कांग्रेसभित्र असन्तुष्टि चुलिएपछि २०५१ भदौ २ मा बीपी कांग्रेसका नामबाट एकै दिन दुई पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।
What you should know
काठमाडौँ — प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरी राजाबाट मध्यावधि निर्वाचनको मिति घोषणा गर्न लगाएपछि सत्तारुढ नेपाली कांग्रेसभित्रको आन्तरिक कलह साम्य हुने भन्दा पनि चर्किंदै गइरहेको थियो ।
कांग्रेस एकताका लागि सभापति कृष्णप्रसाद भट्टराईले केन्द्रीय कार्यसमिति पुनर्गठन गरे । तर, त्यसले पनि प्रधानमन्त्री कोइरालालाई नै फाइदा पुगेको भन्दै पार्टीका छत्तीसे समूहका सांसद तथा नेताहरूले २०५१ भदौ २ मा पार्टीका सर्वमान्य नेता गणेशमान सिंह निवासमा भेला आयोजना गरेर चर्को असन्तुष्टि जनाए ।
गणेशमान निवास चाक्सीबारीमा उनीहरूले कोइरालाप्रति मात्रै असन्तुष्टि जनाएनन्, सभापति भट्टराईको पनि खुलेर आलोचना गरेका थिए । भेलामा ढुण्डीराज शास्त्री, चिरञ्जीवी वाग्ले, तारानाथ रानाभाट, निवर्तमान केन्द्रीय सदस्य बलबहादुर केसी र कुवेर शर्माको सहभागिता थियो । भेलामा असन्तुष्टहरू जगनाथ आचार्य, लोकराज जोशी, शेषनाथ अधिकारी, बद्रीनारायण बस्नेत, विमलेन्द्र निधिलगायतको सहभागिता थियो ।
उक्त भेलाले पार्टीमा एउटा पक्षलाई पाखा लगाउने गरी कार्यसमिति पुनर्गठन गरिएको निष्कर्ष निकालेको थियो । उनीहरूले कृष्णप्रसादले प्रधानमन्त्री कोइरालाको इच्छा पूरा गर्ने गरी निर्णय गरेको भन्दै पार्टीका इमान्दार, पुराना, निष्ठावान् र संघर्षशील कार्यकर्तामाथि अन्तर्घात गरेको ठहर गरेका थिए । छत्तीसे समूहका नेताहरूले आफ्ना कुरा प्रस्ट राख्नुपर्ने भन्दै ढुण्डीराज र चिरञ्जीवी वाग्लेले गिरिजाप्रसाद हावी भइरहेमा केन्द्रीय समिति छाड्ने बताएका थिए । भेलामा केन्द्रीय सदस्य मंगलादेवी सिंहको भने उपस्थिति थिएन । ![[Archive] Chattise gathering in Chaksibari, not only Koirala but also Bhattarai criticized](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-5-3-0292025104107-1000x0.jpg)
काठमाडौं कांग्रेस सभापति प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको चाक्सीबारी भेलामा उपस्थित सांसद र केन्द्रीय नेताहरूले गिरिजाप्रसादलाई कार्यसमितिमा हावी हुन नदिने निर्णय गरेका थिए । कृष्णप्रसादले भने पार्टीको बृहत्तर हितका लागि केन्द्रीय समिति पुनर्गठन गरिएको बताएका थिए ।
रेडियो नेपालबाट प्रसारण हुने घटना र विचार कार्यक्रममा बोल्दै कृष्णप्रसादले पार्टी एकताका लागि गणेशमान, गिरिजाप्रसादसहित तीनै जना नेताको संयुक्त वक्तव्य जारी हुने आश्वासन दिएका थिए । उनले निर्वाचनमा गुण र दोषका आधारका टिकट दिनुपर्ने धारणा रेडियो नेपालसँग राखेका थिए । नेपाल विद्यार्थी संघका कार्यकर्ताले भट्टराईद्वारा गरिएको केन्द्रीय कार्यसमिति पुनर्गठनप्रति असन्तुष्ट जनाएका थिए ।
पार्टीमा असन्तुष्टि बढ्दै गएपछि २०५१ भदौ २ मा बीपी कांग्रेसका नामबाट एकै दिन दुई पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको थियो । नेपाली कांग्रेस (बीपी) नाम राखेर पार्टी दर्ता गरिएको थियो । उक्त पार्टीको अध्यक्षमा तुलसीराम काफ्ले रहेका थिए । उनको कार्यसमितिमा ओखलढुंगा, उदयपुर, सिन्धुली, सोलुखुम्बुलगायतका जिल्लावासी रहेका थिए । उक्त पार्टी निवर्तमान केन्द्रीय सदस्य बलबहादुर केसीको निर्देशनमा गठन भएको बताइएको थियो । तर केसीले भने आफूलाई कुनै पनि जानकारी नभएको बताएका थिए ।
सुनसरीका कांग्रेस कार्यकर्ता विश्वराज शर्माको अध्यक्षतामा अर्को पनि बीपी कांग्रेस पार्टी त्यसै दिन निर्वाचन आयोजनमा दर्ता गरिएको थियो । विराटनगरका कांग्रेस कार्यकर्ता उमेश गिरीको सक्रियतामा गठन गरिएको भनिएको उक्त पार्टीको महासचिवमा रोहित तामाङ (काठमाडौं) र कोषाध्यक्षमा रञ्जनकुमार गिरी (मोरङ) लाई तोकिएको थियो । प्रवक्ता भने पत्रकार राजेश ढुंगानालाई तोकिएको थियो । कांग्रेसभित्रको कलह, बीपीकै नाममा नयाँ पार्टीको दर्ता लगायतका विषयमा कान्तिपुरले २०५१ भदौ ३ मा ‘कांग्रेसको अन्तरकलह अझै बाँकी’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
गणेशमान निवास क्षेत्रपाटीमा भएको कांग्रेसको एउटा पक्षको भेला, सभापति कृष्णप्रसादलाई नेविसंघको ज्ञापनपत्र, बीपी कांग्रेसको जन्म समाचारका मुख्य सन्दर्भ थिए ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Chattise gathering in Chaksibari, not only Koirala but also Bhattarai criticized](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/1-2644555694511351-0292025104812-1000x0.jpg&w=1001&h=0)