[अर्काइभ] पदम ठकुराठीलाई गोली हान्ने विकास गुरुङ यसरी पक्राउ परेका थिए...

पत्रकार पदम ठकुराठीमाथि भएको गोली प्रहार पञ्चायतकालको दरबारिया षड्यन्त्रको उदाहरण भएको मानिन्छ।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

[Archive] Vikas Gurung, who shot Padam Thakurathi, was arrested this way...

What you should know

काठमाडौँ — ४० को दशकमा पञ्चायती व्यवस्थाको चरम दमनले नागरिक वाक्क थिए । दरबारको आडमा आपराधिक गतिविधि बढ्दै गएका बेला पञ्चहरूबीच नै द्वन्द्व चर्किएको थियो । खासगरी दरबारिया भाइभारदारको ज्यादती छरपस्ट भएको थियो । जति नै अन्याय भए पनि त्यतिबेला राजा र उनका वरिपरिका नातागोता र दाजुभाइको आलोचना गर्ने हैसियत कसैले राख्दैनथे ।

२०३६ सालको जनमतसंग्रहमा बहुदललाई हराएर ‘सुधारिएको पञ्चायती व्यवस्था’ लाई जिताउन प्रधानमन्त्रीको हैसियतमा नेतृत्वदायी भूमिका निर्वाह गरेका सूर्यबहादुर थापाले समेत ४० को दशकमा ‘भूमिगत गिरोह’बाट मुलुक सञ्चालन भएको बताउन थालेका थिए । उनी सत्ता संकट पर्ने वित्तिकै ‘भूमिगत गिरोह’ ले चलखेल गरेको बताउने गर्थे । उनको संकेत त्यतिबेलाका सक्रिय राजा वीरेन्द्रका भाइहरू ज्ञानेन्द्र र धीरेन्द्रप्रति हुने गर्थ्यो । खासगरी जनमतसंग्रहपछि बलियो बनेका सूर्यबहादुरलाई प्रधानमन्त्रीबाट हटाउन ज्ञानेन्द्र र धीरेन्द्र नै लागेका थिए । त्यसैलाई संकेत गरेर थापाले राष्ट्रिय पञ्चायतमा पहिलो पटक ‘भूमिगत गिरोह’ भन्ने शब्द प्रयोग गरेका थिए । 

उनले आफूलाई भूमिगत गिरोहले प्रधानमन्त्रीबाट हटाएको बताएका थिए । आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएर हटाउन खोजेपछि राष्ट्रिय पञ्चायतमा भाषण गर्दै थापाले सिंहदरबार र दरबारबीच द्वेध शासन चलेको खुालासा गरेका थिए । शक्तिशाली सूर्यबहादुरका विरुद्ध दरबारिया शक्ति नै लागेपछि उनको पक्षमा १७ जना मात्र राष्ट्रिय पञ्चायतका सदस्यले साथ दिएका थिए । उनका विश्वास पात्रहरूले पनि साथ दिएका थिएनन् । त्यसैले राष्ट्रिय पञ्चायतका ती १७ जना अहिले पनि ‘सत्र भाइ’ का नामबाट चिनिन्छन् । 

दरबारलाई राजनीतिमा मात्र होइन, आपराधिक गतिविधिमा पनि जोड्न थालिएको थियो । २०३८ जेठमा पोखरामा दुई किशोरी दिदीबहिनी नमिता र सुनिता भण्डारीको हत्या भएको घटनाले विशेषतः दरबारियाहरूको आलोचना बढ्दै गएको थियो । सिन्धुपाल्चोक ठोकर्पा स्थायी घर भएर लाजिम्पाट बस्दै आएका उनीहरूको हत्याको घटनालाई दरबारियाहरूलाई जोडेर सार्वजनिक रूपमा बोल्ने हिम्मत भने कसैले गर्दैनथे ।

साप्ताहिक पत्रिकाहरूले सांकेतिक रूपमा दरबारका भारदारहरूको षड्यन्त्रका रूपमा चित्रण गरेका थिए । उक्त घटनाको रहस्य अहिलेसम्म पनि खुलेको छैन । दरबारको आडमा अपराधजन्य धन्दा गर्नेहरूको व्यवहार सहनै नसक्ने परिस्थिति बन्दै गएको थियो । खासगरी २०४२ सालपछि पञ्चायतलाई समर्थन गर्ने राष्ट्रिय पञ्चायतका सदस्यहरू नै एकअर्काको पोल खोलिरहेको अवस्था थियो । एकाथरी पञ्चहरू उदार थिए भने दरबारको शक्तिलाई दुरुपयोग गर्दै आएका ‘मण्डले स्वभावका पञ्चहरू’ अनुदार देखिन्थे । 

पञ्चायतको ज्यादती प्रत्यक्ष/अप्रत्यक्ष रूपमा त्यतिबेलाका साप्ताहिक पत्रिकाले धेरथोर लेख्ने गर्थे । त्यो पनि निकै जोगिएर लेख्नुपर्थ्यो । पत्रकारहरूले ‘सेल्फ सेन्सरसिप’ गरेर समाचार लेख्थे । राजा मात्र होइन, उनका भारदारहरूको आलोचना गर्न नपाइने भएकाले उनीहरूको आडमा भएका अपराधका घटना गुपचुप हुने गर्थ्यो । 

यही पृष्ठभूमिमा पञ्चायत समर्थक राष्ट्रवादी विद्यार्थी मण्डलका संस्थापक अध्यक्ष, गाउँ फर्क राष्ट्रिय अभियान र नयाँ शिक्षा नीतिको विभिन्न पद सम्हाल्दै २०३४ मा कञ्चनपुरबाट राष्ट्रिय पञ्चायत सदस्यसमेत भइसकेका पदम ठकुराठी पञ्चायतको उत्तरार्द्धमा पत्रकारितामा सक्रिय थिए । ठकुराठीले पञ्चायतका मण्डले प्रवृत्ति र त्यसका पात्रहरूको विषयमा समाचार लेख्ने गर्थे । उनी आफैं पञ्चायतमा काम गरेकाले त्यसभित्रको विकृति र पात्रहरूका विषयमा बढी नै जानकार थिए ।

पत्रकार ठकुराठी साप्ताहिक जनआवाज, विमर्श, साप्ताहिक मञ्च, साप्ताहिक नेपाली आवाजजस्ता पत्रिकामा सम्पादक र अतिथि सम्पादकको रूपमा काम गर्थे । उनी निर्भिक र आँटिलो कलमजीवीका रूपमा चिनिन्थे । तिखो रूपमा समाचार लेखेबापत उनीसँग दरबार नजिक मण्डले प्रवृत्तिका मान्छेहरू रिसाएका थिए । दरबारको शक्ति दुरुपयोग गरिरहेकाहरूले ठकुराठीको कलम सदाका लागि बन्द गर्ने उद्देश्यले २०४३ भदौ २० बिहान ४ बजेतिर उनीमाथि गोली प्रहार गरे । तर हत्या प्रयास असफल भयो । 

ठकुराठीलाई पोखरास्थित विजय पौड्यालको घरमा डेरा गरी बस्ने विकास गुरुङले सुतिरहेको अवस्थामा गोली प्रहार गरेका थिए । राजनीतिक शक्ति दुरुपयोग गर्नेहरूले ठकुराठीलाई मार्ने नियतले गोली प्रहार गर्न लगाइएको थियो । तर उनी घाइते मात्र भए । ठकुराठीमाथि गोली चलाउन भीमप्रसाद गौचन, जगत गौचनले विकास, शंकर विश्वकर्मा र गणेश थापालाई अह्राएको त्यतिबेलाका सञ्चार माध्यमले लेखेका थिए ।

विकासले २०४५ जेठ २ मा मध्यमाञ्चल विशेष अदालतमा ‘विभिन्न व्यक्तिको निर्देशन र आर्थिक आश्वासनमा आफूले ठकुराठीमाथि गोली प्रहार गरेको’ बयान दिएका थिए । राष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बुढाले सुन ल्याएको काण्ड र २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनका बेला जनज्योति साप्ताहिकले भीमप्रसाद गौचनलाई जोडेर नकारात्मक समाचार लेखेकाले बदला लिने उद्देश्यले विकासलाई प्रयोग गरिएको योजनाकारहरूले अप्रत्यक्ष रूपमा बताउने गरेका थिए ।  

ठकुराठीलाई गोली प्रहार गर्ने विकास २०४८ असार १० मा केन्द्रीय कारागार काठमाडौंबाट वीर अस्पतालमा उपचार गर्न लैजाने क्रममा भोटेबहालस्थित एक लजबाट फरार भएका थिए । सरकारले गुरुङलाई पक्राउ गर्ने वा सूचना दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी निरीक्षक सुकदेव न्यौपानेको नेतृत्वले फरार रहेका विकासलाई ताहाचलस्थित डेराबाट पुनः पक्राउ गरेको थियो । ललितपुरमा त्यसै दिन बिहान भएको चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा विकासको विषयमा सुइको पाइएको थियो । 

[Archive] Vikas Gurung, who shot Padam Thakurathi, was arrested this way...

प्रहरीले सानेपा डेरा गरी बस्ने ब्रिटिस नागरिकको कोठामा चोरी भएको घटनाका अभियुक्त खोजी गर्ने क्रममा रगतको थोपा चुहिएको बाटो पछ्याउँदै जाँदा स्याङ्जा फेदिखोला गाविस घर भएका अजय गुरुङलाई पक्राउ गरेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा रवीन्द्र श्रेष्ठको कोठा खोज्दै जाँदा फरार रहेका विकास पनि त्यहीँ फेला परेका थिए । उक्त कोठाबाट पेस्तोल, फलामे रड, गोलीलगायतका सामान बरामद गरिएको थियो ।

यसरी ठकुराठीको हत्या प्रयासका दोषी विकास पुनः पक्राउ परेको सन्दर्भलाई जोडेर पञ्चायतको उत्तरार्द्धमा दरबारियाहरूको गतिविधिसमेतलाई समेटेर पत्रकार नारायण वाग्लेले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५१ असार ३ मा ‘विकास गुरुङ पक्राउ’ शीर्षकमा प्रकाशित गरेको थियो । ठकुराठीलाई गोली प्रहार गरेको घटना नेपाली पत्रकारिताको इतिहासमा एउटा बिर्सनै नसकिने घटनाका रूपमा दर्ज छ । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully