अमेरिकी नीतिले नेपाली तयारी पोसाकको निर्यातमा वृद्धि, उद्योगीहरू पुनः उदयको आशा राख्दै।
What you should know
काठमाडौँ — खुला बजार अर्थतन्त्र र निजी लगानीलाई प्रोत्साहन गर्ने सरकारी नीतिले ५० को दशकमा नेपालमा विदेशी मुद्रा आर्जन गर्ने मुख्य उत्पादनमध्ये तयारी पोसाक पनि अग्रपंक्तिमा रहेको थियो । गलैंचा, पस्मिना र तयारी पोसाकले विदेशी मुद्रा आम्दानी गरिरहेको थियो ।
तयारी पोसाक (गार्मेन्ट) विदेशी मुद्रा आर्जन गर्ने दोस्रो नेपाली उत्पादन थियो । अमेरिकाले दिएको भन्सारमा सहुलियत र कोटा सिस्टम लागू गरेका कारण नेपाली उत्पादनको निर्यात र बजार व्यवस्थापनमा सहजता भएको थियो ।
सन् १९९२/९३ मा नेपालबाट ३ अर्ब ९३ करोड बराबरको तयारी पोसाक निर्यात भएको थियो । सन् १९९३/९४ मा ५ अर्ब ९४ करोड रुपियाँ बराबरको निर्यात भएको थियो ।
तर अफ्रिका, ल्याटिन अमेरिका र रुस जस्ता मुलुकबाट अमेरिकाले तयारी पोसाक आयात गर्न थालेपछि नेपाली व्यवसायी त्रसित थिए । सन् १९९५ को जनवरीदेखि भन्सार तथा महसुलसम्बन्धी सामान्य सम्झौता (ग्याट) प्रभावकारी गराउने तयारी भइरहेकाले पनि नेपाली पोसाकको भविष्यमा चिन्ता गर्न थालिएको थियो ।
यूएसएडले तयार गरेको अध्ययन अनुसार ग्याट प्रभावकारी भएपछि नेपालले तयारी पोसाकको बजार कायम राख्ने थुप्रै सुधार गर्नुपर्ने उल्लेख थियो । नेपाली उद्योगको आधुनिकीकरण, मूल्यमा प्रभाव र मौलिक उत्पादनलाई जोड दिनुपर्ने यूएसएडले सार्वजनिक गरेको लेखमा उल्लेख थियो । अमेरिकामा आर्थिक मन्दी सुरु भएको थियो । यूएसएडले भनेको थियो, ‘नेपालको दोस्रो ठूलो विदेशी मुद्रा आर्जन गर्ने स्रोत भविष्यमा नसुक्ला भन्न सकिन्न ।’
२०५१ भदौसम्मको तथ्यांक अनुसार अमेरिकामा धेरै माग हुने ३४० नम्बर वर्गको सर्ट त्यतिबेला ४७ प्रतिशत मात्र निर्यात भएको थियो । अन्य पोसाकको निर्यातको अवस्था पनि त्यस्तै थियो । विगतमा उक्त वर्गको सर्टका लागि सय रुपियाँ प्रिमियम तिरेर भए पनि अन्य उद्यमीसँग खरिद गरेको उदाहरण रहेको थियो ।![[Archive] This is how Nepali ready-made clothes fell in the world market](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-0792025104108-1000x0.jpg)
अमेरिकाले २००५ सम्ममा कोटा सिस्टम हटाउने तयारी गरेकाले पनि नेपाली उत्पादनको अवस्था के हुने चिन्ता बढेको थियो । नेपाल वाणिज्य बैंकले भने १९९४ को तथ्यांक प्रस्तुत गर्दै जुलाईसम्मको निर्यात आँकडा अघिल्लो वर्षको भन्दा ५१.५ प्रतिशतले वृद्धि भएको दाबी गरेको थियो ।
अमेरिकाले १९९५ देखि २००२ सम्ममा १६ देखि १८ प्रतिशत तयारी पोसाकको कोटा घटाउने प्रस्ताव सार्वजनिक भएको थियो । नेपालमा उत्पादित कपडा गुणस्तरीय नहुने र तेस्रो मुलुकबाट ल्याउनुपर्ने भएकाले पनि नेपाललाई समस्या परेको थियो । त्यतिबेला कायम रहेको अमेरिकी कोटामा पनि भारतीय उद्यमीहरूको बाहुल्य थियो ।
तयारी पोसाकको निर्यात घट्ने अवस्था भएपछि नेपालले अमेरिकालाई कूटनीतिक नोट पठाएर सेवा सुविधा नहटाउन अनुरोध गरेको थियो । त्यतिबेला नेपालमा झण्डै १ हजार २ सयभन्दा बढी गार्मेन्ट उद्योग थियो भने कम्तीमा ५० हजारले रोजगारी पाएका थिए ।
तयारी पोसाकको निर्यात घट्न सक्ने सम्भावनालाई केन्द्रमा राखेर श्याम घिमिरेले तयार गरेको समाचार कान्तिपुरले २०५१ भदौ १७ मा ‘संकट र सफलताको दोसाँधमा तयारी पोसाक उद्योग’ शीर्षकमा प्रकाशित गरेको थियो ।
दुई दशकमा धराशायी बनेको तयारी पोसाक उद्योगले अहिले फेरि निर्यातको अवसर पाउने अपेक्षा गर्न थालिएको छ । तयारी कपडा उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार अहिले १० अर्बको निर्यात हुन थालेको छ भने बढ्ने सम्भावना देखिएको छ ।
संघका अनुसार तयारी पोसाकको क्षेत्रमा अहिले मुलुकभर ३५ हजारले रोजगारी पाएका छन् । संघको काठमाडौंमा सम्पन्न ३० औं साधारणसभामा अध्यक्ष पाण्डेले अमेरिकी राजदूतलाई भेटेर तयारी पोसाकको निर्यातसम्बन्धी छलफल गरेका थिए ।
सन् २००१ र २००२ मा तयारी पोसाक करिब ४० करोड अमेरिकी डलरको निर्यात हुन थालेको थियो । तर, त्यसपछि बिस्तारै खस्किँदै गएको थियो । अहिले भने अमेरिकाले लिने नयाँ भन्सार तथा कर नीतिले नेपाली उत्पादन निर्यातमा अवसर प्राप्त हुने उद्योगीहरू बताउँछन् ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] This is how Nepali ready-made clothes fell in the world market](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/46176541122927965710717071757730218284755973n-0792025104611-1000x0.jpg&w=1001&h=0)