[अर्काइभ] ‘विद्रोही कांग्रेस’को भेला बोलाएर गणेशमान गर्जिंदा...

भेलामा बोल्दै नेता गणेशमानले कोइरालाले बेइमानी गरेकामा आफूलाई कुनै आश्चर्य नलागे पनि सभापति कृष्णप्रसाद भट्टराईले पनि धोका दिएको भन्दै आक्रोश पोखेका थिए ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

[Archive] When Ganeshman roared after calling a meeting of the 'Rebel Congress'...

काठमाडौँ — मध्यावधि निर्वाचनमा ‘भ्रष्ट उम्मेदवार हराऊ’ भन्दै जनजागरण अभियान चलाएका नेपाली कांग्रेसका पूर्वसर्वोच्च नेता गणेशमान सिंहले फेरि दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका थिए ।

पहिलो चरणमा उनले २०५१ कात्तिक २९ मा भएको मध्यावधि निर्वाचनमा आधिकारिक विरुद्ध विद्रोही बनेका उम्मेदवारलाई समर्थन गरेर ‘भ्रष्ट कांग्रेस हराऊ’ अभियान नै चलाएका थिए । हराउनुपर्ने उनको निसानामा कोइराला निकट उम्मेवारहरू धेरै थिए । अभियान सञ्चालन गर्ने जिम्मेवारी भक्तपुर कांग्रेसका पुराना नेता जगन्नाथ आचार्यलाई तोकिएको थियो ।

कांग्रेसका विद्रोहीहरू ५० भन्दा बढी निर्वाचन क्षेत्रमा उठेका थिए । विशेषतः गणेशमान र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको द्वन्द्वका कारण पनि विद्रोही धेरै भएका हुन् । केही स्थानमा कोइराला पक्षले पनि विद्रोही उम्मेदवार खडा गरेको थियो । विद्रोही उम्मेदवार र पार्टीको आन्तरिक द्वन्द्वका कारण जनमतका आधारका हिसाबले मध्यावधिमा कांग्रेस दोस्रो पार्टी भएको थियो । प्रमुख प्रतिपक्षी एमालेले सबैभन्दा धेरै ८८ सिट जितेर पहिलो पार्टी मात्र बनेन, अल्पमतको सरकार पनि गठन गरेको थियो । 

२०४८ को प्रतिनिसिभामा बहुमतमा रहेको कांग्रेस मध्यावधिमा ८३ सिटमा झरेको थियो । गणेशमानले निर्वाचनका बेला चलाएको अभियान पुनः सञ्चालन गर्न २०५१ पुस ६ गते काठमाडौंमा तयारी बैठक आयोजना गरेका थिए । 

विद्रोही नेताहरूको संयोजक जगन्नाथ आचार्य, दुर्गा सुवेदी, राष्ट्रियसभा सदस्य बाबुराम नकर्मी, नवनिर्वाचित सांसद प्रदीप गिरि, नेताहरू युवराज शर्मा, भोला बोहरा, मनज्ञ लाकौल, गुलावशमशेर थापा, नविन चित्रकार, ताराबहादुर कोइराला, खड्गविक्रम शाह, भैरवसिंह रावल, निरञ्ज राजभण्डारीलगायतका नेताहरूको भेला गराएर छलफल गरिएको थियो ।

भेलामा विद्रोही उम्मेदवारसमेतको बैठकले दास्रो चरणको जागरण अभियान सुरु गर्ने जानकारी दिएको थियो । आचार्यले देशभरिका विद्रोही उम्मेदवारको बन्द बैठक बस्ने जानकारी दिएका थिए । आचार्य २०४८ को मन्त्री मण्डलमा भूमिसुधार भन्त्री थिए । उनले ‘क्रान्तिकारी भूमिसुधार’ योजना कार्यान्वयन गर्न नदिएको भन्दै प्रधानमन्त्री कोइरालासँग असन्तुष्टि जनाएर मन्त्री पदबाट राजिनामा दिएका थिए । [Archive] When Ganeshman roared after calling a meeting of the 'Rebel Congress'...

भेलामा बोल्दै नेता गणेशमानले आफूले अपमान सहन नसकेर पार्टी शुद्धीकरण अभियान चलाएको बताएका थिए । उनले कोइरालाले बेइमानी गरेकामा आफूलाई कुनै आश्चर्य नलागे पनि सभापति कृष्णप्रसाद भट्टराईले पनि धोका दिएको भन्दै आक्रोश पोखेका थिए । आफूले पार्टी खोल्न खोजेको नभई सुधारका लागि अभियान चलाएको जिकिर उनको थियो । ‘म भर्तृहरि भएको भए जोगी भइसक्थेँ,’ उनले भनेका थिए, ‘किसुनजीले देशप्रति कत्रो विश्वासघात गर्नुभयो ।’ भेलामा विद्रोही भएर आधिकारिक उम्मेदवार हराउन सफल भएकाहरूलाई मन्तव्य राख्न दिइएको थियो । कांग्रेसले भने विद्रोही सबैलाई कारबारही गरेको थियो । 

गणेशमानले नेपाली कांग्रेस छाडेको घोषण मध्यावधि निर्वाचनअगावै गरेका थिए । कांग्रेस प्रवक्ता तारानाथ रानाभाटले कान्तिपुरसँग भनेका थिए, ‘निर्वाचनको विषयमा कसको के भूमिका रह्यो। पार्टी संगठनबाटै तहगत रूपमा प्रतिवेदन मागिनेछ । तल्लो तहबाटै आएको प्रतिवेदनका आधारमा विद्रोहीलाई के गर्ने यकिन गर्न सकिन्छ ।’ उनले कांग्रेसले निर्वाचनमा धोका खाँदा पनि चेत नखुलेको धारणा राखेका थिए । 

गणेशमानको निर्देशनमा दुर्गा सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रमा नीतिगत असहमतिले नै विद्रोही उम्मेदवार बनेको बताइएको थियो । सुवेदी मध्यावधि निर्वाचनमा मोरङबाट गिरिजाप्रसादका विरुद्ध विद्रोही उम्मेदवार बनेका थिए । उनको धरौटी जफत भएको थियो ।

सांसद प्रदीप गिरिले पार्टीका विद्रोह र अराजकता फस्टाउनु भनेको विधानको अभाव रहेको बताएका थिए । उनले विद्रोहीले पार्टीको हितमा काम गर्नुपर्ने बताएका थिए । मध्यावधि निर्वाचनपछि गणेशमानले विद्रोही उम्मेदवारसँग छलफलका लागि गरेको तयारीको सिलसिला जोडेर पत्रकार नरदेव पाण्डेले गरेको रिपोर्टिङलाई कान्तिपुर दैनिकले २०५१ पुस ७ गते ‘खेल अब सुरु हुन लागेको छ : गणेशमान सिंह’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully