[अर्काइभ] मुम्बई बमकाण्डका अभियुक्तले जब काठमाडौंमा पक्राउ परेको बताए...

भारतको प्रमुख गुप्तचर संस्था केन्द्रीय अनुसन्धान ब्युरोले बम काण्डका अभियुक्तलाई पक्राउ गर्न सहयोग गर्नेलाई ५ लाख भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

[Archive] The accused in the Mumbai bombings said that when he was arrested in Kathmandu...

What you should know

काठमाडौँ — सन् १९९३ मार्च १२ मा मुम्बईका १२ स्थानमा भएको बम विस्फोटनमा २ सय ५७ जनाको मृत्यु भएको थियो । घटनामा ७ सय १३ जना घाइते भएका थिए । निकै ठूलो धनजनको क्षति भएको उक्त काण्ड गराउनेको खोजी भारतमा तीव्र थियो । भारतले बम काण्डको आरोप पाकिस्तानमाथि लगाइरहेको थियो । बमकाण्डका अभियुक्त र योजनाकार नेपाल छिर्न सक्ने भन्दै भारतीय गुप्तरचर नेपालमा पनि आँखा दौडाइरहेका थिए । 

भारत सरकारले बम विस्फोटनमा चार्टर एकाउन्टेन्ट याकुब अब्दुल रजाक मेमन, उनका दाजु टाइगर मेमन, दाउद, इब्राहिमसहितको संलग्नता रहेको आरोप लगाइरहेको थियो । भारतको प्रमुख गुप्तचर संस्था केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई पक्राउ गर्न सहयोग गर्नेलाई ५ लाख भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेको थियो ।

भारतले उक्त बम आक्रमणमा पाकिस्तानको हात रहेको प्रमाण आफूहरूसँग रहेको बताउँदै आएको थियो । भारतका गृहमन्त्री शंकरराव चौहानले सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूमा पाकिस्तानलाई आतंकवादी मुलुक घोषणा गर्न पहल गर्ने बताएका थिए । तर पाकिस्तानको विदेश मन्त्रालयले भने भारतले लगाएको आरोप अस्विकार गर्दै ‘यस्ता आरोप थोत्रा भएको’ बताउँदै आएको थियो । 

बम विस्फोट गराएको अभियोग लागेका पाकिस्तानका नागरिक याकुल अब्दुल रजाक मेमनले नयाँदिल्लीका मेजिस्ट्रेडलाई २०५१ साउन २१ मा दिएको बयानमा आफू काठमाडौं विमानस्थलबाट पक्राउ परेको बताएपछि नेपालमा एक प्रकारको जिज्ञासा उत्पन्न भएको थियो । पाकिस्तानको कराँचीबाट नेपाल आएका मेमनले नेपालका अधिकारीले आफूलाई भारतलाई बुझाएको बताएका थिए । 

भारतले खोजिरहेको यति ठूलो बमकाण्डका अभियुक्त पक्राउ परेको विषय नेपालमा भने सार्वजनिक भएको थिएन । मेमनले आफू २०५१ साउन ९ मा काठमाडौं विमानस्थलमा पक्राउ परेको बताएका थिए । नेपालले उनी काठमाडौंमा पक्राउ परेको पुष्टि गर्न आलटाल गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता श्रीकान्त रेग्मीले भने मेमन नेपालमा पक्राउ परेको रेकर्ड नभएको जानकारी दिएका थिए । [Archive] The accused in the Mumbai bombings said that when he was arrested in Kathmandu...

कान्तिपुरले स्रोत प्रयोग गरेर जानकारी लिए अनुसार पाकिस्तानी नागरिक मेमनको दुई वटा नागरिकता भेटेपछि त्रिभुवन विमानस्थलमा थप खानतलासी गरिएको र खानतलासीका क्रममा १९ वटा पासपोर्ट फेला परेको तथ्य सार्वजनिक गरेको थियो । खानतलासीका क्रममा बम काण्डका कुख्यात नायक भनिएका दाउद इब्राहिमको पासपोर्ट पनि भेटिएको थियो ।

नेपालले उनको पक्राउलाई अस्विकार गरे पनि एएफपीले भने काठमाडौंका सरकारी अधिकारीकै हवाला दिएर समाचार प्रकाशित गरेको थियो । एएफपीले नेपाली अधिकारीले मेमनलाई भारतलाई बुझाएको लेखेको थियो । भारतले ममेन बम विस्फोट गराएर पाकिस्तान भागेको आरोप लगाएको थियो । भारतीय अधिकारीहरूले भने मेमनको गिरफ्तारीलाई बम काण्डको छानबिनका लागि ठूलो उपलब्धि भएको बताएका थिए । 

भारतले पाकिस्तानको संलग्नताको प्रशस्त प्रमाण रहेको बताउँदै मेमनसँग पाकिस्तानी गप्तचर संस्थाले उपलब्ध गराएको परिचय–पत्र पनि रहेको बताएको थियो । मेमनलाई हतकडी लगाएर कडा सुरक्षाका साथ अदालतमा पेस गरिएको थियो । तर उनले भने भारतले आज मात्र मलाई पक्रेको घोषण गरेको भन्दै आश्चर्य प्रकट गरेका थिए । उनले आफू सातादेखि भारतका सुरक्षा कर्मचारीको रेखदेखमा विभिन्न स्थानमा घुमिरहेको बताएका थिए । 

नेपालमा बम काण्डका अभियुक्तलाई सरकारले भारतलाई हस्तान्तरण गरेको विषय भने उठिरहेको थियो । प्रवक्ता रेग्मीले पक्राउ नै नपरेको मान्छेलाई हस्तान्तरण गर्ने कुरै नभएको जीकिर गरेका थिए । भारतले मेमन दाजुभाइले विस्फोटका लागि आरडिएक्स बिस्फोटहरू भारतमा चोरी पैठारी गरेको आरोप पनि लगाएको थियो । भारतले बम काण्डसँग जोडेर १ सय ८९ व्यक्तिमाथि राष्ट्रविरुद्ध अभियोग लगाएको थियो । कानुनतः अभियोग पुष्टि भएमा मृत्युदण्डसमेत हुने गरेको छ । 

मुम्बईमा भएको बम विस्फोटसँग जोडिएका पाकिस्तानी नागरिक नेपालमा पक्राउ परेको सूचना भारतमा सार्वजनिक भएको विषय समावेश गरेर पत्रकारहरू जिवेन्द्र सिम्खडा र नारायण वाग्लेले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५१ साउन २२ मा ‘बम्बई बमकाण्डका अभियुक्त मेमन भन्छन्, मलाई काठमाडौंमा पक्रिएको हो’ शीर्षकमा प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully