भारतले कालापानीमा नक्कली कालीनदी खडा गरेर नेपाली भूमि कब्जा गरेको छ। कूटनीतिक चुप्पीले यो समस्या थप जटिल बनेको छ।
What you should know
काठमाडौँ — जब चीन र भारतले नेपालीभूमि दार्चुलाको लिपुलेकलाई दुवै देशले व्यापारिक ‘पास’ बनाउने निर्णय गरेको सूचना सार्वजनिक भयो, त्यसको नेपालका राजनीतिक दल र नागरिक तहबाट चर्को विरोध भएको छ ।
नेपाली भूमि कालापानीमा सन् १९६२ देखि भारतीय सेना बस्न थालेपछि सुरु भएको विवादलाई भारतले भने बेवास्ता गर्दै आएको छ । नेपाल-अंग्रेजबीचको युद्ध अन्त्य गर्दै सन् १८१६ मार्च ४ मा सुगौली सन्धि भएको थियो । उक्त सन्धिअनुसार नेपाल र भारतबीचको पश्चिमी सीमा कालीनदीलाई कायम गरिएको थियो । सन्धिअनुसार कालीको शिर लिम्पियाधुराभन्दा पश्चिमको भूभाग भारतको हो भने पूर्वका कालापानी र लिपुलेक नेपाली भूभाग हुन् ।
आजभन्दा २९ वर्षअघि कान्तिपुरका पत्रकार नारायण वाग्ले ‘फिल्ड’मै गएर सम्प्रेषण गरेको कालापानी क्षेत्रको समाचारमा नक्कली कालीनदी खडा गरेर नेपालको भूभाग भारतले कब्जा गरेको उल्लेख छ । उक्त समाचारमा नेपालको भूभाग लिपुलेकबाट तिब्बत जाने सजिलो बाटो थियो, जुन नेपालको हो भन्ने उल्लेख थियो ।
कान्तिपुरमा त्यतिबेला छापिएको समाचार अनुसार कालपानीपूर्वमा भारतीय सीमा प्रहरीका १५ वटा पक्की घर बनाएको देखिन्थ्यो । त्यहाँ भारतीय सैनिक, अर्धसैनिक र गुप्तचरले बाह्रैमहिना सुरक्षा दिइरहन्थे । त्यहाँबाट तिब्बती क्षेत्रबाट आउने सेना सहजै देख्न सकिन्थ्यो । नेपाल र भारतको सीमा नदीपूर्व नेपालको भूभाग पर्छ तर त्यतिबेला नै नेपाली क्षेत्रमा भारतीय सुरक्षा फौज राखेर नक्कली कालीनदी तयार गरिएको थियो । त्यसैलाई अहिले भारतले कालीनदी मानेर नेपालको भूभागमा आफ्नो सैनिक शिविर खडा गरेको छ ।
त्यतिबेलाको समाचारमा उल्लेख भएअनुसार भारतीय सैनिक शिविरको द्वारअगाडि एउटा कुलो बनाइएको थियो । पक्की ढंगले बनाइएको उक्त कुलोको स्रोतका रूपमा एउटा तलाउ पनि निर्माण गरिएको थियो । पहाडको फेदमा रसाएको पानी जम्मा गरेर आफैंले बनाएको त्यही सानो तलाउलाई भारतले कालीनदीको मुहान हो भनेर अनौठो तर्क गर्दै आएको थियो । उसको उक्त दाबी अहिले पनि कायम छ । समाचारमा भनेजस्तै भारतले नक्कली कालीनदी खडा गरेर नेपाली भूभागलाई आफ्नो कब्जामा लिएको प्रस्ट देखिएको छ । भारतले नक्कली कालीभन्दा कैयौं गुणा ठूलो पानी बग्ने नदीलाई लिपुखोला भनेको छ । ![[Archive] That news from Kantipur that India has built a fake canal in Darchula...](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/miscellaneous/kala-4-2382025112211-1000x0.jpg)
तलाउको अगाडि पहाडमै भारतले शिव–पार्वतीको मन्दिर स्थापना गरेको थियो । मन्दिरको प्रांगणमा राखिएका मेचमा सानदार गलैंचा ओछ्याइएका थिए । तलाउ र कुलोको दुवैतिर घन्टी झुन्ड्याइएका थिए । मन्दिरका पुजारी भारतीय सैनिक थिए । कालीनदीको स्रोत कालापानी लिपुलेक हो । खाँटी कालापानी सैनिक शिविरभन्दा १० किमि उत्तरमा पर्छ । त्यहाँ पुरानो शिव–पार्वतीको मन्दिर रहेको स्थानीयले बताएका थिए । शिवको मन्दिर पछाडि अजंगको ॐ पर्वत छ । स्थानीयले भनेका थिए, ‘जहाँ हिउँपर्दा उक्त पर्वत ॐ जस्तै देखिन्छ ।’ उक्त पर्वतमा हिउँमा पनि ॐ देखिन्छ ।
स्थानीय छाङरुका स्थानीय तथा पूर्वप्रधानपञ्च जीतबहादुर बोहराका अनुसार कृत्रिम रूपमा बनाएको मन्दिरको पछाडि ढुंगामा पोतेर ॐ बनाइएको छ । जुन ॐ आर्टिफिसियल हो । व्यास गाउँपञ्चायत (२०४६ पछि गाउँविकास समिति)का प्रमुखसमेत रहेका बोहराले तलाउ र मन्दिर नक्कली बनाएकामा आफूहरू नझुक्किने त्यतिबेला नै कान्तिपुरलाई बताएका थिए । समाचार प्रकाशित भएको साताअघि कालापानी पुगेका संवाददातालाई कालीको स्रोत यही हो भन्दै भारतीय सेनाले नक्कली मुहान देखाएका थिए । भारतीय सुरक्षाकर्मीले संवाददातालाई भनेका थिए, ‘खास कालीनदी त त्यहाँबाट पूर्व दक्षिण पर्दछ । त्यो खहरे हो । त्यहाँ एक थोपा पानी पनि छैन ।’ हामीले त नेपाललाई सहानुभूति राखेर (नक्कलीलाई देखाउँदै) यसैलाई सीमाको कालीनदी कायम गरेका छौं भन्दै भारतीय सैनिक अघि बढेका थिए ।
१९६२ मा भारतीय सैनिक शिविर स्थापित भएपछि नेपालीलाई तिब्बत जान समस्या भएको थियो । त्यतिबेला नै नेपालले कूटनीतिक क्षमता देखाउन नसकेको स्थानीयले बताएका थिए । छाङरुस्थित प्रशासन कार्यालयका तत्कालीन निमित्त शाखा अधिकृत फकिरसिंह धामीले २०३४ मा सीमा कार्यालय स्थापना भएदेखि नै नेपाली भूभाग भारतले मिचेको लिखित जानकारी केन्द्रीय सरकारलाई गराइरहेको जानकारी दिएका थिए । उनका अनुसार सीमा बैठकमा आउने नेपाली अधिकारीहरूले पनि नेपाली भूभागमा भारतीय सेना देखे पनि बेवास्ता गरेर फर्कने गरेको उनले बताएका रहेछन् । । सीमामा भारतीय सेनाको शिविर सधैं रहने तर नेपालका सुरक्षाकर्मीको पोस्ट डेढ दिनको बाटो तल झार्ने गरिएको गुनासो स्थानीयले गरेका थिए ।
त्यतिबेला करिब १६ हजार फिट उचाइमा रहेको कालापानी लिपुलेक काटेर तिब्बत जाने नेपाली छाङरु र तिंकरका बासिन्दाहरू भारतीय तिब्बती सीमा द्वार बनाइएको स्थानमा रोकिने गरेका थिए । कैलाश तीर्थयात्रा र ताक्लाकोट व्यापारका लागि जानेहरूको प्रवेश द्वारमा लेखिएको थियो, ‘भारतीय तिब्बती सीमा प्रहरी तपाईंलाई स्वागत गर्दछ ।’ कैलाश मानसरोबर जाने नेपाली आफ्नै बाटोमा रोकिनुपर्ने गुनासो गर्थे । नेपालीलाई १८ हजार फिट उचाइ काटेर तिब्बत जानुपर्ने बाध्यता बनाइएको थियो ।
छाङरुका ४७ वर्षे फडतरु सानैमा कालापानी लिपुलेकबाट तिब्बत व्यापारका लागि गएको सम्झने गरेको कान्तिपुरलाई बताएका थिए । उनले त्यतिबेला भनेका थिए, ‘भारतले लिएको लिपुलेक तिब्बत जाने सजिलो बाटो हो ।’ उनले त्यतिबेला आफूहरू कालापानी लिपुलेक भन्दा २ हजार फिट अग्लो तिंकर भन्ञ्याङ लिपुलेक भएर तिब्बत जाने गरेको गुनासो गरेका थिए ।
कालापानी र लिपुलेकलाई भारतले कसरी कब्जामा लिइरहेको छ लगायत सन्दर्भलाई जोडेर २०५३ असोज २९ मा कान्तिपुरमा खोजी स्टोरी छापिएको थियो । ‘कालापानीमा भारतीय सीमा प्रहरी शिविरः भारतद्वारा महाकालीको कृत्रिम मुहान निर्माण’ शीर्षकमा छापिएको उक्त समाचारमा समावेश भएको सन्दर्भ अहिले फेरि उठेको छ । कूटनीतिक क्षेत्रका अगुवाहरू धेरैको भनाइमा जतिबेला भारतले सीमामा सेना राख्यो, त्यही बेला विरोध गरेर कूटनीतिक प्रयास गरेको भए यो अवस्था आउने नै थिएन ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That news from Kantipur that India has built a fake canal in Darchula...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/map-1-2182025023537-1000x01-2382025112300-1000x0.jpg&w=1001&h=0)