सोल्टी होटल अन्तर्गत दोर्जीले ८ वर्ष क्यासिनो चलाए, चार क्यासिनोबाट २५ सयले रोजगारी पाए।
काठमाडौँ — नेपालमा आजभन्दा ५७ वर्षअघि अर्थात् १९६८ मार्च १० मा लेनिन दोर्जीले क्यासिनो भित्र्याएका थिए । उनलाई कसैले भुटानी भन्थे, कसैले सिक्किमी भएको बताउँथे । सुरुमा नाइट क्लबका रूपमा सञ्चालन गर्ने गरी स्विकृति प्रदान गरिएको थियो ।
दोर्जीले नेपालको सोल्टी होटलको मातहतमा रहेर ८ वर्ष क्यासिनो चलाएका थिए । क्यासिनोलाई प्रोत्साहन गर्न सरकारले एक वर्षको राजस्व पनि छुट दिएको थियो ।
५० जना कामदारबाट सुरु भएको क्यासिनोले १९७६ सम्ममा सय जनालाई रोजगारी दिन थालेको थियो । २०५१ सालसम्म आइपुग्दा क्यासिनोले सरकारलाई १ करोड २० लाख राजस्व तिर्थ्यो । त्यतिबेला सरकारको वार्षिक बजेट ४० अर्बको हाराहारीमा रहेका बेला क्यासिनोबाट आउने राजस्वलाई पनि ठूलै हिस्सा मानिन्थ्यो । त्यतिबेलासम्ममा क्यासिनोको संख्या बढेर चारवटा भएका थिए । तीनवटा क्यासिनो एकैपटक २०४९ सालमा खुलेका हुन् ।
२०५१ सालसम्ममा चारवटा क्यासिनोमा झण्डै २५ सयले रोजगारी पाएका थिए । चारैवटा क्यासिनो रिक्रिएसन सेन्टरले सञ्चालन गरेको थियो । चारवटै क्यासिनोको मालिक अमेरिकी नागरिक आरडी टटल थिए । फरक–फरक अस्तित्वमा रहेको क्यासिनो सञ्चालनबाट सरकारलाई त्यतिबेला बर्सेनि पाँच करोड आम्दानी हुने गरेको थियो । विदेशीले चलाएको क्यासिनो विदेशीकै लागि हो भन्ने मान्यता थियो । किनकि, क्यासिनोमा अधिकांश भारती र अन्य देशका फाट्टफुट्ट मात्र हुन्थे ।
सन् १९७८ देखि नेपालीलाई क्यासिनो प्रवेशमै रोक लगाइएको थियो । क्यासिनोमा जुन प्रकृतिको खेल खेले पनि आर्थिक कारोबार भने भारतीय रुपियाँमा हुने गरेको थियो । अन्नपूर्ण, एभरेस्ट, क्यासिनो नेपाल, रोयल क्यासिनो सबैमा भारतीय नै धेरै हुन्थे । जति विदेशी आए पनि क्यासिनोमा खेल्नेहरू भने करिब ३० प्रतिशत मात्र हुन्थे । क्यासिनो नेपालका प्रमुख सुरक्षा अधिकृत नारायण गुरुङले भनेका थिए, ‘पैसा तिरेर खानेभन्दा सित्तैको कुपनमा खेल्ने र खानेको संख्या बढी रहेको छ ।’![[Archive] This is how casinos entered Nepal](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr2-0892025111139-1000x0.jpg)
काठमाडौंका अरु क्यासिनोमा यस्तो सुविधा थिएन । क्यासिनोहरू १६ देखि २४ घण्टा खुला हुने गरेका थिए । क्यासिनोमा आउनेहरू धेरैले कमाउनेभन्दा पनि रमाइलोका लागि खेल्ने गरेको बताउने गर्थे । कतिपय त क्यासिनोमा खेल्नेभन्दा पनि रक्सी पिउने, गजल सुन्ने र डिनर खाएर बाहिरिन्थे । क्यासिनो नेपालका प्रबन्धक सञ्चालक आरएस थापाले भन्थे, ‘भारतीय पर्यटकको काठमाडौंमा भुलिने ठाउँ पशुपतिनाथ र क्यासिनो हो ।’ ठेकेदार कम्पनी र विदेशी आयोजनामा काम गर्नेहरू क्यासिनोमा खेल्ने गर्थे । त्यतिबेला भन्ने गरिन्थ्यो, ‘क्यासिनो सञ्चालक टटलले सित्तैँमा भतेर लगाउँछन् र कति विदेशीहरू त्यही खाएर फर्किन्छन् ।’
भारतमा पनि क्यासिनो खोल्ने प्रक्रिया सुरु भएको थियो । भारतमा क्यासिनो सञ्चालन भएमा नेपालमा त्यसको असर पर्ने चिन्ता पनि थियो । नेपालको क्यासिनोमा आउने धेरै भारतीय भएकाले चिन्ता बढेको थियो । नेपाल क्यासिनोका महाप्रबन्धक बीके शाक्य भारतमा क्यासिनो खुलेपछि नेपालमा के होला भन्ने अनुमान गर्न नसकिने बताउने गर्थे । नेपालमा क्यासिनोको संख्या बढेकाले नाफा भने घट्दै गएको अवस्था थियो ।
कतिपयले क्यासिनोलाई जुवाको अखडा भन्ने गर्थे । नेपालमा क्यासिनो सञ्चालनको इतिहास र आजभन्दा तीन दशकअघि यसको अवस्थाका विषयमा केन्द्रित रहेर पत्रकार तीर्थ कोइरालाले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५१ भदौ २० मा ‘काठमाडौंका रंगीन जुवाघरहरू’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] This is how casinos entered Nepal](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/20141124399127-1000x0-0892025111824-1000x0.jpg&w=1001&h=0)