गणेशमान सिंहले अस्पतालबाट प्रजातन्त्रको रक्षामा आँसुका साथ भावुक अपील गर्दै नेताहरूसँग छलफल गरेका थिए।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले सरकार सञ्चालन र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यशैलीप्रति निरन्तर प्रश्न उठाउँदै आएका थिए ।काठमाडौं–१ मा भएको उपनिर्वाचनमा पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई हराउन भूमिका निर्वाह गरेको भन्दै कोइरालालाई कारबाही हुनुपर्ने माग उनको थियो ।
आफूले उठाएका जायज मागलाई पनि पार्टीको केन्द्रीय समितिले असान्दर्भिक ठहर्याएकामा गणेशमान सिंहले निकै चित्त दुखाएका थिए । त्यसैले उनी कांग्रेसको कार्यसमिति वा महत्त्वपूर्ण छलफलमा पनि सहभागी हुन छाडेका थिए । कांग्रेसबाट अलग हुन सक्ने भन्दै पटक–पटक आफ्नो धारणा अघि सार्दै आइरहेका थिए ।
असन्तुष्टि जारी नै थियो । यत्तिकैमा उनी बिरामी भएर वीर अस्पतालमा भर्ना भए । त्यतिबेला उनले आफू निकै गलेको महसुस गरेका थिए । २०४६ को जनआन्दोलन उत्कर्षमा पुगेका बेला पनि गणेशमान वीर अस्पतालमा उपचार गराइरहेका थिए । २०४६ चैत २४ मा सहिदगेटबाट रत्नपार्कतिर गइरहेको जुलुसलाई उनले वीर अस्पतालको छतबाट हात हल्लाएर हौसला प्रदान गरेका थिए । उनी त्यस जनआन्दोलनको कमान्डर थिए । ![[Archive] When Ganeshman started crying in the hospital bed...](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-3-25-1482025124642-1000x0.jpg)
२०५१ असारमा बिरामी परेर उनी त्यही अस्पतालमा उपचार गराइरहेका बेला पार्टीका नेता–कार्यकर्ताको भेटघाट बढेको थियो । शारीरिक अस्वस्थताका कारण आफूलाई भेट्न आएका शुभचिन्तकलाई उनले प्रजातन्त्र नमरोस् भन्दै चिन्ता व्यक्त गरिरहन्थे ।
२०५१ असार २४ मा अस्पताल पुगेका कांग्रेस केन्द्रीय सदस्य तथा सांसद तारानाथ रानाभाटसहितको टोलीलाई उनले भनेका थिए, ‘प्रजातन्त्र जोगाउने विषयमा असल मनले चिन्ता मात्र गर्न सक्ने अवस्थामा रहेको छु । तपाईंहरू आउनुभयो– गिरिजाप्रसाद पनि आउने कुरा थियो । सायद उहाँ पनि आउनुहोला,’ गणेशमानले भनेका थिए, ‘मेरो एउटै कामना छ– प्रजातन्त्र मर्न नदिनूस् ।’
आफ्ना कुरा राखिरहँदा गणेशमान सिंह एक्कासि रुन थाले र रुँदारुँदै उनले बिस्तारै थप कुराकानी गरेको भेटमा सहभागीहरूले बताएका थिए ।
आफूले भनेका कुरा वक्तव्यमार्फत आउने बताउँदै थप रुन थालेपछि भेटघाटमा गएकाहरू पनि रुन थालेका थिए । गणेशमानलाई रुन पनि गाह्रो भएको अवस्था बुझेपछि तारानाथ रानाभाट ‘पछि छलफल गरौंला’ भन्दै त्यहाँबाट बिदा भएर बाहिरिएका थिए । गणेशमानले जीवनको उत्तरार्द्धमा रुँदै प्रजातन्त्र रक्षाको विषयमा चिन्ता गरेको सन्दर्भ र विषयलाई कान्तिपुर दैनिकले ‘गणेशमान रुनुभयो’ शीर्षकमा २०५१ असार २५ मा समाचार प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] When Ganeshman started crying in the hospital bed...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ganesman-2592021064658-1482025125018-1000x0.jpg&w=1001&h=0)