महोत्तरीको तत्कालीन पर्सादेवाड गाविस उपाध्यक्ष सिद्ध महतोले महिलाको मत श्रीमान्, छोरा, जेठाजु, देवरले खसाल्ने गरेको बताए । उनले भने, ‘समाजको सर्वसम्मत निर्णय अनुसार यसरी मत खसाल्ने गरिन्थ्यो ।’
What you should know
काठमाडौँ — २०३७ सालको जनमतसंग्रहमा पनि उनीहरूले मत खसाल्न पाएका थिएनन् । २०४६ को राजनीतिक परिवर्तनपछि बनेको जननिर्वाचित सरकारले पनि उनीहरूको मताधिकार सुरक्षित गरेन । लिङ्गका आधारमा महिलाले मत खसाल्न नपाउने चलन हट्न नसक्दा २०५१ कात्तिकमा हुन लागेको मध्यावधि निर्वाचनसम्म पनि उनीहरूलाई भोट खसाल्ने अधिकार दिइएको थिएन । त्यो गाउँ थियो, ‘महोत्तरीको पर्सादेवाड ।’
मतदान मात्र होइन, महिलालाई मतदान केन्द्रमा जानसमेत रोक लगाउने चलन त्यहाँ थियो । उनीहरूलाई कानुनले होइन, पुरुषहरूले मत दिने अधिकारबाट वञ्चित गरेका थिए । अर्थात् पुरुषहरूले त्यहाँका महिलाको मताधिकार खोसेका थिए । महिलाका नाममा पुरुषहरूले नै मतदान गर्थे ।
मतदान हुनुभन्दा केही दिनअघि नै पुरुषहरूले महिलाको मत कसरी खसाल्ने भन्ने विषयमा सभा नै गरेर निर्णय लिने गरेका थिए । प्रतिनिधिसभा निर्वाचन नियमावली, २०४७ ले अरूका नाममा मत दिन नपाउने व्यवस्था गरेको थियो । तर, उक्त गाउँका महिलाका नामको भोट भने उनीहरूका श्रीमान्, छोरा वा नातेदारले खसाल्ने चलन थियो । पर्साको तत्कालीन देवाड गाविस उपाध्यक्ष सिद्ध महतोले महिलाको मत श्रीमान्, छोरा, जेठाजु, देवरले खसाल्ने गरेको बताए । उनले भने, ‘समाजको सर्वसम्मत निर्णय अनुसार यसरी मत खसाल्ने गरिन्थ्यो ।’
२०५१ कात्तिक २९ मा हुने निर्वाचनमा पनि पुरुषहरूले नै महिलाको मत खसाल्ने निर्णय भइसकेको जानकारी उपाध्यक्ष महतोले दिए । उक्त गाउँमा मुस्लिम समुदाय धेरै बस्ने गरेको थियो । उक्त गाउँको निर्वाचनमा पटक–पटक खटिएर अनुभव सँगालेका गाविस सचिव विष्णुदेव यादवले कानुनमा बन्देज गरिएको भए पनि गाउँमा सर्वदलीय सहमतिमा प्रोक्सी मत खसाल्ने गरेको बताएका थिए । उक्त स्थानका केही पुरुषले भने मुस्लिम समुदायले घुम्टो ओढेर पटक–पटक पोसाक परिवर्तन गर्दै भोट खसाल्ने भएकाले यस्तो गरिएको बताएका थिए । घुम्टो ओढ्ने गरेकाले दोहोरिएको व्यक्ति चिन्न नसक्दा एउटै महिलाले दोहोर्याएर मत खसाल्ने सम्भावना हुँदा आपसी झगडा हुने भनाइ केही स्थानीयको थियो । ![[Archive] That Dewad village in Parsa where women are banned from voting...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page3kpr-16102025020811-1000x0.jpg)
स्थानीय महिलाहरूले भने ‘सौहर र पतिले अनुमति दिएमा भोट खसाल्न बुथमा जाने’ बताएका थिए । केही महिलाले भने आफ्नो पतिलाई भोट खसाल्न नदिन सामाजिक दबाब आउने गरेको बताएका थिए ।
उक्त गाविसमा मात्र होइन, महोत्तरी क्षेत्र नम्बर ३ अन्तर्गत तत्कालीन मन्त्री महेश्वरप्रसाद सिंहको निर्वाचन क्षेत्रको गेदा भेटपुर गाविसमा पनि महिलालाई मत खसाल्ने अधिकारबाट वञ्चित गरिँदै आएको थियो । उक्त स्थानमा भने महिलाले नखसालेको मत पुरुषले पनि खसाल्न नपाउने चलन थियो । निर्वाचन केन्द्रमा महिला आउन नपाएपछि उनीहरूका नामको मत खस्दैनथ्यो । महिलाले मत खसाल्न पनि पाउँदैनथे र उनीहरूका नाममा पुरुषलाई पनि मत खसाल्ने अधिकार दिइएको थिएन ।
पञ्चायतमा मात्र होइन, प्रजातन्त्र प्राप्त भएर २०४८ मा सम्पन्न पहिलो संसदीय निर्वाचन, २०४९ को स्थानीय निकायको निर्वाचन सम्पन्न भइसकेको थियो । २०५१ कात्तिक २९ मा मध्यावधि निर्वाचनको तयारी भइरहेको थियो । तर, गाउँका महिलाले निर्वाचनमा भोट खसाल्न नपाउनु आफैंमा अचम्मको विषय थियो । यिनै सन्दर्भलाई जोडेर महोत्तरी संवाददाता रवीन्द्र उप्रेतीले तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘जहाँ महिलाले भोट हाल्न पाउँदैनन्’ शीर्षकमा २०५१ कात्तिक २८ मा प्रकाशित गरेको थियो । उक्त समाचार निर्वाचनको अघिल्लो दिन प्रकाशित भएको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That Dewad village in Parsa where women are banned from voting...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/election-2942022103417-1000x0-1582025074656-watermarked1-16102025020942-1000x0.jpg&w=1001&h=0)