मुलुकमा विद्यमान विद्युत् आपूर्ति पूरा गर्न ४ सय २ मेगावाटको अरुण तेस्रो बनाउने सरकारको योजना । प्रतिपक्षी दल र सरोकारवाला समुदायद्वारा विरोध ।
What you should know
काठमाडौँ — अरुण तेस्रो निर्माणका लागि पहिलो चरणको टेन्डर भइसकेको थियो । तर विश्व बैंक र एसियाली विकास बैंकले उपलब्ध गराउने ऋणका विषयमा अन्तिम टुंगो नलागेका कारण टेन्डर प्रक्रिया रोकिएको ६ महिना बितेको थियो ।
२०५० माघमा तय गरिएको ऋणसम्बन्धी वार्ता नभएका कारण लगानीको विषय टुंगो लाग्न सकेको थिएन । ३२ वर्षअघिको ३८ अर्ब नेपाली रुपियाँ (७६० मिलियन यूएस डलर) खर्च हुने अनुमान गरिएको त्यतिबेलाको मुलुककै ठूलो विकास आयोजना अघि बढ्ला कि नबढ्ला त्यो भने निश्चित थिएन ।
मुलुकमा विद्युतको धेरै ठूलो खाँचो थियो । उक्त खाँचो पूर्ति गर्न ४ सय २ मेगावाटको अरुण तेस्रो बनाउने सरकारको योजनामाथि संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका वामपन्थी दल, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक संघसंस्था तथा स्थानीय प्रभावितको नाममा खुलेका सरोकार समूहले प्रश्न उठाइरहेका थिए । सरोकार समूहका नाममा आयोजना नेपालको हितमा नभएको आवाज उठाइएको थियो । कतिपय संघसंस्थाले वातावरण बिग्रने धरणा अघि सारेका थिए ।
नेपालको आन्तरिक समस्यालाई ऋणदाता विश्व बैंक र एसियाली विकास बैंकले चासोका साथ हेरिरहेका थिए । विश्व बैंकले पनि ऋण दिने क्रममा विभिन्न सर्त राखेको दाबी एकाथरी सरोकारवालाहरूले गरेका थिए ।
यही पृष्ठभूमिमा २०५१ जेठ ३० देखि असार १ सम्म अमेरिकाको वासिङ्टनमा नेपालको ५ सदस्यीय टोलीको नेतृत्व गरेर अर्थसचिव डा. ठाकुरनाथ पन्तले अरुणलाई उपलब्ध गराउने ऋण प्राप्त गर्ने सम्बन्धमा विश्व बैंक र एसियाली विकास बैंकसँग वार्ता गरेका थिए । काठमाडौंमा कानुनी दस्तावेजसहित ऋण प्राप्त गर्ने विषयमा दुवै पक्षबीच हस्ताक्षर हुने अपेक्षा गरिएको थियो ।
बैंकको काठमाडौंस्थित अधिकारीहरूले पनि ‘वार्तासँगै ऋणपत्रमा हस्ताक्षर हुने’ बताएका थिए । वार्ता तीन दिनदेखि जारी भए पनि कुन विषयमा केन्द्रित छ, यकिन थिएन । वार्ताका क्रममा विश्व बैंकले ऋण स्विकृतिका लागि २०५१ साउन ११ मा आफ्नो सञ्चालक समितिमा प्रस्ताव गर्ने जानकारी नेपाली टोलीलाई दिएको सूचना काठमाडौंमा प्राप्त भएको थियो ।
विश्व बैंकले अरुणको विषयमा विभिन्न मुद्दा उठाइरहेका संघसंस्थालाई भेला गराएर असार १४ मा गोष्ठी गर्ने निर्णय गरेको थियो । त्यसमा नेपालबाट एलायन्स फर इनर्जी’लाई निमन्त्रणा गरिएको थियो । उक्त गोष्ठीमा संसारभरका गैससका प्रतिनिधिले भाग लिने कार्यक्रम तय गरिएको थियो ।
नेपालबाट ‘एलायन्स फर इनर्जी’का विकास पाण्डेले भाग लिने कार्यक्रम तय भएको थियो । पाण्डेले अरुण आयोजना प्राविधिक र व्यवस्थापनका दृष्टिले बढी जोखिमपूर्ण हुने, साना तथा मध्यम खालका आयोजनाको विकल्प नहेरी एउटै ठूलो आयोजना ल्याउन नहिुने, आयोजनाको उत्पादन निकै महँगो हुने धारणा राख्ने जानकारी दिएका थिए ।
काठमाडौंमा १४ वटा गैससले भेला गरेर अरुण तेस्रो जोखिमपूर्ण हुने निष्कर्ष निकालेका थिए । कतिपयले अरुण भारतलाई जिम्मा लगाउन अप्रत्यक्ष रुपमा सरोकारवाला र संघसंस्थाले भूमिका निर्वाह गरेको आरोप पनि लगाएका थिए । कतिपयले त भारतले नै केही व्यक्ति उचालेर अरुणको विरोध गर्न लगाएको पनि भनेका थिए ।
अरुण निर्माणमा भएको अवरोध, लगानी सम्झौताको तयारी एवं सरोकारवालासहित सामाजिक संघसंस्थाले गरेको विरोधमा केन्द्रित रहेर पत्रकार नारायण वाग्लेले तयार गरेको ‘अरुण तेस्रोको फैसला अमेरिकामा’ शीर्षकको समाचार कान्तिपुर दैनिकले २०५१ असार २ मा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Thus, the Arun Project was under siege](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/download-0382025125850-1000x0.jpg&w=1001&h=0)