[अर्काइभ] यस कारण गणेशमान सिंह कांग्रेसबाट अलग

गणेशमान सिंहको कांग्रेस छाड्नुको उनको सबैभन्दा ठूलो गुनासो तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यशैलीप्रति थियो ।

आश्विन १७, २०८२

कान्तिपुर संवाददाता

[Archive] Because of this, Ganeshman Singh left the Congress

What you should know

काठमाडौँ — सन् १९९६ मा प्रजापरिषद्को सदस्य भएर प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएका गणेशमान सिंहलाई राणाहरूले काराबासको सजाय सुनाएका थिए । उनी काराबासको पर्खाल तोडेर भारतमा बीपी कोइरालासँग भेट भएपछि २००३ मा राष्ट्रिय कांग्रेसको संस्थापक सदस्य बनेका थिए ।

प्रजातन्त्रको लडाइँमा बीपीसँगै रहेर २००६ मा नेपाली कांग्रेसको संस्थापक सदस्य बनेका थिए । उनी प्रजातन्त्रका लागि जीवनभर लडेका थिए । राणाकालीन समयदेखि प्रजातन्त्रको पक्षमा उभिएर कांग्रेस पार्टीलाई अघि बढाएका गणेशमानले २०५१ भदौ ३१ मा कांग्रेस छाडेको औपचारिक घोषणा गरेका थिए । कांग्रेस छाड्नुको उनको सबैभन्दा ठूलो गुनासो तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यशैलीप्रति नै थियो । 

२०४८ सालमा झापाको कलबलगुढीमा भएको कांग्रेस महाधिवेशनदेखि नै असन्तुष्टि पोख्दै आएका गणेशमानलाई कोइरालाको शासनशैली मन परेको थिएन । सरकारले गर्ने राजनीतिक नियुक्ति, टनकपुर सम्झौता, पार्टीभित्रको गुटबन्दी, प्रतिनिधिसभा विघटन जस्ता घटनाक्रमले उनलाई जीवनभर आफैंले मलजल गरेको पार्टी छाड्ने मनस्थितिमा पुर्‍याएको थियो । 

टनकपुर सम्झौतामा सर्वोच्च अदालतले प्रधानमन्त्रीको विपक्षमा निर्णय गरेपछि कोइरालाले पद छाड्नुपर्ने अडान उनको थियो । प्रतिनिधिसभा विघटनले उनलाई झन् आक्रोशित बनाएको थियो । सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वासमा रहेका गणेशमानले त्यो पनि नभएपछि उनले आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरेर कांग्रेस छाडेको घोषणा गरेका थिए । उनले भनेका थिए, गिरिजाप्रसाद कोइरालाबाट भएका जति पनि गलत कार्य छन्, त्यसका पार्टी सभापति कृष्णप्रसाद भट्टराईले मतियारको भूमिका निर्वाह गर्नुभएको छ ।’ [Archive] Because of this, Ganeshman Singh left the Congress

टनकपुर सम्झौताका विषयमा सरकार पराजित भएपछि कोइरालाले त्यतिबेला नै राजिनामा दिनुपर्ने भनाइ गणेशमान सिंहको रहेको थियो । पछिल्लो घटना २०५१ भदौ २७ मा प्रतिनिधिसभा पुनर्स्थापना नभएपछि उनले त्यसै दिन कांग्रेसमा नबस्ने घोषणा गरेका थिए । त्यसकै निरन्तरताका रूपमा पत्रकार सम्मेलन गरेर कांग्रेस छाडेर स्वतन्त्र बस्ने घोषणा उनले गरेका थिए । पत्रकार सम्मेलनमा उनले पार्टी छाडे पनि राजनीतिक नछाडेको बताएका थिए । 

त्यतिबेला उनले राजनीतिक विश्लेषण गर्दै पूर्वपञ्चप्रति लक्षित गरेका थिए, ‘अहिले २०१७ देखि ३० वर्षसम्म दमन गर्नेहरूले प्रजातन्त्र र राष्ट्रियताको मुकुण्डो लगाएर आइरहेका छन् ।’ उनले कांग्रेसको ७५ जिल्लामा विवाद रहेको र यो नसुल्झिएसम्म र सरकारको अलोकप्रियता रहेसम्म पार्टीमा फर्कने सम्भावना नरहेको बताएका थिए । तर उनले आफ्नो आवश्यकता देखेर पार्टीमा सुधार आएमा पुनः फर्कन सक्ने पनि बताएका थिए । उनको भनाइ थियो, ‘कांग्रेसमा पार्टीभित्रैबाट प्रजातन्त्र विरोधी र तानाशाही काम भइरहेको छ ।’ उनले अब आफूलाई कांग्रेसको सर्वोच्च नेता नभन्न पनि आग्रह गरेका थिए । 

गणेशमान सिंहले पत्रकार सम्मेलन गरेर औपचारिक रूपका कांग्रेस छाडेको विषयलाई कान्तिपुरले ‘गणेशमान सिंहद्वारा नेपाली कांग्रेस परित्याग’ शीर्षकमा २०५१ असोज १ मा समाचार प्रकाशित गरेको थियो ।

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully