वाम गठबन्धनको घेराउ प्रयास विफल पार्न सरकार कडा रूपमा प्रस्तुत, नेताहरू भद्रकालीबाट गिरफ्तार।
What you should know
काठमाडौँ — मध्यावधि निर्वाचनका लागि सर्वदलीय सरकारको माग गर्दै ६ वाम समूहले सुरु गरेको आन्दोलन तेस्रो चरणमा प्रवेश गरेको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ कात्तिक २७ मा मध्यावधि निर्वाचनको मिति तोकेर संसद् विघटनको सिफारिस गरेपछि राजनीतिक अन्योल कायमै थियो ।
राजाले प्रधानमन्त्रीको सिफारिसअनुसार निर्वाचनको मिति तोकिसकेका थिए । तर विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल एमालेले राजाको कदमप्रति असहमति जनाउँदै अन्य ६ वाम घटकलाई साथ लिएर आन्दोलन चर्काइरहेको थियो ।
सुरुमा संसद् पुनःस्थापनाको माग गरिरहेको एमाले नेतृत्वको वाम समूहले कोइराला हटाएर नयाँ प्रधानमन्त्री तोक्नुपर्ने मागलाई बढी प्राथमिकता दिएको थियो । सर्वदलीय सरकारको माग पूरा गराउन वाम समूहले लगातार आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको थियो । प्रधानमन्त्री कोइराला मध्यावधि निर्वाचन गराउन चाहन्थे भने कांग्रेसको संस्थापक खेमा सकेसम्म प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा थियो ।
पार्टीभित्रको आन्तरिक कलह बढ्दै गएर कांग्रेस विभाजनको संघारमा पुगेको थियो । कांग्रेसको दुई खेमाले छुट्टाछुट्टै भेला आयोजना गरिरहेका थिए । प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसहितको रिट सर्वोच्चमा सुनुवाइका क्रममा थियो ।
२०५१ भदौ ३ मा वाम समूहले साबिक ७५ जिल्ला सदरमुकाम र काठमाडौंमा सिंहदरबार घेराउ गर्ने योजना अघि सारेका थिए । झण्डै एक महिनादेखि यस्तै प्रकृतिको विभिन्न चरणको आन्दोलन भइरहेको थियो । राजधानी त एक प्रकारले अस्तव्यस्त हुँदै आएको थियो । व्यापार/व्यवसायमा यसको नकारात्मक प्रभाव धेरै परिरहेको थियो । ![[Archive] When Manmohan and Madhav Nepal were arrested...](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-5-4-0392025110708-1000x0.jpg)
सरकारले पनि विरोध कार्यक्रम निष्प्रभावी बनाउन अनेक रणनीति अपनाएको थियो । यसबीचमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीहरू धेरै घाइते भएका थिए । आन्दोलनकारीले तोडफोड गरेर सरकारी तथा निजी सम्पत्ति एवं भौतिक संरचनाको क्षति पनि भएको थियो ।
तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत भदौ ३ मा आयोजना गरेको घेराउ असफल बनाउन सरकार कडा रूपमा प्रस्तुत भएको थियो । राजधानी काठमाडौं ठप्प हुने भएपछि सिंहदरबार र आसपासका क्षेत्रमा प्रहरीको उपस्थिति बाक्लो पारिएको थियो । बिहान ९.३० मा भद्रकालीका भेला भएका वामपन्थी नेतालाई धमाधम पक्राउ गर्न सुरु गरिएको थियो ।
सिंहदरबार घेराउमा जाने तयारी गरिरहेको एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधवकुमार नेपाललगायतका वामपन्थी नेतालाई भद्रकालीबाट गिरफ्तार गरिएको थियो । उनीहरूलाई गिरफ्तार गरेपछि प्रदर्शनकारी अझ बढी आक्रोशित भएका थिए । उनीहरूले सहरका विभिन्न स्थानमा जुलुस प्रदर्शन गरेका थिए भने केही स्थानमा प्रहरीले बल प्रयोग गरेको थियो । नयाँ सडक, असन, इन्द्रचोकलगायतका स्थान दिनभर तनावपूर्ण रहेको थियो ।
सरकारले घेराउमा आएकाहरूलाई पुतली सडक, सर्वोच्च अदालत अगाडि र भद्रकालीमा रोकेको थियो । बिहानै सर्वोच्च अगाडिबाट एमाले नेता सिद्धिलाल सिंह, संयुक्त जनमोर्चाका महासचिव लीलामणि पोखरेललगायत नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको थियो । धर्नामा बसेका नेताहरूलाई पनि गिरफ्तार गरिएको थियो । ठाउँठाउँममा तोडफोड र आगजनी भएको थियो । प्रहरी कारबाहीमा एमालेले आफ्ना नेता तथा स्थायी समिति सदस्य केपी शर्मा ओली घाइते भएको दाबी गरेको थियो ।
गृहसचिव भोजराज पोखरेलले भने आन्दोलनकारीले २६ वटा मोटरसाइकलमा क्षति पुर्याएको जानकारी दिएका थिए । उनका अनुसार पाकिस्तानी दूतावासलगायतका कूटनीतिक नियोगका दुई वटा सवारी साधनमा क्षति पुर्याइएको थियो । साथै आन्दोलनकारीले ढुंगामुढा गर्दा १२ जना प्रहरी घाइते भएको मन्त्रालयले जनाएको थियो ।
लमजुङलगायतका जिल्लाका विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । प्रहरीले राजधानीलगायतका जिल्लाका केही स्थानमा अश्रुग्यास प्रहार गरेको जनाएको सचिव पोखरेलले जानकारी दिएका थिए । गृहले गिरफ्तार गरिएका अधिकांश नेता–कार्यकर्तालाई रिहा गरेको जानकारी दिएको थियो । प्रदर्शनकारीले भने प्रशासनले दमन गरेको भन्दै खुलामञ्चमा विरोध जनाएका थिए ।
एमालेसहित वाम गठबन्धनले सर्वदलीय सरकारको माग गर्दै एक महिनादेखि विभिन्न चरणमा गर्दै आएको आन्दोलनका क्रममा तेस्रो चरणको प्रदर्शन र सरकारी धरपकडको सन्दर्भ समेटेर कान्तिपुर दैनिकले ‘धर्ना कार्यक्रम असफल पार्न व्यापक गिरफ्तारी’ शीर्षकमा २०५१ भदौ ४ मा समाचार प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] When Manmohan and Madhav Nepal were arrested...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-5-4-photo-0392025110717-1000x0.jpg&w=1001&h=0)