[अर्काइभ] जब संसद् पुनर्स्थापनाको रिट खारेज भयो...

एघार सदस्यीय विशेष पूर्ण इजालसमा प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायसहित सात जना रिट खारेजीको पक्षमा उभिएका थिए भने चार जना रिट जारी गर्नुपर्ने पक्षमा थिए ।

आश्विन १४, २०८२

कान्तिपुर संवाददाता

[Archive] When the writ of restoration of Parliament was dismissed...

काठमाडौँ — प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सिफारिसमा २०५१ भदौ २७ मा विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतले खारेज गरेपछि त्यसको पक्ष र विपक्षमा खुबै बहस भएको थियो ।

संसद् पुनःस्थापनको माग राख्दै साउन ११ मा रिट निवेदन दर्ता भएको थियो । पूर्वसांसदद्वय हरिप्रसाद नेपाल र गणेश पण्डित तथा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीका पति दुर्गा सुवेदी र राजनीतिक कार्यकर्ता लोककृष्ण भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसहित रिट दर्ता गरेका थिए । 

संसद् विघटन गरेको दुई महिनापछि प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायसहितको ११ सदस्यीय विशेष पूर्ण इजालसले रिट खारेजीको फैसला गर्दै निर्वाचनको बाटो खोलेको हो । 

११ जना न्यायाधीशमध्ये प्रधानन्यायाधीश उपाध्यायसहित सात जना रिट खारेजीको पक्षमा उभिएका थिए भने चार जना रिट जारी गर्नुपर्ने पक्षमा थिए । रिट खारेजी गर्ने पक्षमा उपाध्याय, सुरेन्द्रप्रसाद सिंह, हरगोविन्द सिंह प्रधान, रुद्रबहादुर सिंह, मोहनप्रसाद शर्मा, कृष्णजंग रायमाझी र गोविन्दबहादुर श्रेष्ठ उभिएका थिए । [Archive] When the writ of restoration of Parliament was dismissed...

प्रधानमन्त्रीले राजीनामा र संसद् विघटन एकै पटक गर्न पाउने कि नपाउने भन्ने विषयमा संविधानले यकिन नगरेको तर्क न्यायाधीशहरूले गरेका थिए । बहुमतले प्रतिनिधिसभा पुनःस्थापना नहुने फैसला गरे पनि संविधानले गरेका अन्य प्रावधानका विषयमा पनि न्यायाधीशहरूले फरक–फरक मत राखेका थिए । 

ओमभक्त श्रेष्ठको रायमा प्रधानमन्त्रीलाई राजीनामा र संसद् विघटनको दुवै अधिकार हुन नहुने उल्लेख गरिएको थियो । राजीनामापछि सिफारिसलाई संवैधानिक मान्न नसकिने राय प्रस्तुत भएको थियो । 

रिट निवेदनमाथिको बहसमा २९ जना कानुन व्यवसायीले भाग लिएका थिए । उक्त फैसलासँगै २०५१ कात्तिक २७ मा हुने मध्यावधि निर्वाचन सुनिश्चित भएको थियो । 

प्रतिनिनधिसभा पुनःस्थापनको रिट खारेजीको घटनालाई कान्तिपुर दैनिकले २०५१ भदौ २८ मा ‘प्रतिनिधिसभा विघटनसम्बन्धी रिट बहुमतद्वारा खारेज’ शीर्षकमा प्रकाशित गरेको थियो । उक्त समाचार पत्रकार तारानाथ दाहालले तयार पारेका थिए ।

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर संवाददाता

Link copied successfully