[अर्काइभ] गिरिजाप्रसादलाई बर्खास्त नगरे मुलुक ठप्प पार्ने वाम घटकको चेतावनी

एमाले महासचिवले सर्वदलीय सरकार गठन नगरिए तीन दिन नेपाल बन्दको चेतावनी दिएका छन्, वाम घटकको पत्रकार सम्मेलनमा यो घोषणा गरिएको हो।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

[Archive] The warning of the left wing to bring the country to a standstill if Girija Prasad is not fired

What you should know

काठमाडौँ — २७ कात्तिक २०५१ मा मध्यावधि निर्वाचन गराउने तयारी भइरहेको थियो । विघटित संसद‍्को दोस्रो ठूलो दल एमालेको नेतृत्वमा ६ वामपन्थी समूह एकै थलोमा उभिएर सर्वदलीय सरकारको माग गरिरहेका थिए । वाम घटकको बैठक बसेर तीन दिनभित्र सर्वदलीय सरकार गठन नगरे मुलुक नै ठप्प बनाउने चेतावनी दिएका थिए ।

वाम घटकले २०५१ साउन १ मा काठमाडौंमा पत्रकार सम्मेलन गरेर गिरिजाप्रसाद कोइरालाबाहेका व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताइरहेका थिए । एमाले महासचिव माधवकुमार नेपालले सर्वदलीय सरकार गठन नगरिए तीन दिन लगातार नेपाल बन्द गर्ने चेतावनी दिएका थिए । 

त्यस्तै संसद् विघटन भएको बहानमा अरुण तेस्रो जलविद्युत् आयोजनालाई ऋण प्रदान गर्ने सम्बन्धमा वासिङटनमा बस्ने भनिएको विश्व बैंकको सञ्चाल समितिको बैठक नबस्ने सूचना प्राप्त भएको थियो । उक्त बैठक २०५१ साउन ११ मा बस्ने तय भएको थियो । नेपालमा प्रतिनिधिसभा विघटन भएको र सरकार काम चलाउको हैसियतमा रहेको भन्दै अरुणको विरोध गर्दै आएका समूहले उक्त सूचना सार्वजनिक गरेका थिए । 

एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले पनि राजीनामा दिइसकेका प्रधानमन्त्रीलाई चुनाव गराउने जिम्मेवारी दिनु गलत भएको बताएका थिए । तर प्रधानमन्त्री कोइराला निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरिरहेका थिए । [Archive] The warning of the left wing to bring the country to a standstill if Girija Prasad is not fired

एमालेको नेतृत्वमा एकीकृत भएको वाम समूहले प्रमुख राजनीतिक दलका प्रतिनिधि समावेश गरेर मन्त्रिपरिषद् बनाउनुपर्ने धारणा अघि सारेका थिए । उनीहरूले सरकार अल्पमतमा परेपछि अर्को सरकार बनाउन सक्ने परिस्थिति भएको अवस्थामा संसद् विघटन गर्न नहुने बताएका थिए । वाम समूहले निर्वाचनमा भाग लिने/नलिने संघर्षमा निर्भर रहने बताएका थिए । 

वम समूहको पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा एमाले महासचिव नेपाल, नेकपा एकताकेन्द्रका निर्मला लामा, संयुक्त जनमोर्चा नेपाल वैद्य पक्षका चण्डेश्वर श्रेष्ठ, नेकपा मसालका दीनानाथ शर्मा, नेकपा संयुक्तका महेशमणि दीक्षित, नेपाली कम्युनिस्ट लिगका शम्भुराम श्रेष्ठले हस्ताक्षर गरेका थिए । तर संयुक्त जनमोर्चा नेपालका बाबुराम भट्टराई पक्षले छुट्टै संघर्ष गर्ने घोषणा गरेको थियो । संयुक्त जनमोर्चाले सर्वदलीय सरकार गठन गर्नु र नगुर्नको औचित्य नभएको जनाएको थियो । 

चेपुवामा पुरुषोत्तम दाहाल 

२०४६ को परिवर्तनपछि नागरिक तहमा लोकप्रिय मानिँदै आएको रेडियो नेपालबाट प्रशारण भइरहेको ‘घटना र विचार’ कार्यक्रमका सञ्चालक पुरुषोत्तम दाहाललाई कांग्रेसभित्रको आन्तरिक किचलोका कारण निकालिएको थियो । २०४७ भदौ १४ देखि ‘यो हप्ता’ नाउँमा हप्तामा एक पटक सञ्चालन भएको कार्यक्रम घटना र विचारको नामबाट साताको तीन पटक सञ्चालन गरिँदै आएको थियो । 

कोइराला सरकारले २०५१ साउन १ मा दाहाललाई सहयोगका लागि धन्यवाद भन्ने व्यहोराको पत्र थमाएको थियो । रेडियो प्रसार सेवा विकास समितिको बैठकले अर्को सञ्चालक तोक्ने भन्दै पत्र थमाइएको थियो । पत्रमा भनिएको थियो, ‘हालसम्म उक्त कार्यक्रम सञ्चालन गरी सहयोग गर्नुभएकामा आदेशानुसार धन्यवाद ज्ञापन गर्दछु ।’ पत्रमा कामु उपनिर्देशक पुरुषोत्तम सापकोटाले हस्ताक्षर गरेका थिए । समितिका कार्यकारी निर्देशक शैलेन्द्र शर्माले घटना र विचार कार्यक्रम लोकप्रिय र चर्चित भएकाले देवप्रकाश त्रिपाठीलाई सञ्चालक तोकेर निरन्तरता दिने जानकारी दिएका थिए । 

दाहाललाई किन हटाएको भन्ने प्रश्नमा शर्माले भनेका थिए, ‘सञ्चालक समितिको निर्णय हो ।’ बिहान रेडियो नेपालबाट सञ्चालन हुँदै आएको परिक्रममा कार्यक्रम भने बन्द गरिएको थियो । परिक्रमाका सञ्चालन त्रिपाठी थिए । उनलाई घटना र विचारको सञ्चालक बनाएपछि परिक्रमा बन्द गरिएको हो । खासमा दाहाल कृष्णप्रसाद भट्टराई र गणेशमान पक्षधर भएको आरोप कोइराला पक्षले लगाउँदै आएको थियो । घटना र विचार कार्यक्रममा कोइरालाबाहेकका कांग्रेसको पनि विचारहरू प्रसारण हुने गरेको सरकारी पक्षलाई मन परेको थिएन । 

बेलुकी प्रसारण हुने घटना र विचारलाई ‘काउन्टर’ दिन विहान परिक्रमा कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । तर दाहालले चलाएको घटना र विचार गाउँगाउँसम्म लोकप्रिय थियो । उक्त कार्यक्रमको लोकप्रियता दाहाल हटेपछि खस्कँदै गएको थियो ।

दाहालले भने आफूलाई हटाएको घटनालाई प्रजातान्त्रिक सरकारको अप्रजातान्त्रिक कदम भनेका थिए । कार्यक्रम सञ्चालनका क्रममा सरकारी अधिकारीहरूले फरक विचारलाई समेटेको विषय हटाउन अप्रत्यक्ष दबाव दिने गरेको खुलासा दाहालले गरेका थिए । अन्य विषयमा अप्ठेरो नभएरै आफूले काम गरेको दाहालले बताएका थिए । 

मध्यावधि निर्वाचन, प्रधानमन्त्री कोइराललाई हटाएर सर्वदलीय सरकार गठन बनाउनुपर्ने वामगठबन्धको माग, निकै लोकप्रिय मानिएको रेडियो नेपालबाट प्रसारण भइरहेको घटना र विचार कार्यक्रमका सञ्चालक दाहाललाई हटाएको विषय समेटेर कान्तिपुरले ‘आज सर्वदलीय सरकार गठन नभए तीन दिन नेपाल बन्द गरिने’ शीर्षकको समाचार २०५१ साउन २ मा प्रकाशित गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर संवाददाता

Link copied successfully