२०५१ सालमा नेपालगन्ज र काठमाडौंमा भारतीय गुप्तचरको अनधिकृत प्रवेश र छापामार प्रयासले नेपालमा सुरक्षा चुनौती थपिएको थियो ।
What you should know
काठमाडौँ — भारतीय प्रहरी अनुमतिबिना नै नेपाल प्रवेश गर्ने र व्यक्तिका घरमा खानतलासी एवं नागरिक पक्राउ गर्ने घटना दोहोरिन थालेका थिए । २०५१ साउन २३ मा बिनाअनुमति नेपालगन्जको भन्सार हातामा छिरेका भारतीय प्रहरीलाई स्थानीय प्रशासनले पक्राउ गरेको थियो ।
उनीहरूले भारतको नालन्दा बियर वारमा काम गर्ने गीता नाम गरेकी युवतीको हत्या गरी फरार रहेको आरोपमा दैलेखका लक्ष्मणबहादुर कार्कीलाई पक्राउ गर्न आएको बताएका थिए ।
भारत, महाराष्ट्र डोम्बिबली थानाका प्रहरी उपनिरीक्षक बीएस डोगरेसहित ५ जना नेपाल प्रवेश गरेका थिए । उनीहरूसँग मुम्बईमा काम गर्ने दैलेखकै सुरजन हमाल पनि सँगै आएका थिए । नेपाल प्रहरीले उनीहरूलाई पक्राउ गरेर हिरासतमा राखेर कानुनी प्रक्रिया सुरु गरेको थियो ।
साउन २८ मा फेरि ५ जना भारतीय प्रहरी पक्राउ परेका थिए । उनीहरूलाई नेपालगन्जकै धम्बोजी चोकस्थित होटल ओरियन्टबाट दुईपटक गरेर ५ जना पक्राउ गरिएको थियो । पक्राउ परेका मध्ये चार जना भारतीय गुप्तचर संस्था सीबीआईसँग सम्बन्धित थिए । एक जना भने नयाँ दिल्लीबाट आएका एसीपी थिए ।
यसअघि २०५० चैत १४ मा भारतीय प्रहरी अनधिकृत रूपमा काठमाडौंको बानेश्वरस्थित सीडीओ टोलमा हतियारसहित घरघरमा प्रवेश गरेर छापा मारेका थिए । उक्त घटनाले सडक, संसद् र नागरिक तहमा समेत लामो समयसम्म विरोधका स्वर गुन्जेको थियो । छिमेकीको हेपाहा प्रवृत्तिका कारण नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको भन्दै भारतविरुद्ध जताततै विरोध जुलुससमेत प्रदर्शन भएको थियो । संसद्मा पनि विरोध भएको थियो ।
बानेश्वर घटनाको ४ महिनापछि अर्थात् २०५१ साउन २३ मा एउटा र २८ मा दुईवटा भारतीय प्रहरी टोली अनधिकृत रूपमा नेपाल प्रवेश गरेको थियो । बानेश्वरको घटनाबाहेक नै एक सातामा दुई टोली नेपालगन्जमा र एउटा टोली काठमाडौंमा प्रवेश गरेको हो ।
साउन २८ मा आफूलाई महाराष्ट्रको गुप्तचर प्रहरी बताउने तीन जना काठमाडौं बुद्धनगरस्थित होलील्याण्ड इन्टरनेसनल स्कुलमा प्रवेश गरेका थिए । विद्यालयमा प्रवेश गरी छापा मार्ने प्रयास गरेका थिए । विद्यालयका संस्थापक निर्देशक जीएन थापाका अनुसार ‘सीआईडी इन्स्पेक्टर’को नेतृत्वमा आएको टोली विद्यालय प्रवेश गरेको थियो ।![[Archive] After the Indian police started coming to Nepal...](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-4-29-0192025084719-1000x0.jpg)
उनीहरूको परिचयपत्र सक्कली हो वा नक्कली त्यो भने छुट्याउन सक्ने अवस्था थिएन । उनीहरूलाई नेपालको एक आर्किटेक्चर कार्यालयमा काम गर्ने सिक्किमकी महिलाले बाटो देखाएकी थिइन् । उनीहरू उक्त विद्यालयमा कार्यरत पल टोमस नामका भारतीय नागरिकलाई गिरफ्तार गर्न बलपूर्वक विद्यालय हातामा प्रवेश गरेका थिए । तर, विद्यालयले भारतीय नागरिक टोमसलाई वडा प्रहरी कार्यालय कालिमाटीको जिम्मा लगाइसकेको थियो ।
टोमसले विद्यालयलाई नेपाल प्रहरीमा जिम्मा लगाउन भनेका थिए । ती शिक्षकले ११ वर्षीया छोरीलाई पनि पढाउन त्यही विद्यालयमा राखेका थिए । उनले साताअघि मात्र उक्त विद्यालयमा पढाउन थालेका थिए ।
जागिरका लागि विद्यालयको सम्पर्कमा आएका टोमसले आफू फिफा रेफ्री भएको बताएका थिए । उनले धेरै जना नेपाली फुटबल खेलाडीको नाम पनि लिएका थिए ।
भारतीय प्रहरी आएको थाहा पाएर नेपाल प्रहरी उक्त विद्यालय पुग्दा भने भारतीय गुप्तचर बताउनेहरू भागिसकेका थिए । गृह मन्त्रालयका प्रवक्ता श्रीकान्त रेग्मीले भने भारतीय नेपाल प्रवेश गरेको विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका थिए ।
बानेश्वरको घटना बाहेक नै एक साताभित्रमा दुईवटा भारतीय प्रहरीको टोली नेपाल प्रवेश गरेर छापा मार्ने र व्यक्ति पक्रेर लैजान खोज्ने घटनाले नेपालको सुरक्षा व्यवस्था र भारतीय प्रहरीको हेपाहा र मिचाहा प्रवृत्ति सतहमा आएको थियो । नेपालगन्जमा ५ जना भारतीय प्रहरीलाई पक्राउ गरेर मुद्दा नै चलाइएको थियो ।
भारतीय प्रहरीको पटक–पटकको हस्तक्षेपका विषयमा केन्द्रित रहेर श्याम घिमिरे र शरद प्रधानले तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘राजधानीमा भारतीय प्रहरीको अर्को हस्तक्षेप’ शीर्षकमा २०५१ साउन २९ मा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] After the Indian police started coming to Nepal...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/indianpolice-0192025084927-1000x0.jpg&w=1001&h=0)