[अर्काइभ] नख्खुबाट भागेका विकास खुट्टा भाँचिएको अवस्थामा पुन: पक्राउ

पत्रकार पदम ठकुराठीमाथि गोली हानेको अभियोगमा जेल सजाय भोगिरहेका गुरुङ नख्खु जेलको पर्खाल नाघेर भागेका थिए । सोही राती उनी खुट्टा भाँचिएको अवस्थामा पुन: पक्राउ परे।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

[Archive] Vikas who escaped from Nakhkhu re-arrested with a broken leg

What you should know

काठमाडौँ — आजभन्दा ३१ वर्षअघि ‘कुख्यात कैदी’ को रूपमा चिनिएका विकास गुरुङ नख्खुमा जेल जीवन बिताइरहेका थिए । उनले पञ्चायतकालमा पत्रकार पदम ठकुराठीलाई घरमै सुतिरहेको अवस्थामा टाउकोमा गोली प्रहार गरेर हत्या प्रयास गरेका थिए ।

पञ्चायतकालमा दरबारका भाइभारदारहरूको निर्देशमा २०४३ भदौ २० मा ठकुराठीमाथि गोली प्रहार गरी मार्ने प्रयास गरेको अभियोगमा गुरुङले जेल सजाय भोगिरहेका थिए । 

२०५१ साउन २२ को राती ११.४० मा विकास नख्खु जेलको १५ फिट अग्लो पर्खाल नाघेर भाग्ने कोसिस गरिरहेको ६ नम्बर पोस्टका गार्डले देखे । जेलको सुरक्षामा खटिएका गार्डले विकासमाथि गोली प्रहार गर्न खोजे तर बन्दुक पड्केन । किन पड्केन बन्दुक ? गार्डले अचम्म मानेर बन्दुक जाँचे तर बन्दुकमा त गोली नै थिएन । गार्डले हतार–हतार गोली लोड गर्न थाले । गोली लोड गरेर जेलको पर्खाल नजिकै पुग्दा विकास त्यहाँबाट भागिसकेका थिए । 

विकास नख्खु कारागारको उत्तरपूर्वी बुर्जाबाट भागेका थिए । जेलको गार्डको बन्दुक खाली देखिनु पनि त्यतिबेला शंकाको अवस्था सिर्जना भएको थियो । 

राती मुसलधारे पानी परिरहेको थियो । ढोडलाई कपडाले बाँधेको लट्ठीको सहायताबाट विकासले पर्खाल नाघेको दाबी जेल प्रशासनले गरेको थियो । तत्कालीन जेलर सहदेव पराजुलीका अनुसार पर्खालमाथि रहेको तारको विद्युत् प्रवाहलाई बाक्लो कपडा हातमा बाँधेर रोकेको अनुमान गरिएको थियो । त्यसअघि पनि विकास २०४८ असार १० मा वीर अस्पतालमा उपचार गर्न लगेका बेला भोटेबहालबाट भागेका थिए । त्यतिबेला उनलाई २०५१ असार २ मा ललितपुरबाट पक्राउ गरिएको थियो । 

गृह मन्त्रालयका प्रवक्ता श्रीकान्त रेग्मीले विकास पर्खालबाट बाहिर हाम फालेको आवाज सुनेर सुरक्षाकर्मी आइपुग्दा उनले प्रयोग गरेको कपडा र हुक देखेको जानकारी दिएका थिए । त्यसपछि मात्रै जेल प्रशासनले विकास भागेको थाहा पाएको उनले बताएका थिए । विकास भागेपछि उनका साथीहरू भएको कोठामा जाँच गरिएको थियो । उनीहरू त्यतिबेला पनि मस्त निदाइरहेका थिए । विकास फरार भएको सूचना पाएपछि उपत्यकाका सबै नाकामा सुरक्षा निगरानी बढाइएको थियो । [Archive] Vikas who escaped from Nakhkhu re-arrested with a broken leg

विकासमाथि ठकुराठी काण्ड मात्र होइन– विभिन्न हत्या, चोरी, डकैती, बलात्कारसम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन थिए । त्यसैले उनलाई प्रहरीले कुख्यात अपराधीको संज्ञा दिएको थियो । विकास फरार भएपछि अपराध कर्म पनि थपिएको थियो । उनी फरार भएपछि प्रहरीको उदासिनताको चौतर्फी आलोचना भएको थियो ।

पर्खालबाट भागेका विकास राती नै घाइते अवस्थामा पक्राउ परेका थिए । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । अस्पतालका अनुसार बायाँ खुट्टा ठाउँठाउँमा भाँचिएकाले उपचार हुन कम्तीमा तीन महिना लाग्ने जानकारी दिइएको थियो । हाड जोडिन समय लाग्ने भएकाले अस्पतालको लामो बसाइ हुने अवस्था बनेको थियो । उनलाई शिक्षण अस्पतालको क्याबिन नम्बर ४१२ मा कडा सुरक्षा दिएर राखिएको थियो । 

सुरक्षा स्रोतका अनुसार कारागारको उत्तरतर्फ करिब ५ सय मिटर टाढा विष्णुदेवी मन्दिरमा लुकेर बसेका बेला आएको गाडीलाई उनले रोकेका थिए । रातको समय भएकाले रोकेको गाडी प्रहरीको हो भन्ने थाहा नभएकाले पक्राउ परेको भनाइ स्रोतको रहेको थियो । गृहका प्रवक्ता रेग्मीले भने विकासलाई विष्णुदेवी मन्दिर नजिकैको कामदार बस्ने कोठाबाट गिरफ्तार गरेको दाबी गरेका थिए । भाग्ने क्रममा सानो विद्युतीय तारमा अल्झेर लड्दा खुट्टा भाँचिएको अनुमान जेल प्रशासनको थियो । योजनाबद्ध रूपमा जेलबाट भागेका उनी तत्कालै पक्राउ पर्नुमा खुट्टा भाँचिएका कारण हिँड्न नसकेको हुन सक्ने अनुमान गरिएको थियो । 

त्यसअघि २०४८ सालमा विकास फरार रहेका बेला पोखरामा भएका दुई छुट्टाछुट्टै हत्या काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका स्याङ्जाका देवेन्द्र गुरुङ र रामबजार पोखराका उदय नेपालीलाई कास्की जिल्ला अदालतले २०५१ साउन २३ मा पुर्पक्षमा पठाउने आदेश दिएको थियो । विकास पहिलो पटक भागेर पक्राउ परेपछि ललितपुरको सरकारी वकिललाई दिएको बयानका आधारमा देवेन्द्र र उदयलाई पक्राउ गरिएको थियो । विकास भागेका बेला पनि चोरी, डकैती लगायतका घटनामा संलग्न रहेको आरोपमा अनुसन्धान गरिएको थियो । 

पञ्चायतको चर्चित काण्डका अभियुक्त विकास दोस्रो पटक नख्खु जेलबाट भाग्न सफल भएपछि त्यतिबेला जेल प्रशासन कति कमजोर रहेछ भन्ने समेत घटनालाई जोडेर पत्रकार श्याम घिमिरेले तयार गरको समाचारलाई कान्तिपुरले ‘नख्खु जेलबाट फरार गुरुङ अस्पतालमा’ शीर्षकमा २०५१ साउन २४ मा प्रकाशित गरेको थियो । 

गोली नै नभएको बन्दुक बोकेर गार्डले जेलको सुरक्षा गरिरहेको सन्दर्भ त्यतिबेला रोचक बनेको थियो । ढोडको लठ्ठीको सहाराले कसरी पर्खाल नाघ्न सफल भए, त्यो पनि त्यतिबेला धेरैले पत्याएका थिएनन् । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully