संसद् विघटनको विरोधमा सत्तारुढ दलसहित वामपन्थी दलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्, जुन प्रधानमन्त्रीको सिफारिसविरुद्ध थियो।
What you should know
काठमाडौँ — सत्तारुढ कांग्रेससहितका राजनीतिक दलले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गरिरहेका थिए । वाम घटकहरू भने मध्यावधि निर्वाचन गराउने हो भने पनि गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीबाट हटाएर सर्वदलीय सरकार गठन गर्नुपर्ने मागमा अडिग थिए ।
वामपन्थी दलहरूले नेपाल बन्द लगाएका आन्दोलन चरणबद्ध रूपमा गरिरहेका थिए । तर, राजाले प्रतिनिधिसभा पुनःस्थापना वा सर्वदलीय सरकार बनाउने दलहरूको मागप्रति धेरै सकारात्मक संकेत देखाएका थिएनन् । हुन त राजाले प्रधानमन्त्री कोइरालालाई दलहरूले उठाएका प्रश्न र संवैधानिक प्रावधानका विषयमा प्रश्न भने गरेका थिए तर उनी कानुनी प्रावधानमा टेकेर मात्र नयाँ निर्णय गर्न चाहेको देखिन्थ्यो ।
यही पृष्ठभूमिमा वामपन्थी सांसद र सत्तारुढ दलका नेता प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । विघटित प्रतिनिधिसभाका सांसद हरिप्रसाद नेपाल र गणेश पण्डित तथा राजनीतिक कार्यकर्ताहरू दुर्गा सुवेदी एवं लोककृष्ण भट्टराईले २०५१ साउन ११ मा प्रतिनिसिभा पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
प्रधानमन्त्री कोइरालाको सिफारिसमा राजाले प्रतिनिधिसभा विघटन गरेर २०५१ कात्तिक २७ मा मध्यावधि निर्वाचन गराउने घोषणा गरिसकेको अवस्थामा सडक आन्दोलन र कानुनी ढोका ढकढक्याउने अभ्यास भइरहेको थियो । ![[Archive] This is how the issue of dissolution of parliament reached the Supreme Court](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-4-12-2782025112423-1000x0.jpg)
जनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंहले संसद् पुनःस्थापना हुन सक्ने अवधारणा सार्वजनिक गरेपछि उनको तर्कका आधारमा सुवेदी र भट्टराईले रिट निवेदन दर्ता गर्ने निर्णय गरेका थिए । रिट निवेदनमा प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जानु गलत भएको उल्लेख गरिएको थियो । मध्यावधि निर्वाचनको सिफारिसका आधार नै त्रुटिपूर्ण रहेको भनाइ रिटमा उल्लेख गरिएको थियो । अनधिकृत रूपमा गरिएको सिफारिस उत्प्रेषणको आदेशबाट बदर गरी पाउँ भन्ने व्यहोरा रिटमा उल्लेख थियो ।
कृष्णप्रसाद भण्डारी, वासुदेवप्रसाद ढुंगाना र सिन्धुनाथ प्याकुरेलसहितका वरिष्ठ कानुन व्यवसायीहरूसँग छलफलपछि संविधानवेत्ता डा. सूर्य ढुंगेल, अधिवक्ताहरू सुशीला कार्की, बोर्णबहादुर कार्की, श्रहरि अर्याल, बाबुराम गिरीसहितको प्रयासमा रिट निवेदनको मस्यौदा गरिएको थियो । रिटमा स्थिर सरकार गठन हुने अवस्था हुँदाहुँदै वञ्चित गराइएको उल्लेख गरिएको थियो ।
प्रतिनिधिसभाको अधिवेशन अन्त्य नभएको अवस्थामा सभा नै विघटन गर्ने कानुनी र संवैधानिक व्यवस्था नभएको जीकिर रिटमा गरिएको थियो । ‘सभामुखले २०५१ असार २७ मा भोलिपल्ट प्रतिनिधिसभाको बैठक बस्ने जानकारी गराएको अवस्थामा अघिल्लो दिन संसद् विघटन गर्नुले संसदको सर्वोच्चतामा कुठाराघात भएको छ,’ रिटमा भनिएको थियो । निवेदक सुवेदीले ‘संवैधानिक राजतन्त्रले कुनै पनि गल्ती गर्दैन’ भन्ने सिद्धान्त अनुसार राजाको विपक्षमा नभई प्रधानमन्त्रीको असंवैधानिक सिफारिसका विरुद्ध मात्र रिट निवेदन दिएको प्रस्ट्याएका थिए । रिट प्रधानमन्त्री कोइराला, निर्वाचन आयोग, निर्वाचन क्षेत्र निर्धारण आयोग र मन्त्रिपरिषदलाई विपक्षी बनाएर दर्ता गरिएको थियो ।
विघटित प्रतिनिधिसभाका बहुमत सांसदले संसद् पुनःस्थापनाको मागसहित राजालाई समावेदन गर्ने तयारी पनि गरेका थिए । त्यसका लागि पूर्वसांसदलाई प्रज्ञा भवनमा भेला गराउने तयारी गरिएको थियो । समावेदनमा झन्डै १ सय ३५ जना पूर्वसांसदले हस्ताक्षर गर्ने एमाले नेताहरूले जानकारी गराएका थिए । सत्तारुढ कांगेसका कम्तीमा ५० जना पूर्वसांसदले हस्ताक्षर गर्ने अनुमान गरिएको थियो । कांग्रेस महामन्त्री महेन्द्रनारायण निधिले ६ वाम घटकसँग मिलेर अघि बढ्ने गरी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरिसकेकाले समावेदनमा पनि समर्थन हुने लगभग निश्चित थियो । निधिले प्रतिनिधिसभा पुनःस्थापना गर्न र कोइरालालाई हटाउन माग गर्दै राजालाई विन्तीपत्र चढाइसकेका थिए ।
संसद् पुनःस्थापनाको मुद्दा सडकबाट सर्वोच्चसम्म पुगेको सन्दर्भलाई समावेश गरेर पत्रकार तारानाथ दाहालले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५१ साउन १२ मा ‘संसद् पुनःस्थापनाका लागि मुद्दा दायर’ शीर्षकमा प्रकाशित गरेको थियो । कांग्रेसको संस्थापन पक्षको समेतको समर्थनमा ६ वाम घटकले प्रतिनिधिसभा पुनःस्थापना र सर्वदलीय सरकार गठनको मागसहित सडक आन्दोलन गरिरहेका बेला उक्त मुद्दा सर्वोच्चमा पुगेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] This is how the issue of dissolution of parliament reached the Supreme Court](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/supreme-court-3032025110720-1000x0.jpg&w=1001&h=0)