[अर्काइभ] देउवामाथि नेपालकै पहिलो महिला मन्त्रीले लगाएको त्यो आरोप...

‘शेरबहादुर देउवाले सुदूरपश्चिममा टिकट पाउने खालको स्वास्नीमान्छे नै छैनन् भनेर भड्काएछन् । दारु खानेलाई चुनावको टिकट दिएछन् ।’

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

[Archive] The accusation made against Deuba by Nepal's first female minister...

What you should know

काठमाडौँ — ‘पढ्न लेख्न नदिने जमाना थियो । त्यतिबेला पनि मैले शास्त्री पास गरेकी थिएा । ००७ सालमा सुदूरपश्चिममा भीमदत्त पन्तले क्रान्ति सुरु गरे । क्रान्तिमा लागेकाहरूलाई सातासम्म मुसलले धान कुटी, कुटी ख्वाएँ,’ बीपी कोइरालाको मन्त्रिमण्डलकी महिला सदस्य द्वारिकादेवी ठकुरानीले राणा शासनविरुद्धको क्रान्तिको स्मरण गर्दै भनेकी थिइन्, ‘२००३ सालमा श्रीमान् उद्धवबहादुर चन्दसँगै काठमाडौं गएर बीपीको हातबाट कांग्रेसको सदस्यता लिएकी हुँ ।’

२०१५ मा कांग्रेसले मुलुकभर खडा गरेको ७ जना महिला उम्मेदवारमध्ये ठकुरानीले मात्र निर्वाचन क्षेत्र ६६ डडेल्धुराबाट चुनाव जितेकी थिइन् । उनको २०५९ पुसमा ८९ वर्षको उमेरमा निधन भइसकेको छ तर उनले भोगेको र सम्झेको नेपालको प्रजातान्त्रिक आन्दोलनको राजनीतिक इतिहास नयाँ पुस्ताका लागि निकै रोचक र अनुकरणीय छ । 

मुलुककै पहिलो महिला मन्त्री ठकुरानीले २०५१ कात्तिकको मध्यावधि निर्वाचनभन्दा केही दिनअघि कान्तिपुर दैनिकका पत्रकार नारायण वाग्लेसँग गरेको कुराकानी निकै रोचक मात्र थिएन, प्रजातान्त्रिक आन्दोलनको जिउँदो इतिहासको स्मरण पनि थियो । ठकुरानीकै घर बैतडीको कुन्थला केशरपुरमा भएको उक्त कुराकानीका क्रममा उनले आफू सावित्री र पार्टी सत्यवान् भएको बताएकी थइन् ।

कुराकानीका बेला ८० वर्ष पुगेकी ठकुरानीले भनेकी थिइन्, ‘अहिले(०५१) मा त क्रान्तिकारी छवि भएको कांग्रेस लथालिंग भएको देख्दा मेरो मन भरङ्ग हुन्छ । शेरबहादुर देउवाले सुदूरपश्चिममा टिकट पाउने खालको स्वास्नीमान्छे नै छैनन् भनेर भड्काएछन् । दारु खानेलाई चुनावको टिकट दिएछन् ।’ 

सत्तामा पुगेको कांग्रेसले तीन वर्ष के गर्‍यो भन्दै जनताले प्रश्न गरेको स्मरण गराउँदै उनले क्रान्किालीन स्मरण सुनाएकी थिइन् । उनले ५० को दशकका नेताहरूले बीपीलाई सम्झनुपर्ने सुझाएकी थिइन् । २००८ को प्रसंग कोट्याएर कांग्रेसबाट मातृकाप्रसाद कोइरालालाई हटाउने विषयमा गणेशमान र बीपीबीच नै भएका नोकझोकको प्रत्यक्षदर्शी थिइन् ठकुरानी ।

पूर्वमन्त्री ठकुरानीले त्यतिबेलाको दुई नेताको भनाभन सम्झँदै ४३ वर्षअघिको घटनालाई यसरी सुनाएकी थिइन्, ‘पार्टीबाट मातृकाप्रसादलाई निकाल्न भनेर अरू धेरै साथीले लाम लागेर ए सान्दाजु मातृकालाई निकाल’ भन्ने आग्रह गरेका थिए । बीपी अलमलमा परिरहेका बेला गणेशमानले झम्टिँदै सोधे, ‘पार्टीभित्र आचारसंहिता छ कि छैन ?’ बीपीले छिट्टै उत्तर दिएर भन्नुभएको थियो, ‘छ नि ।’ उत्तर सुनेर गणेशमानले फेरि झम्टिए । गणेशमानले भनेका थिए, ‘छ भन्छ काठो लागू गर्दैन ।’ म काठो तँ के त ? बीपी जंगिनुभयो ।’ ठकुराठीले सम्झिछिन्, ‘मुख फोराफोर भयो । मुखको झगडा एकै छिनमा सकियो ।’[Archive] The accusation made against Deuba by Nepal's first female minister...

अरू जातले बाहुनलाई हियाएर भन्ने शब्द काठो हो । यसलाई गालीका रूपमा बुझ्ने चलन अहिले पनि रहेको छ । ठकुरानीले भनिन्, ‘त्यतिबेलाका जस्ता नेता अहिले छैनन् । अहिलेका नेताहरू असहिष्णु भएर गए । त्यस्तो स्थिति अहिले २०५१ मा छँदै छैन ।’ ठकुरानीले इतिहास सुनाउँदै भनेकी थिइन्, ‘ज्ञानेश्वर गल्लीमा प्रहरीले बीपीलाई पक्रन खोजेको थियो । एनडी प्रकाश चटौतले हामीलाई त्यहाँ लगेका थिए । बीपीले हतारमा सानो स्वरले सोध्नु भयो, ‘उहाँहरू को ?’ चटौतले नाता बताएपछि बीपीले तेरी दिदी मेरो पनि दिदी, तेरा भिनाजु मेरो पनि भिनाजु भनेका थिए ।’ 

२००१ मा काठमाडौं गएर ००३ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएको बताउने ठकुरानीले बीपीले हामीलाई पार्टी सदस्य हुन डर देखाएको स्मरण गरेकी थिइन् । ‘सरकारले थुन्छ भन्नुहुन्थ्यो । हाम्रो अनुरोध स्विकारेर पार्टी सदस्यता दिनुभएको थियो । त्यसपछि उहाँ पक्राउ पर्नुभयो,’ उनले यसरी घटना बताएकी थिइन् ।

क्रान्तिकारीकालीन घटना सुनाउँदै ठकुरानीले कान्तिपुरलाई बताए अनुसार उनका श्रीमान् उद्धवबहादुर एक दिन बीपीलाई भेट्न जेल गएका थिए । भेटेर फर्केपछि त्यहाँ देखेको विषयलाई उद्धवले श्रीमती ठकुरानीलाई यसरी सुनाएका थिए, ‘थुनामा बीपी बोलिरहनु भा’को छ । पछ्यौरा ओढ्नु भा’छ । अनुहार चिन्तित हो कि प्रसन्न हो छ्ट्युाउनै गाह्रो छ ।’ 

आफ्नो श्रीमानले बताएको प्रसंग सम्झेर ठकुरानीले भनेकी थिइन्, ‘यस्तो क्रान्तिकारी पार्टीको अवस्था कमजोर बन्दै गएको प्रति चिन्तित छु । कुराकानीका क्रममा उनले भनेकी थिइन्, ‘म त पहाडको मान्छे, प्लेन साइड (तराई) को जस्तो होइन, मौकाको रोटी खान्छु । फाटेको धोती लगाउँछु ।’ उनले ००७ सालमा भीमदत्तले आन्दोलन सुरु गरे पनि उनी मारिएको दुःखद प्रसंग कोट्याउँदै भनेकी थिइन्, ‘श्रीमान् ०१० सालमा बित्नुभयो । मेरो एउटै छोरो पनि बित्यो । मेरा भतिजा मीनबहादुर चन्दलाई पञ्चायतकालमा मारियो ।’

०१७/०१८ सालमा ठकुरानीको सबै सम्पत्ति सर्वस्वहरण भएको थियो । उनले ०५० सालमा सर्वस्वहरणबापत २ लाख पाएकी थिइन् । उनले २०४६ को परिवर्तनपछि निर्वाचन लड्ने वा राष्ट्रियसभामा जाने इच्छा गरेकी थिइन् । तर पार्टीले उनलाई अवसर दिएन । त्यसैले उनले गुनासो गरेकी थिइन, ‘दुर्गादत्त जोशीलाई अप्पर हाउसमा लगे, अमेरिका पनि पठाए । यसपालि (२०५१ को मध्यावधि) बैतडी–२ बाट टिकट पनि दिए । मैले के बिगारेको रहेछु कुन्नि ?’

ठकुरानीका भजिता सुरेन्द्रबहादुर चन्द कांग्रेसको विद्रोही उम्मेदवारका रूपमा खडा भएका थिए । उनी गिरिजाबाबु लबीका थिए । ठकुरानीले भने उक्त निर्वाचनमा धेरै चासो गरेर प्रचार प्रचारमा हिँडेकी थिइन् । उनले गणेशमान लबीकी विद्रोही दिव्यश्वरी शाहलाई समर्थन गरेकी थिइन् । उनले धनगढीमा आयोजित चुनावी सभामा महिला उम्मेदवार शाहको पक्षमा भएको चुनावी सभाको अध्यक्षतामा गरेकी थिइन् । 

उनले काठमाडौंमा नेताहरू भेट्न गएको प्रसंग झिक्दै अनुभव सुनाएकी थिइन् । ‘काठमाडौं गए भने भट्टराई (किसुनजी) हाँस्दै सोध्छन् दिदी किन आउनुभयो ?’ जब म केही भन्न लाग्छु, ल अब बाथरुम गएर आउँछु अनि सुनौंला भनेर भाग्छन् । पार्टी कार्यालयमा निधि (तत्कालीन महामन्त्री महेन्द्रनारायण) आउँछन्, उनी त झन् मजस्तै छन् कान नसुन्ने, ल मलाई यहाँ काम गर्नुछ भने मलाई बाहिर पठाउँछन्,’ ठकुरानीले अनुभवलाई यसरी सुनाएकी थिइन् ।

उनले मध्यावधि निर्वाचनअघि कांग्रेसले पुराना कार्यकर्ताको सुझाव लिन छाडेको गुनासो गरेकी थिइन् । उनले पार्टी नेताहरूप्रति अविश्वास राख्दै अब काठमाडौं कहिल्यै नजाने प्रण पनि कान्तिपुरसँग सुनाएकी थिइन् ।

राणाकालीन समयदेखि ५० को दशकसम्मको इतिहासकी साक्षी ठकुरानीसँग पत्रकार वाग्लेले गरेको कुराकानीमा आधारित विषयलाई कान्तिपुर दैनिकले २०५१ मंसिर १३ गते  ‘नेपालकी प्रथम महिला मन्त्री अब काठमाडौं नजाने’ शीर्षकमा बैतडी डेटलाइनमा प्रकाशित गरेको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully