[अर्काइभ] अनामनगरको बाढी नियन्त्रण गर्न भौतिक मन्त्रीको तोकादेश ! 

बाढी नियन्त्रण गर्न सीडीओलाई आदेश दिएको विषय भने त्यतिबेला खुबै अनौठो मानिएको थियो ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

[Archive] The order of the minister of material to control the flood of Anamnagar!

What you should know

काठमाडौँ — धोबीखोलाको बाढी र अविरल वर्षाले काठमाडौंको अनामनगर, घट्टेकुलो, बानेश्वर, बुद्धनगर, बिजुली बजार जलमग्न हुने गरेको थियो । अनामनगर र आसपासका क्षेत्रको सडक पक्की गर्न स्थानीयले तीन वर्षअगावै माग गरेका थिए । हनुमानस्थानबाट सिंहदरबारको पूर्वी गेट हुँदै न्युप्लाजा निस्किने सडकको शिलान्यास २०४६ पछि गरिएको हो ।

प्रजातन्त्र प्राप्तीपछि आन्दोलनबाट गठित अन्तिरम सरकारका यातायात मन्त्री मार्सल जुलुम शाक्यले अनामनगरको सडक शिलान्यास गरेका थिए । अन्तरिमकालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला अनामनगरको सडकलाई व्यवस्थित गरिएको थियो ।

तर, २०४८ को निर्वाचनबाट सरकार बनेको पाँच वर्ष बित्दा पनि २०५१ सम्म काठमाडौंको मुटु मानिने त्यस क्षेत्रको ढल व्यवस्थापन हुन सकेको थिएन । तीनकुने सुविधानगरको अवस्था पनि त्यस्तै थियो । न्युप्लाजाको क्षेत्र त बटुवाले दिसापिसाब गर्ने, रात्रिबसहरू पार्किङ गर्ने र स्थानीयले फोहोर फ्याँक्ने थलो बनेको थियो । 

२०५१ भदौ १२ को अविरल वर्षाले अनामनगरको दक्षिणी भाग जलमग्न भएको थियो भने त्यहाँको राममन्दिर, प्रहरी चौकी बाढीले डुबेको थियो । बाढीले बानेश्वरको कालेपत्र सडकलाई समेत असर गरेको थियो । [Archive] The order of the minister of material to control the flood of Anamnagar!

अनामनगर हुँदै घट्टेकुलो जाने बाटो जलमग्न भएकाले बन्द भएको थियो । बाढीको समस्याका बारेमा तत्कालीन आवास तथा भौतिक योजना मन्त्री बलबहादुर राईलाई स्थानीयले घचघच्याएका थिए । 

विघटित प्रतिनिनिधिसभा सदस्य विद्या भण्डारी र राष्ट्रियसभा सदस्य चन्द्रराज ढुंगेलले मन्त्री राईलाई भेटेर बाढी नियन्त्रणको पहल गरिदिन आग्रह गरेका थिए । उनीहरूसँग मन्त्री राईले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई आदेश दिइसकेको बताएका थिए । 

वर्षामा मात्र होइन, पानी पर्नेबित्तिकै पानी जम्ने समस्या रहेको थियो । मन्त्री राईले बाढी नियन्त्रण गर्न स्थानीय प्रशासनलाई आदेश गरेको बताएका थिए । मन्त्रीले आदेश दिए पनि स्थानीय प्रशासनले नटेरेको प्रभावितहरूको भनाइ थियो । बाढी नियन्त्रण गर्न सीडीओलाई आदेश दिएको विषय भने त्यतिबेला खुबै अनौठो मानिएको थियो । बाढी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको मन्त्री राईको भनाइले कन्फ्युजन पनि गराएको थियो । 

वर्षामा पानी जम्ने भएकाले स्थानीयले पाएको दुःख पीडादायी थियो । भेटघाटका क्रममा विद्या तथा चन्द्रराजले ढलको आकार बढाउन र जमेको पानी मेसिन लगाएर छिटो तान्ने व्यवस्था मिलाउन माग गरेका थिए । ढल निकास हुने पाइप सानो भएकाले पानी बाहिर सडकमा बग्न थालेको थियो । 

काठमाडौंको मुटुमा भएको ढलको समस्या, कच्ची सडक र स्थानीयको पीडाको विषयलाई समेटेर कान्तिपुर दैनिकले २०५१ भदौ १३ मा ‘अनामनगर र सुविधानगर जलमग्नः मन्त्रीको तोकादेशप्रति प्रशासन उदासीन’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully