[अर्काइभ] कार्की निवासमा विद्रोही सांसद र गिरिजाप्रसाद आमनेसामने भएपछि...

गणेशमान सिंहले कोइरालालाई अन्तरघातीको संज्ञा दिँदै राजीनामा माग गर्दै आएका थिए ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

[Archive] After rebel MP and Girija Prasad face to face at Karki residence...

What you should know

काठमाडौँ — सत्ता सञ्चालन गरेको तीन वर्षमा नेपाली कांग्रेसका ३६ जना सांसद विद्रोहीको रूपमा चिनिएका थिए । सरकारले पेस गरेको नीति तथा कार्यक्रमविरुद्ध मतदान गर्नेसम्मको चेतवानी उनीहरूले दिएका थिए ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले काठमाडौं–१ को उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराई हराउन भूमिका निर्वाह गरेको आरोप पार्टीका एकाथरी नेता–कार्यकर्ताले लगाएका थिए । पार्टीका सर्वमान्य नेता गणेशमान सिंहले त कोइराललाई अन्तरघातीको संज्ञा दिएर प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका थिए । पार्टीमा चरम गुटबन्दी मौलाएको थियो । 

 सर्वमान्य नेता सिंह र सभापति भट्टराई पक्षमा खुलेका ३६ जना सांसद कोइरालाको कदमको विरोध जनाइरहेका थिए । चुनावमा भट्टराईलाई हराएको, पार्टीमा गुटबन्दी गरेको, स्थानीय तहसम्म पार्टीलाई विभाजन गरेको, संसदीय दलमा देखिएको खाडल बढाउँदै लगेको, सर्वमान्य नेता सिंहको भावनालाई नसमेटेको लगायतका आरोप कोइरालामाथि लगाइएको थियो । 

सरकारले राजामार्फत आर्थिक वर्ष २०५१/०५२ को नीति तथा कार्यक्रम पेस गरेको अवस्थामा सत्ता पक्षका सांसदहरूबीच नै मनमुटाव बढ्दै गएको थियो । कतै नीति तथा कार्यक्रम नै असफल हुने त होइन भन्नेसम्मको जिज्ञासा उठेपछि राष्ट्रियसभा अध्यक्ष बेनीबहादुर कार्कीको निवासमा समन्वय बैठकको आयोजना गरिएको थियो । बैठकमा प्रधानमन्त्री कोइराला, सभापति भट्टराई, असन्तुष्ट सांसदहरूको उपस्थिति रहेको थियो । 

विद्रोही भनिएका सांसदहरू र कोइरालाबीच छलफल गराएर निकास दिने उद्देश्यले २०५१ असार २२ मा समन्वय बैठक आयोजना गरिएको थियो । सभापति भट्टराईले चियापानको आयोजना गरेको भन्दै दुवै पक्षलाई आमनेसाने गराएका थिए । 

कोइरालालाई विद्रोही सांसदहरूले असन्तुष्टि पोखेका थिए । उनीहरूले हिजो दुःखका बेला नभएका मान्छेहरूले अहिले साथ दिएको प्रसंग जोड्दै कोइराललाई सत्तामा नभएका बेला आफूहरू नै काम लाग्ने बताएका थिए । सांसदहरूले आफूहरूले कोइरालाको व्यक्तिगत विरोध नगरेको भन्दै जसले आज विरोध गरेका छन्, उनीहरूकै सहयोगमा तपाईं प्रधानमन्त्री बनेको बताएका थिए । विद्रोही पक्षका सांसद चिरञ्जीवी वाग्लेका अनुसार सांसदहरूले कोइरालालाई अझै पनि प्रधानमन्त्री पदबाट राजिनामा दिएर परिस्थिति सहज बनाउन भनेका थिए । कोइरालालाई सांसद वाग्लेले राजनीतिक रूपमा समस्या समाधान नगरिए असन्तुष्ट सांसदहरूले संसदमा सरकारको विरुद्धमा मतदान गर्ने बताएका थिए । 

[Archive] After rebel MP and Girija Prasad face to face at Karki residence...

बालुवाटार वरिपरिका कार्यकर्ताले पार्टीलाई तल्लो तहसम्म विभाजनको अवस्थामा पुर्‍याएको भन्दै सांसदहरूले कोइरालालाई सर्वमान्य नेता गणेशमानलाई समेत मिलाएर लैजानुपर्ने बताएका थिए । गणेशमानले भने कोइरालाले पार्टी र प्रजातन्त्र दुवै खतरामा पारेको भन्दै चर्को आलोचना गर्दै आएका थिए । गणेमशानले कोइरालाका कारण आफू कांग्रेस छाड्ने अवस्थामा पुगेको बताउँदै आएका थिए । सरकारप्रति जनता खुसी नभएको, भ्रष्टाचार बढेको लगायतका विषय सांसदहरूले राखेका थिए । 

 प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले सांसद साथीहरू कसैप्रति पनि दुराग्रह नभएको भन्दै समस्या समाधान गर्न आफू तयार रहेको बताएका थिए । उनले सर्वमान्य नेता गणेशमानसँग सबै जना बसेर छलफल गर्न सकिने बताएका थिए । कोइरालाले परिस्थिति सुध्रने बताएका थिए । कांग्रेसभित्रको झगडाको विषयमा केन्द्रित रहेर पत्रकार तारानाथ दाहालले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५१ असार २३ मा ‘प्रधानमन्त्री र असन्तुष्ट सांसदबीच वार्ताः अन्तरकलहलाई राजनीतिक समस्याको रूपमा सुल्झाउन सहमति’ शीर्षकमा प्रकाशित गरेको थियो । उक्त बैठकले समस्यालाई राजनीतिक समस्याका रूपमा छलफल गरेर समाधान खोज्ने निष्कर्ष निकालेको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully