कांग्रेसका लागि ज्यानै आहुती दिन तयार भएका सुवेदी गिरिजाप्रसादविरुद्ध उम्मेदवारी दिन तयार हुनु नै निर्वाचनका हिसाबले पार्टीका लागि राम्रो सन्देश थिएन । कांग्रेस त्यागेको घोषणा गरेका गणेशमान र प्रधानमन्त्री कोइरालाबीचको द्वन्द्वले यो अवस्था आएको थियो ।
What you should know
काठमाडौँ — २०३० जेठ २८ गते । नेपाली कांग्रेसले पञ्चायती व्यवस्थाविरुद्धको सशस्त्र संघर्षमा जहाज अपहरण गरेर विराटनगरबाट काठमाडौं ल्याउन लागिएको ठूलो रकम कब्जामा लिएको घटनाका एक पात्र थिए– दुर्गा सुवेदी । बीपी कोइरालाले पार्टीले सुरु गर्न लागेको क्रान्तिका लागि आर्थिक अभाव महसुस गरेपछि सरकारी रकम हात पार्न जहाज अपहरणको प्रपञ्च रचिएको थियो ।
जहाज अपहरण कार्यान्वयन गराउन गिरिजाप्रसाद कोइराला पनि भारतमा बसेर समग्र कमान्ड सम्हाालिरहेका थिए । उनको योजनाअनुसार विराटनगरबाट काठमाडौं ल्याउन लागेको भारु. ३० लाख बोकेको विमानलाई भारतको फरबिसगन्ज अवतरण गराइएको थियो । सुवेदी, बसन्त भट्टराई र नगेन्द्र ढुंगेलले विराटनगरबाट काठमाडौंका लागि उडेको ट्विनअटर विमानलाई फरबिसगन्जको घाँसे मैदानमा अवतरण गराएर रकम गन्तव्यमा पुर्याएका थिए । विमान अपहरणको इतिहासमा सुवेदी, भट्टराई र ढुंगेललाई प्रमुख पात्रका रुपमा चित्रण गरिँदै आएको छ ।
कांग्रेसको संघर्षमा अग्रपंक्तिमा रहेका तीनै तीन जनामध्येका सुवेदी २०५१ मध्यावधि निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा विमान अपहरणको समग्र कमान्डर गिरिजाप्रसादका विरुद्ध खडा भए । कांग्रेसको आन्दोलनमा ज्यानै जोखिममा राखेर मैदानमा उत्रिएका सुवदीले मध्यावधि निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएर कोइरालालाई चुनौती दिएका थिए । उनी मोरङ–१ बाट कांग्रेसको विद्रोही उम्मेदवारका रुपमा कोइरालाविरुद्ध खडा भएका थिए । उनले २०५१ कात्तिक २७ मा हुने मध्यावधि निर्वाचनमा प्रधानमन्त्री कोइरालालाई हराएरै छाड्ने दाबीसमेत गरेका थिए ।
कांग्रेसले चलाएको क्रान्तिमा समावेश भएर आजीवन करावासको सजाय सुनाइएका सुवेदीकी श्रीमती सुशीला जेन–जी आन्दोलनको बलमा स्थापित अन्तरिम सरकारको प्रधानमन्त्री भएकी छन् । त्यसैले पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई कांग्रेसी पृष्ठभूमिबाट आएको व्यक्तिका रूपमा चित्रण गरिँदै आएको छ । ![[Archive] That Rebellion of Durga Subedi...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051616-07102025082341-1000x0.jpg)
कांग्रेसभित्रको चरम असन्तुष्टिका बेला मध्यावधि निर्वाचनमा मुलुकभर नै पार्टीकै विद्रोही उम्मेदवार खडा गरिएको थियो । कोइराला मोरङ र सुनसरीबाट उम्मेदवार बनेका थिए । उनका विरुद्ध सुनसरी– ५ मा पनि लक्ष्मी साहु र कृष्ण शर्माले स्वतन्त्र उम्मेदवारी दिएका थिए । खासगरी पार्टीका सर्वोच्च नेता गणेशमान सिंहले पार्टी परित्यागको घोषण गरेको र जिल्ला/जिल्लामा गुट, उपगुट खडा भएको अवस्थामा विद्रोही उम्मेदवारको लहरै चलेको थियो । शैलाज आचार्यविरुद्ध उमेश गिरी, विजय गच्छदारविरुद्ध हरि लम्साल विद्रोही उम्मेदवारका रुपमा खडा भएका थिए । मोरङका सबैजसो निर्वाचन क्षेत्रमा स्वतन्त्रका नाममा कांग्रेसबाटै विद्रोही उम्मेदवार खडा भएका थिए । झापामा चक्र बास्तोलाविरुद्ध विमल पोखरेल खडा भएका थिए । पर्सामा सुरेन्द्र चौधरी, आत्मराम ओझा र रामचन्द्र कुशबाह, दाङमा खुमबहादुर खड्काविरुद्ध विद्रोही उम्मेदवार खडा भएका थिए ।
खासगरी प्रधानमन्त्री कोइरालाप्रति असन्तुष्टि राख्नेहरू विद्रोही उम्मेदवारका रुपमा खडा भएका थिए । कोइराला निकट उम्मेदवारहरूविरुद्ध पनि धमाधम कांग्रेस कार्यकर्ताले नै उम्मेदवारी दिन थालेपछि ३६ से समूहको रुपमा चिनिएका चिरञ्जीवी वाग्लेलगायतका उम्मेदवारहरूविरुद्ध पनि विद्रोही खडा गरिएको थियो । सल्यान, धादिङ, बाँके, कपिलवस्तु, जाजरकोट, भक्तपुर, ललितपुर धादिङलगायतका जिल्लामा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही खडा भएका थिए । पार्टीभित्रको गुटका कारण विद्रोही उम्मेदवारको लहर नै चलेको थियो । कतिपय जिल्लामा नेपाली कांग्रेस विशेश्वर पार्टीका नामबाट पनि उम्मेदवारी दर्ता गरिएको थियो । कांग्रेसमा विद्रोहको लहर नै चलेको थियो ।
कांग्रेसका लागि ज्यानै आहुती दिन तयार भएका सुवेदी गिरिजाप्रसादविरुद्ध उम्मेदवारी दिन तयार हुनु नै निर्वाचनका हिसाबले पार्टीका लागि राम्रो सन्देश थिएन । कांग्रेस त्यागेको घोषणा गरेका गणेशमान र प्रधानमन्त्री कोइरालाबीचको द्वन्द्वले यो अवस्था आएको थियो । यिनै विषयलाई समेटेर कान्तिपुरले ‘प्रधानमन्त्रीलगायतकाविरुद्ध विद्रोही’ शीर्षकमा २०५१ असोज १६ मा समाचार प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That Rebellion of Durga Subedi...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/capture-07102025082320-1000x0.jpg&w=1001&h=0)