[अर्काइभ] एमालेसहित ६ वाम घटकको त्यो आन्दोलन

प्रहरी हस्तक्षेप र हवाई फायरपछि राजधानीमा प्रदर्शनकारीको उपस्थिति तनावग्रस्त बनेको थियो ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

[Archive] That movement of 6 left components including UML

What you should know

काठमाडौँ — २०५१ साउन ५ मा एमालेसहित ६ वाम घटकले  आयोजना गरेको नेपाल बन्द हिंस्रक बनेको थियो । आन्दोलनका क्रममा बन्द आह्वानकर्ता समूहका कार्यकर्ताले रत्नपार्क, भोटाहिटी, महाबौद्ध, न्युरोड, पुरानो बसपार्कलगायत क्षेत्रमा भौतिक संरचना तोडफोड गरेका थिए ।

प्रहरीले अश्रुग्यास प्रहार गर्ने, लाठीचार्ज गर्ने, पानीका फोहरा छाड्ने जस्ता कारबाही गरेर आन्दोलनकारीलाई तितरबितर पारेको थियो । विरोध प्रदर्शन चर्किंदै गएपछि प्रहरीले गोली प्रहार गरेको र राजधानीमा आन्दोलनरत दुई जना घाइते भएको जानकारी मानव अधिकार पर्यवेक्षण समितिले दिएको थियो ।

एमाले महासचिव माधव कुमार नेपालले काठमाडौंमा हवाई फायर भएको बताएका थिए । गृह मन्त्रालयका प्रवक्ता श्रीकान्त रेग्मीले आन्दोलनकारीले टेलिफोन क्याबिनेटमा आगो लगाउने, रेलिङ भाँच्ने र ढुंगा हान्ने गरेकाले सार्वजनिक सम्पत्ति जोगाउन अश्रुग्यास प्रहार गरेको दाबी गरेका थिए । आन्दोलनकारीले राजधानीलाई तनावग्रस्त बनाएको रेग्मीले जानकारी दिएका थिए । गृह मन्त्रालयले मुलुकभर २५ वटा सवारी साधनमा क्षति पुगेको, बसपार्कस्थित चुंगीकर चौकीमा आगो लगाएको, काठमाडौं नगरपालिकाको नक्सा कार्यालयको सिसा फुटाएको, जुद्ध शालिकवरिपरि गमला फुटाएको, भोटाहिटी सव–वेको फलामे गेटभत्काएको बताएको थियो । जुलुसले दरबारमार्गस्थित राजा महेन्द्रको शालिकलाई केही समय घेरेर राखेको थियो । जुलुसमा राजतन्त्रविरोधी नारा पनि लगाइएको थियो ।  

महासचिव नेपालले मुलुकभर ४ सय प्रदर्शनकारी पक्राउ परेको दाबी गरेका थिए । उनले सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने परिस्थिति प्रहरीकै व्यवहारले निम्त्याएको पनि बताएका थिए । तर गृह मन्त्रालयले भने २ सय ८२ जना मात्र पक्राउ परेको बताएको थियो । 

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भने आन्दोलनले उठाएको विषयलाई बेवास्ता गरिरहेका थिए । आन्दोलनमा भएको क्षति र वाम समूहको नेपाल बन्दसमेततलाई समेटेर २०५१ साउन ६ मा कान्तिपुर दैनिकले ‘काठमाडौंमा गोली चल्यो, उपत्यका पूर्ण रुपमा बन्द’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully