर खुलाल र लक्ष्मीले बच्चा जन्मदा पेट केही ठूलो भएको बताएका थिए । ‘दूध खुवाएपछि पेट बढ्न थाल्यो । उसले दूध खाइरहन्थ्यो,’ आमा खुलालले भनेकी थिइन् । दुध खुवाएपछि पेट फुल्ने र ढाडसम्म पुग्ने भएकाले बच्चालाई वीरगन्जस्थित चिकित्सक कृष्णकुमार अग्रवालकहाँ पुर्याइएको थियो । अग्रवालले पेटभित्र मासु पलाएको अनुमान गरेर मेघाकोलन भन्ने रोग लागेकाले काठमाडौं लगेर शल्यक्रिया गर्न सुझाएका थिए ।
काठमाडौंस्थित बाल अस्पतालमा भर्ना गरेको ९ दिनपछि मात्र चिकित्सक केशवबहादुर राजभण्डारी र कृष्णप्रसाद देवकोटाले स्वास्थ्य परीक्षण गरेका थिए । उनीहरूले मृगौलाको एक्सरे गरेपछि बालकको पेटमा पानीको थैलो भएको र त्यहाँ मासुको डल्लो रहेको अनुमान गरेका थिए । शल्यक्रियाका क्रममा बच्चाको पेटमा बच्चा नै फेला परेपछि चिकित्सहरू पनि अचम्मित भएका थिए । ![[Archive] That event, new to medical science...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-9-15-07112025091931-1000x0.jpg)
शल्यक्रियामा सहभागी सर्जन देवकोटाले भने, ‘यस्ता घटना विश्वमा बिरलै हुने गर्छन् ।’ विश्वमा यस्ता घटना एक–दुईवटा मात्र पाइने जानकारी देवकोटाले दिएका थिए । बच्चाको पेटको सालभित्र भ्रुणको विकास भएको उनले बताए । सुनौलो रंगको उक्त भ्रुणले बालक सूर्यप्रकाशको रगत चुसिरहेको हुन सक्ने अनुमान गरेका थिए । उक्त भ्रुण रहेको थैली आमाको परिवर्तित साल भएको उनले बताएका थिए ।
यो अहिलेसम्मको चिकित्सा विज्ञानका लागि नौलो भएको चिकित्सकहरूले बताएका थिए । उनीहरूले भ्रुण नझिएको भए बढ्दै गएर बच्चालाई खतरा हुने बताएका थिए । भ्रुणको तौल करिव तीन सय ग्रामको थियो । भ्रुणलाई अध्ययनका लागि अस्पतालमा राखिने देवकोटाले जानकारी गराए ।
भ्रुणलाई सीसीमा फर्मालिन भन्ने रसायन झोलमा डुबाएर राखिएको थियो । करिब ५ वर्षअघि पनि चार महिनाको बच्चाको पेटबाट यस्तै भ्रुण निकालिएको अस्पतालले जनाएको थियो । चिकित्सा विज्ञानमा देखिएको उक्त अचम्मलाग्दो घटनामा केन्द्रित रहेर पत्रकार विश्वमणि पोखरेलले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५१ पुस १५ मा ‘बच्चाको पेटभित्र बच्चा’ शीर्षकमा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That event, new to medical science...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/abdominal-pain-07112025093250-1000x0.jpg&w=1001&h=0)