सन्त हुन ‘समदृष्टि र निष्पृहता’ चाहिन्छ, आफूमा आवश्यक मित्रभावको विकास भइनसकेको कृष्णप्रसाद भट्टराईको दाबी ।
What you should know
काठमाडौँ — प्रजातान्त्रिक आन्दोलनका नेता कृष्णप्रसाद भट्टराईलाई अहिले पनि ‘सन्त नेता’का रूपमा चिन्ने गरिन्छ । अविवाहित, व्यक्तिगत सम्पत्ति नभएका र दुईपटक प्रधानमन्त्री हुँदा पनि अनियमितताका घटनामा नाम नजोडिएका भट्टराईलाई विशेषतः कांग्रेसका नेता–कार्यकर्ताले सरल नेताको उपमा दिने गर्छन् ।
सत्तामा बसेपछि सम्पत्ति कमाउनुपर्ने मानसिकताले आक्रान्त नेतृत्व र राजनीतिक नेता–कार्यकर्ताको बिगबिगी भएका बेला भट्टराइको जीवनशैली भने अहिलेको पुस्तालाई पनि अनुकरणीय थियो । अन्तरिम कालमा प्रधानमन्त्री भएर २०४८ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भएका उनी कहिल्यै निराश देखिएनन् ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि भट्टराईले एउटा ट्याङ्का र सुराई लिएर बालुवाटार छाडेको घटनालाई अहिले पनि विम्बका रूपमा प्रयोग गरिँदै आएको छ ।तर स्वयं भट्टराईले भने आफू सन्त नभएको घोषणा गरेका थिए ।
२०५१ साउन २६ मा काठमाडौंमा आयोजित कांग्रेस कार्यकर्ता भेलामा उनले साँच्चिकै झोलीतुम्बा भिरेर हिँड्नुपर्ने जस्तै गरी सन्त भनी पुकारिएकामा लाज लागेको बताएका थिए । उनको भनाइ थियो, ‘सन्त हुन ‘समदृष्टि र निष्पृहता’ चाहिन्छ । आफूमा आवश्यक मित्रभावको विकास भइनसकेको उनको भनाइ थियो ।
कांग्रेस काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा पार्टी र मुलुक संकटमा पर्नुमा आफूलगायत सबै दोषी भागी भएको उनले बताएका थिए । त्यतिबेला कांग्रेसका सांसदहरू छत्तीसे र चौहत्तरे समूहमा विभाजित थिए । ![[Archive] Bhattarai's statement that he did not walk like a saint with a backpack...](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-copy-3182025110054-1000x0.jpg)
प्रधानमन्त्री गिरिजप्रसाद कोइरालाले मध्यावधि निर्वाचनको घोषणा गरेको र पार्टीमा विखण्डन आइरहेको पृष्ठभूमिमा भट्टराईले भनेका थिए, ‘सबै दोषका भागी छौं, आत्मालोचना गरेर जाने हो भने कांग्रेसले आधा शताब्दीसम्म चुनाव जित्छ ।’ उनले गिरिजाप्रसादले सरकारको नेतृत्व गरेको तीन वर्षमा गरेका राम्रा कामलाई प्रचार गरेर निर्वाचनमा जानुपर्ने बताएका थिए ।
प्रतिनिधिसभा पुनःस्थापना भएमा त्यसका लागि पनि तयार हुनुपर्ने धारणा उनको थियो । प्रतिनिधिसभा पुनःस्थापनका लागि सर्वोच्चमा रिट दर्ता भएकाले भट्टराईले पुनःस्थापनाको सम्भावनप्रति इंगित गरेर यस्तो धारणा राखेका थिए । उनले अदालतमा मुद्दा चलिरहेकाले सांसदहरूलाई भुतपूर्व नभन्ने पनि बताएका थिए ।
कांग्रेस महामन्त्री महेन्द्रनारायण निधिले पार्टीका सर्वमान्य नेता गणेशमान सिंह असन्तुष्ट रहेको प्रसंग कोट्याउँदै पार्टीभित्रको एकता कृत्रिम हुन नहुने बताएका थिए । उनले बनाउने/बिगार्ने जिम्मेवारी शीर्ष नेताले लिनुपर्ने पनि बताएका थिए ।
कार्यक्रममा गृहमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक पार्टीमा विवाद हुनु स्वाभाविक भएको बताएका थिए । कृषि तथा स्थानीय विकास मन्त्री रामचन्द्र पौडेलले कांग्रेको एकता मुलुककै लागि आवश्यक रहेको बताएका थिए ।
पूर्वसांसद बालकृष्ण खाँडले पार्टीभित्र बेलाबेलामा भएका एकताको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए । पूर्वसांसद तारानाथ रानाभाटले कांग्रेसलाई टुक्र्याउने र विभाजन गर्ने शक्ति क्रियाशील रहेको दाबी गरेका थिए । पूर्वसांसद शैलजा आचार्यले कांग्रेसले निर्वाह गरेको ऐतिहासिक भूमिकाले मुलुकलाई पुर्याएको योगदानको चर्चा गर्दै एकताको नयाँ परिस्थिति निर्माण गर्नुपर्ने बताएकी थिइन् ।
पूर्वसांसद तथा पार्टीमा छत्तिसे समूहका नेताका रूपमा चिनिएका चिरञ्जिवी वाग्लेले कांग्रेसले ऐतिहासिक दायित्व भुल्न नहुने बताएका थिए । पूर्वसांसद कांग्रेसमा बीपीको विचार पालना नभएको गुनासो गरेका थिए । उनले पार्टीभित्रबाट असहयोग महसुस गरेर २०४८ को मन्त्रिपरिषद्को भूमि सुधार मन्त्रीबाट राजीनामा दिएका थिए ।
उक्त कार्यक्रममा गृहमन्त्री शेरबहादुर देउवाले कार्यकर्ता भेट्न नचाहेको भन्दै आलोचना भएको थियो । आलोचना सुनेर ठटौली शैलीमा देउवाले भनेका थिए, ‘मेरो विवाह भएको छ । मेरी स्वास्नीले मलाई बाहिर जान दिन्नन् । त्यसैले भेट्न चाहनेले घरैमा आउनु होला ।’ उनको भनाइपछि कार्यक्रमा सहभागीहरू ठूलो स्वरमा हाँसेका थिए ।
कांग्रेसमा झाँगिँदै गएको आन्तरिक द्वन्द्वले मिम्त्याइरहेको परिस्थिति, विघटित प्रतिनिधिसभा पुनःस्थापनको सम्भावना तथा कृष्णप्रसादले आफू सन्त नभएको घोषणासहितका विषयलाई समेटेर कान्तिपुरले तयार गरेको समाचार २०५१ साउन २७ मा ‘भट्टराईद्वारा प्रतिनिधिसभा पुनःस्थापनाको संकेत’ शीर्षकमा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Bhattarai's statement that he did not walk like a saint with a backpack...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/23122015090036kisun-ji-1000x0-3182025110310-1000x0.jpg&w=1001&h=0)