नेताहरूले चुनाव लड्ने स्वतन्त्रता पाए पनि गणेशमानले कांग्रेस छोड्ने घोषणा गरेपछि पार्टीलाई निकै ठूलो घाटा हुने चिन्ता बढेको थियो ।
What you should know
काठमाडौँ — सर्वोच्च अदालतको फैसलाले मुलुक मध्यावधि निर्वाचनमा होमिने निश्चित भएको थियो । नेपाली कांग्रेसमा भने शीर्ष नेता चुनावमा नजाने निर्णय अघिल्लो महिनामै भएको थियो । २०५१ साउन १२ मा भएको उक्त निर्णयका कारण नेताहरू अप्ठेरोमा परेका थिए ।
सर्वोच्चले मध्यावधि निर्वाचन सुनिश्चित गरेपछि कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले पार्टी छाडेको घोषणा गरेका थिए । सर्वोच्चले प्रतिनिधिसभा विघटनको रिट खारेज गरेका दिन २०५१ भदौ २७ मा गणेशमानले पनि कांग्रेसबाट अलग भएको घोषणा कान्तिपुर दैनिकमार्फत नै गरेका थिए । एकातिर शीर्ष नेता निर्वाचनमा उम्मेदवार नबन्ने र अर्कातर्फ गणेशमानको कांग्रेस त्यागेको घोषणाले पार्टीमा निकै ठूलो हंगामा भएको थियो । यसले मिध्यावधि निर्वाचनमा पार्टीलाई क्षति हुन सक्ने अनुमान गरिएको थियो ।
२०५१ भदौ २९ मा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चुनाव नलड्ने निर्णयले आफू अप्ठेरोमा परेको बताएका थिए । आफ्नो नेतृत्वमा चुनाव हुने तर उम्मेदवार नबन्ने निर्णयलाई विपक्षीले समेत ‘इस्यु’ बनाएको धारणा उनले केन्द्रीय समितिमा राखेका थिए । उनले धारणा राखेपछि अघिल्लो महिनामा गरेको निर्णय रद्द गरिएको थियो । केन्द्रीय समितिले सबै नेतालाई चुनाव लड्न नरोक्ने निर्णय गरेको थियो ।
नेताहरूले चुनाव लड्ने स्वतन्त्रता पाए पनि गणेशमानले कांग्रेस छोड्ने घोषणा गरेपछि पार्टीलाई निकै ठूलो घाटा हुने चिन्ता बढेको थियो । उक्त विषय केन्द्रीय समितिमा छलफल भएको थियो । केन्द्रीय समिति बैठकका दिन बिहान सभापति कृष्णप्रसाद भट्टराई, नेताहरू रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्यले खुमलटारस्थित निवासमा गणेशमानलाई भेटेका थिए । लामो समय बिरामी परेर थलिएका गणेशमान वीर अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो निजी निवास चाक्सिबारी नगएर खुमलटार बस्दै आएका थिए ।![[Archive] After Ganeshman announced to quit Congress...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-5-30-02102025045745-1000x0.jpg)
खुमलटारमा कृष्णप्रसादसहितका नेताहरूले गणेशमानसँग लामो छलफल गरेका थिए । छलफलका क्रममा गणेशमानले आफूले गरेको कांग्रेस छाड्ने निर्णयबाट पछि हट्न नसक्ने बताएका थिए । उनले आफूसँग उक्त बाटो बाहेक केही नभएको पनि बताएका थिए ।
केन्द्रीय समिति बैठकमा भट्टराईले गणेशमानसँग भएको छलफलबारे संक्षिप्त जानकारी दिँदै उहाँको पार्टी छाड्ने निर्णयले आफू घाइते भएको बताएका थिए । कृष्णप्रसादले त्यही दिन बिहान प्रधानमन्त्री कोइरालालाई पनि गणेशमान भेट्न जान अनुरोध गरेका थिए । तर कोइराला भने गएका थिएनन् ।
पौडलेलले कान्तिपुरसँगको कुराकानीमा भनेका थिए, ‘गणेशमानले आफूलाई ‘रिजर्भ फोर्स’का रूपमा राख्न चाहनु भएको छ । उहाँको अनुपस्थितिमा कांग्रेसमा भएको सहमतिमा केही नपुगेजस्तो भएको छ ।’ बैठकमा केन्द्रीय सदस्य चिरञ्जीवी वाग्लेले सर्वोच्च नेताको आशीर्वादबिना चुनावी महाभारत लड्न नसक्ने बताएका थिए ।
बैठकमा केन्द्रीय सदस्य मंगलादेवी सिंह र मणी लामा अनुस्थित थिए । मंगलादेवीले अस्वस्थ भएका कारण उपस्थित हुन नसकेको भनिए पनि राजनीतिक विषय नै जोडिएको अनुमान गरिएको थियो । गणेशमानको मुख्य असन्तुष्टि प्रधानमन्त्री कोइरालासँग लामो समयदेखि रहँदै आएको थियो ।
गणेशमान मध्यावधि निर्वाचनको विपक्षमा थिए । प्रतिनिधिसभामा कांग्रेसको बहुमत हुँदाहुँदै मध्यावधि निर्वाचन गर्नु गलत भएको धारणा गणेशमानको थियो । मध्यावधि निर्वाचनको सुनिश्चिततापछि कांग्रेसभित्रको समस्या र गणेशमानले पार्टी छाडेको विषयमा केन्द्रित भएर पत्रकार तारानाथ दाहालले तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘नेपाली कांग्रेसका नेताहरू चुनाव लड्न स्वतन्त्र’ शीर्षकमा २०५१ भदौ ३० मा प्रकाशित गरेको थियो । उक्त बैठकमा कांग्रेसले पत्रकारहरूलाई प्रवेश नदिएका कारण पाँच घण्टासम्म सडकमा पानीले भिजेर बस्नु परेको भन्दै पत्रकारहरूले विरोध पनि जनाएका थिए ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] After Ganeshman announced to quit Congress...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ganesman-2592021064658-1482025125018-1000x0.jpg&w=1001&h=0)