[अकाईभ] ३२ वर्षअघि कम्युनिस्ट सरकारले संसद‍्मा प्रस्तुत गरेको त्यो बजेट

अर्थमन्त्री अधिकारीले सिंहदरबारमा रहेको बजेट सिधैं गाउँ पुर्‍याएको बताउँदै ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ताको व्यवस्था सुरु गर्ने घोषणा पनि गरेका थिए ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

[Archive] The budget presented to parliament by the communist government 32 years ago

What you should know

काठमाडौँ — एमाले नेतृत्वको सरकारले ३२ वर्षअघि पहिलो पटक संसद‍्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०५१/०५२ को वार्षिक बजेटका कतिपय नीतिगत व्यवस्थाले अहिले पनि निरन्तरता पाइरहेको छ । नेपालको पहिलो कम्युनिस्ट सरकारले प्रस्तुत गरेको ४२ अर्ब ६९ करोड रुपैयाँको बजेटमार्फत लागू गरेको नीति तथा कार्यक्रमलाई एमाले नेताहरूले अहिले पनि प्रशंसा गरिरहेका छन् ।

२०५१ कात्तिक २९ मा भएको मध्यावधि निर्वाचनपछि ठूलो दलको हैसियतमा एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन भएको थियो । 

त्यतिबेलाका अर्थमन्त्री भरतमोहन अधिकारीले कुल खर्चको ४६.३६ प्रतिशत अर्थात् १९ अर्ब ७८ करोड १८ लाख २२ हजार विकास खर्च तथा ५३.६४ प्रतिशत अर्थात् २२ अर्ब ९० करोड ७ लाख ८९ हजार चालु खर्च प्रस्ताव गरेका थिए । सोही आर्थिक वर्षका लागि गिरिजाप्रसाद कोइरालाको चुनावी सरकारका अर्थराज्यमन्त्री महेश आचार्यले अध्यादेशमार्फत २०५१ असारमा ३९ अर्ब ९१ करोड ४४ लाख ९ हजारको बजेट असारमा प्रस्तुत गरेका थिए । त्यसको ६ महिनापछि अर्थमन्त्री अधिकारीले अर्को बजेट प्रस्तुत गरेका हुन् । [Archive] The budget presented to parliament by the communist government 32 years ago

अधिकारीले प्रस्तुत गरेको बजेटको आकार आचार्यले प्रस्तुत गरेको भन्दा ६.९५ प्रतिशतले बढी थियो । अधिकारीले राजस्वबाट २३ अर्ब ८५ कारोड १९ लाख ८ हजार प्राप्त हुने अनुमान गरेका थिए । वैदेशिक सहायता ४ अर्ब ४६ करोड २४ लाख ३० हजार अनुमान गरिएको थियो । उनले २०४८ यता विदेशी ऋण ७० प्रतिशत वृद्धि भई १०२ अर्ब पुगेको उल्लेख गरेका थिए । उनले गलैंचाको निकासीमा ३६ प्रतिशत ह्रास भएको जानकारी बजेटमार्फत संसदलाई दिएका थिए । त्यतिबेला नेपालको निकासी बस्तुमा गलैंचा पहिलो थियो । 

अर्थमन्त्री अधिकारीले कांग्रेसले नेतृत्व गरेको साढे तीन वर्षको सरकारले विदेशी सहयोगबाट बनेको कारखाना निजीकरण गरेको, आर्थिक वृद्धि सुस्त भएको, विदेशी ऋण बढेको र गरिबी बढ्दै गएको आरोप लगाएका थिए । आन्तरिक साधन र विदेशी ऋणलाई समुचित प्रयोग नगरेको भन्दै अर्थमन्त्री अधिकारीले प्रशासनिक क्षेत्र जनमुखी र स्वतन्त्र नभएको बताएका थिए । [Archive] The budget presented to parliament by the communist government 32 years ago

अधिकारीले प्रस्तुत गरेको बजेटले गरेको व्यवस्थाअनुसार ‘आफ्नो गाउँ आफैं बनाऔं र वृद्धभत्ता कार्यक्रम’ अहिलेसम्म आमनागरिकले सम्झने गरेका छन् । एमालेले यही नीतिलाई अहिले पनि आफ्नो चुनावी नारा बनाउँदै आएको छ । यसलाई अन्य दलले पनि निरन्तरता दिँदै आएका छन् । २०४८ को निर्वाचनपछि बनेको कांग्रेस सरकारले ग्रामीण स्वावलम्बन कार्यक्रममार्फत साविक प्रत्येक गाउँविकास समितिलाई वार्षिक १० हजार दिनबाट सुरु गरेको कार्यक्रम आव २०५१/०५२ मा ५० हजार दिने नीति ल्याएको थियो । तर एमाले सरकारले बर्सेनि प्रत्येक गाविसलाई तीन लाख दिने घोषणा बजेटमार्फत गरेको थियो । त्यतिबेला विकास शीर्षकमा एउटै गाविसले तीन लाख पाउनुलाई ठूलै रकम मानिन्थ्यो ।

‘आफ्नो गाउँ, आफैं बनाऔं’ भन्ने नारा सफल पार्न तीन लाख दिएको भनाइ अर्थमन्त्री अधिकारीको थियो । उनले सिंहदरबारमा रहेको बजेट सिधैं गाउँ पुर्‍याएको बताएका थिए । त्यसैगरी ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ताको व्यवस्था सुरु गर्ने घोषणा गरिएको थियो । उक्त दुवै कार्यक्रमअन्तर्गत अहिले पनि यो वा त्यो नाममा स्थानीय तहमा बजेट पठाउने र वृद्धभत्ताको दायरा बढाएर विपन्न तथा असहाय नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था भइरहेको छ । [Archive] The budget presented to parliament by the communist government 32 years ago

एमालेले त्यतिबेला बजेट गाउँको विकासमा केन्द्रित भएको दाबी गरेको थियो । अर्थमन्त्री अधिकारीले सांसदहरूलाई साविक जिल्ला विकास समिति कोषमार्फत वार्षिक २ लाख ५० हजार आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने अधिकार पनि दिएको थियो । अहिले सांसद विकास कोषको नामबाट आलोचना भइरहेको बजेट दिने व्यवस्था त्यही बेलाबाट सुरु भएको हो । बजेटमा विपन्न र पिछडिएको समुदायका बालबालिकालाई छात्रवृत्ति, स्वास्थ्य चौकीहरूको विस्तार, रासन कार्ड लागू गर्न अध्ययन जस्ता विषय समावेश गरिएको थियो । ९ कक्षासम्म निःशुल्क र मातृभाषामा प्राथमिक शिक्षाजस्ता विषय बजेटमा उल्लेख गरिएको थियो । बजेटले भूमि सुधारको माध्यमबाट सुकुम्बासी समस्या हल गर्ने उल्लेख गरिएको थियो । 

एमालेले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद रामशरण महतले अति ‘पपुलिष्ट’ भएको भन्दै कार्यान्वयनमा चुनौती रहेको बताएका थिए । उनले भनेका थिए, ‘हामीले कमायौं, उनीहरू खर्च गर्दैछन् । कांग्रेसको पालामा अर्थतन्त्रमा जुन अप्रत्यासित वृद्धि भएको थियो, त्यसलाई एमाले सरकारले लोकप्रिय हुने कार्यक्रममा उपयोग गर्ने मौका पाएको छ ।’ पूर्वअर्थमन्त्री तथा राप्रपा सांसद प्रकाशचन्द्र लोहनीले बजेट चुनावको पम्प्लेटजस्तो भएको बताएका थिए । [Archive] The budget presented to parliament by the communist government 32 years ago

२०४७ सालको अन्तरिम सरकारका अर्थमन्त्री देवेन्द्रराज पाण्डेले बजेटलाई सकारात्मक भनेका थिए । पूर्वअर्थमन्त्री भेषबहादुर थापाले देशको अर्थतन्त्र नाजुक रहेका बेला बजेट यथार्थपरक आएको बताएका थिए । उनले बजेटले गरिबलाई राहत र धनीलाई उन्नति गर्ने अवसर दिएको प्रतिक्रिया दिएका थिए । अर्थविद् पार्थिवेश्वर तिमिल्सिनाले बजेट गाउँमुखी भए पनि कार्यान्वयनका लागि संरचना बनिनसकेको बताएका थिए ।

पहिलो कम्युनिस्ट सरकारले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमहरूमा केन्द्रित भएर पत्रकार राजु नेपाल, प्रतीक प्रधान र विश्वमणि पोखरेलले तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘अर्थ मन्त्रीद्वारा रु. ४१ अर्ब ६९ करोड बजेट प्रस्तुत, बजेटका प्रमुख विशेषता, बजेट पपुलिस्ट छ’ जस्ता शीर्षकमा २०५१ पुस १२ गते प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully