[अर्काइभ] भारतले दार्चुलामा नक्कली कालीनदी खडा गरेको कान्तिपुरको त्यो समाचार...

भारतले कालापानीमा नक्कली कालीनदी खडा गरेर नेपाली भूमि कब्जा गरेको छ। कूटनीतिक चुप्पीले यो समस्या थप जटिल बनेको छ।

भाद्र ७, २०८२

कान्तिपुर संवाददाता

[Archive] That news from Kantipur that India has built a fake canal in Darchula...

What you should know

काठमाडौँ — जब चीन र भारतले नेपालीभूमि दार्चुलाको लिपुलेकलाई दुवै देशले व्यापारिक ‘पास’ बनाउने निर्णय गरेको सूचना सार्वजनिक भयो, त्यसको नेपालका राजनीतिक दल र नागरिक तहबाट चर्को विरोध भएको छ । 

नेपाली भूमि कालापानीमा सन् १९६२ देखि भारतीय सेना बस्न थालेपछि सुरु भएको विवादलाई भारतले भने बेवास्ता गर्दै आएको छ । नेपाल-अंग्रेजबीचको युद्ध अन्त्य गर्दै सन् १८१६ मार्च ४ मा सुगौली सन्धि भएको थियो । उक्त सन्धिअनुसार नेपाल र भारतबीचको पश्चिमी सीमा कालीनदीलाई कायम गरिएको थियो । सन्धिअनुसार कालीको शिर लिम्पियाधुराभन्दा पश्चिमको भूभाग भारतको हो भने पूर्वका कालापानी र लिपुलेक नेपाली भूभाग हुन् ।

आजभन्दा २९ वर्षअघि कान्तिपुरका पत्रकार नारायण वाग्ले ‘फिल्ड’मै गएर सम्प्रेषण गरेको कालापानी क्षेत्रको समाचारमा नक्कली कालीनदी खडा गरेर नेपालको भूभाग भारतले कब्जा गरेको उल्लेख छ । उक्त समाचारमा नेपालको भूभाग लिपुलेकबाट तिब्बत जाने सजिलो बाटो थियो, जुन नेपालको हो भन्ने उल्लेख थियो । 

कान्तिपुरमा त्यतिबेला छापिएको समाचार अनुसार कालपानीपूर्वमा भारतीय सीमा प्रहरीका १५ वटा पक्की घर बनाएको देखिन्थ्यो । त्यहाँ भारतीय सैनिक, अर्धसैनिक र गुप्तचरले बाह्रैमहिना सुरक्षा दिइरहन्थे । त्यहाँबाट तिब्बती क्षेत्रबाट आउने सेना सहजै देख्न सकिन्थ्यो । नेपाल र भारतको सीमा नदीपूर्व नेपालको भूभाग पर्छ तर त्यतिबेला नै नेपाली क्षेत्रमा भारतीय सुरक्षा फौज राखेर नक्कली कालीनदी तयार गरिएको थियो । त्यसैलाई अहिले भारतले कालीनदी मानेर नेपालको भूभागमा आफ्नो सैनिक शिविर खडा गरेको छ ।

त्यतिबेलाको समाचारमा उल्लेख भएअनुसार भारतीय सैनिक शिविरको द्वारअगाडि एउटा कुलो बनाइएको थियो । पक्की ढंगले बनाइएको उक्त कुलोको स्रोतका रूपमा एउटा तलाउ पनि निर्माण गरिएको थियो । पहाडको फेदमा रसाएको पानी जम्मा गरेर आफैंले बनाएको त्यही सानो तलाउलाई भारतले कालीनदीको मुहान हो भनेर अनौठो तर्क गर्दै आएको थियो । उसको उक्त दाबी अहिले पनि कायम छ । समाचारमा भनेजस्तै भारतले नक्कली कालीनदी खडा गरेर नेपाली भूभागलाई आफ्नो कब्जामा लिएको प्रस्ट देखिएको छ । भारतले नक्कली कालीभन्दा कैयौं गुणा ठूलो पानी बग्ने नदीलाई लिपुखोला भनेको छ । [Archive] That news from Kantipur that India has built a fake canal in Darchula...

तलाउको अगाडि पहाडमै भारतले शिव–पार्वतीको मन्दिर स्थापना गरेको थियो । मन्दिरको प्रांगणमा राखिएका मेचमा सानदार गलैंचा ओछ्याइएका थिए । तलाउ र कुलोको दुवैतिर घन्टी झुन्ड्याइएका थिए । मन्दिरका पुजारी भारतीय सैनिक थिए । कालीनदीको स्रोत कालापानी लिपुलेक हो । खाँटी कालापानी सैनिक शिविरभन्दा १० किमि उत्तरमा पर्छ । त्यहाँ पुरानो शिव–पार्वतीको मन्दिर रहेको स्थानीयले बताएका थिए । शिवको मन्दिर पछाडि अजंगको ॐ पर्वत छ । स्थानीयले भनेका थिए, ‘जहाँ हिउँपर्दा उक्त पर्वत ॐ जस्तै देखिन्छ ।’ उक्त पर्वतमा हिउँमा पनि ॐ देखिन्छ । 

स्थानीय छाङरुका स्थानीय तथा पूर्वप्रधानपञ्च जीतबहादुर बोहराका अनुसार कृत्रिम रूपमा बनाएको मन्दिरको पछाडि ढुंगामा पोतेर ॐ बनाइएको छ । जुन ॐ आर्टिफिसियल हो । व्यास गाउँपञ्चायत (२०४६ पछि गाउँविकास समिति)का प्रमुखसमेत रहेका बोहराले तलाउ र मन्दिर नक्कली बनाएकामा आफूहरू नझुक्किने त्यतिबेला नै कान्तिपुरलाई बताएका थिए । समाचार प्रकाशित भएको साताअघि कालापानी पुगेका संवाददातालाई कालीको स्रोत यही हो भन्दै भारतीय सेनाले नक्कली मुहान देखाएका थिए । भारतीय सुरक्षाकर्मीले संवाददातालाई भनेका थिए, ‘खास कालीनदी त त्यहाँबाट पूर्व दक्षिण पर्दछ । त्यो खहरे हो । त्यहाँ एक थोपा पानी पनि छैन ।’ हामीले त नेपाललाई सहानुभूति राखेर (नक्कलीलाई देखाउँदै) यसैलाई सीमाको कालीनदी कायम गरेका छौं भन्दै भारतीय सैनिक अघि बढेका थिए । 

 १९६२ मा भारतीय सैनिक शिविर स्थापित भएपछि नेपालीलाई तिब्बत जान समस्या भएको थियो । त्यतिबेला नै नेपालले कूटनीतिक क्षमता देखाउन नसकेको स्थानीयले बताएका थिए । छाङरुस्थित प्रशासन कार्यालयका तत्कालीन निमित्त शाखा अधिकृत फकिरसिंह धामीले २०३४ मा सीमा कार्यालय स्थापना भएदेखि नै नेपाली भूभाग भारतले मिचेको लिखित जानकारी केन्द्रीय सरकारलाई गराइरहेको जानकारी दिएका थिए । उनका अनुसार सीमा बैठकमा आउने नेपाली अधिकारीहरूले पनि नेपाली भूभागमा भारतीय सेना देखे पनि बेवास्ता गरेर फर्कने गरेको उनले बताएका रहेछन् । । सीमामा भारतीय सेनाको शिविर सधैं रहने तर नेपालका सुरक्षाकर्मीको पोस्ट डेढ दिनको बाटो तल झार्ने गरिएको गुनासो स्थानीयले गरेका थिए । 

त्यतिबेला करिब १६ हजार फिट उचाइमा रहेको कालापानी लिपुलेक काटेर तिब्बत जाने नेपाली छाङरु र तिंकरका बासिन्दाहरू भारतीय तिब्बती सीमा द्वार बनाइएको स्थानमा रोकिने गरेका थिए । कैलाश तीर्थयात्रा र ताक्लाकोट व्यापारका लागि जानेहरूको प्रवेश द्वारमा लेखिएको थियो, ‘भारतीय तिब्बती सीमा प्रहरी तपाईंलाई स्वागत गर्दछ ।’ कैलाश मानसरोबर जाने नेपाली आफ्नै बाटोमा रोकिनुपर्ने गुनासो गर्थे । नेपालीलाई १८ हजार फिट उचाइ काटेर तिब्बत जानुपर्ने बाध्यता बनाइएको थियो । 

छाङरुका ४७ वर्षे फडतरु सानैमा कालापानी लिपुलेकबाट तिब्बत व्यापारका लागि गएको सम्झने गरेको कान्तिपुरलाई बताएका थिए । उनले त्यतिबेला भनेका थिए, ‘भारतले लिएको लिपुलेक तिब्बत जाने सजिलो बाटो हो ।’ उनले त्यतिबेला आफूहरू कालापानी लिपुलेक भन्दा २ हजार फिट अग्लो तिंकर भन्ञ्याङ लिपुलेक भएर तिब्बत जाने गरेको गुनासो गरेका थिए ।

कालापानी र लिपुलेकलाई भारतले कसरी कब्जामा लिइरहेको छ लगायत सन्दर्भलाई जोडेर २०५३ असोज २९ मा कान्तिपुरमा खोजी स्टोरी छापिएको थियो । ‘कालापानीमा भारतीय सीमा प्रहरी शिविरः भारतद्वारा महाकालीको कृत्रिम मुहान निर्माण’ शीर्षकमा छापिएको उक्त समाचारमा समावेश भएको सन्दर्भ अहिले फेरि उठेको छ । कूटनीतिक क्षेत्रका अगुवाहरू धेरैको भनाइमा जतिबेला भारतले सीमामा सेना राख्यो, त्यही बेला विरोध गरेर कूटनीतिक प्रयास गरेको भए यो अवस्था आउने नै थिएन ।

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully