[अर्काइभ] ३१ वर्षअघि नेपालीको प्रतिव्यक्ति आय २०२ अमेरिकी डलर 

२०५१ सालमा २०२ डलर रहेको प्रतिव्यक्ति आय २०८२ मा १,५१७ अमेरिकी डलर पुगेको छ। यसरी ३१ वर्षमा १,३१५ डलर प्रतिव्यक्ति आय बढेको छ।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

[Archive] 31 years ago Nepalese per capita income was 202 US dollars

What you should know

काठमाडौँ — २०५१ असार १० मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रामशरण महतले मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषिले ४२ प्रतिशत योगदान गरेको विवरण प्रस्तुत गरेका थिए । पत्रकार सम्मेलनको आयोजना गरेर गैरकृषि क्षेत्रको योगदान भने ५८ प्रतिशत पुगेको उनले बताएका थिए । त्यतिबेला कृषि क्षेत्रको वार्षिक वृद्धिदर ३ र गैरकृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत देखिएको थियो । कृषि क्षेत्रको वृद्धिदर ४.१ र गैरकृषि क्षेत्रको ६.२ प्रतिशत अनुमान गरिएको थियो । 

महतले प्रतिव्यक्ति वार्षिक आय अनुमान गरेभन्दा १६ प्रतिशत वृद्धि भएको जानकारी गराएका थिए । उनले पत्रकार सम्मेलनमा प्रतिव्यक्ति वार्षिक आम्दानी २०२ अमेरिकी डलर अर्थात् त्यतिबेलाको डलरको मूल्य अनुसार नेपाली रुपियाँ प्रतिव्यक्ति १ हजार १० रुपियाँ कायम भएको थियो । 

२०४६ को राजनीतिक परिवर्तनपछि २०४८ सालमा कांग्रेस नेतृत्वमा सरकार बनेको दुई वर्षमा आव २०५०/०५१ मा मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन १ सय ९६ अर्ब ९७ करोड पुगेको थियो । उक्त समयमा नेपाली गार्मेन्टको उत्पादन तथा निर्यातमा ५२ प्रतिशत र गलैंचा १२ प्रतिशतले वृद्धि भएको थियो । त्यतिबेला तयारी कपडा र गार्मेन्टको उत्पादन उत्साहजनक थियो । यसले हजारौंले रोजगारी पाएका थिए । 

गलैंचा, गार्मेन्टलगायतका नेपाली बस्तुको उत्पादन र निर्यातले मुलुकमा विदेशी मुद्रा भित्रिरहेको थियो । आर्थिक गतिविधिको २५ वटा क्षेत्रलाई समेटेर निष्कर्ष तयार गरेको थियो । पर्यटकको संख्यामा भने ह्रास आएको थियो । यद्यपि नाफा भने वृद्धि भएको देखिएको थियो ।

कृषिमा ८० प्रतिशत जनसंख्या नै सहभागी रहेको तथ्यांक पेस गरिएको थियो । तर कृषिमा आधारित भनिएको जनसंख्या बिस्तारै गैरकृषि क्षेत्रमा आकर्षित भएको जानकारी योजना आयोगले दिएको थियो । कृषिबाट टाढा रहेर गैरकृषि क्षेत्रमा आकर्षित हुँदा धनी र गरिबबीचको खाडल भने झन् बढ्ने खतराप्रति सचेत हुन जरुरी भएको तर्क महतको थियो । गरिबी निवारण घटाउन ग्रार्हस्थ्य उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा उनले अघि सारेका थिए । 

महतका अनुसार बितेको १० वर्षको अध्ययनबाट सकारात्मक अवस्था देखिएको बताएका थिए । उनले भनेका थिए, ‘पञ्चायतको अन्तिम समयमा धेरै खराब अवस्था नदेखिए पनि अस्तव्यस्त नीति र नियन्त्रित अर्थतन्त्रका कारण अपेक्षा गरे अनुसारको वृद्धि हुन सकेको थिएन । अब ग्रार्हस्थ्य उत्पादन वृद्धिदर दिगो भएको छ ।’ 

[Archive] 31 years ago Nepalese per capita income was 202 US dollars

मुलुकको आर्थिक अवस्था, ग्रार्हस्थ्य उत्पादनमा कृषि र गैरकृषि क्षेत्रको योगदान तथा नेपालीको वार्षिक आयमा वृद्धि भएको सन्दर्भमा योजना आयोगले गरेको पत्रकार सम्मेलनमा उठेका विषयलाई कान्तिपुरले २०५१ असार ११ मा ‘नेपालीको प्रतिव्यक्ति आय र कुल ग्रार्हस्थ्य उत्पादनमा वृद्धि’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

सरकारले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण्मा २०८२ जेठमा संघीय संसदमा प्रस्तुत गरेको तथ्यांक अनुसार अहिले नेपालको प्रतिव्यक्ति आय १ हजार ५ सय १७ अमेरिकी डलर पुगेको छ । ३१ वर्षमा १ हजार ३ सय १५ डलर वृद्धि भएको देखिन्छ । आव २०५०/०५१ मा कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ४२ प्रतिशत रहेकामा आव २०८१/०८२ मा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत रहेको छ ।

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully