२५ करोडको लगानीमा स्थापना भएको गार्मेन्ट उद्योगले झापामा हजारौंलाई रोजगारी दिने र अर्थतन्त्रमा योगदान पुर्याउने अपेक्षा गरिएको थियो ।
What you should know
काठमाडौँ — सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०४९/५० मा तयारी पोसाकको निकासीबाट करिब पौने चार अर्बको आम्दानी गरेको थियो । ५० को दशकमा नेपालको निर्यात बस्तुमा पहिलो गलैंचा र दोस्रो तयारी पोसाक थियो । गार्मेन्टको मुख्य निकासी बजार अमेरिका थियो ।
उद्योगीहरूले २०५० माघमा काठमाडौंमा भएको तयारी पोसाक उद्योगसम्बन्धी छलफलमा अमेरिकाले ‘कोटा सिस्टम’ बन्द गरेमा नेपाली गार्मेन्ट उद्योग धराशायी हुने चिन्ता पनि व्यक्त गरेका थिए । तयारी पोसाकको व्यापार फस्टाउने परिस्थिति र लगानी डुब्न सक्ने जोखिम दुवैको सम्भावनाको दोधारमा झापाको भद्रपुरमा २५ करोडको लागतमा मोमेन्टोज एप्पेरल्स तयारी कपडा (गार्मेन्ट) उद्योग स्थापना गरिएको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले ८ करोड ६५ लाख ऋण लगानी गरेको उक्त उद्योग नेपालको सबैभन्दा ठूलो तयारी पोसाक उद्योग थियो । उक्त उद्योगमा करिब १ हजार ५ जनाले रोजगारी पाउने अनुमान गरिएको थियो । उक्त उद्योगको अध्यक्ष थिए– चण्डीराज ढकाल । उनले भारतीय लगानीकर्ताहरूसमेत सहभागी गराएर उद्योग सञ्चालन गरेका थिए ।
२०४६ को राजनीतिक परिवर्तन र खुला बजार नीति लागू भएपछि यति ठूलो संख्यामा रोजगारी पाउने गरी गार्मेन्ट उद्योग सञ्चालन हुन लागेको पहिलो थियो । एकातिर उत्पादित सामान निर्यात गरेर विदेशी मुद्रा आम्दानी हुने र अर्कोतर्फ मुलुकभित्रै रोजगारी सिर्जना हुने उक्त उद्योगको स्थापनाले सरकार पनि लगानीको वातावरण बनेको भन्दै हौसिएको थियो ।
निजीकरणबाट मात्र आर्थिक उन्नति हुन सक्छ भन्ने मान्यतामा चलेको तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ वैशाख १८ गते उद्योगको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले कृषिजन्य उद्योग र कलकारखानाको विकासका लागि राजनीतिक व्यक्तिको भन्दा उद्योगीहरूको जिम्मेवारी गहन हुने बताएका थिए । उनले विकासबिना प्रजातन्त्र सुदृढ नहुने बताएका थिए ।
सरकारले विभिन्न मुलुकको सहयोगमा सञ्चालन गरेका उद्योगहरू धराशायी भएका बेला निजी क्षेत्रले सञ्चालन गरेको गलैंचा, गार्मेन्टलगायतका उत्पादनले भने विश्व बजारमै प्रवेश पाइरहेको थियो । त्यस्तै आपूर्ति तथा वाणिज्य राज्यमन्त्री सुरेन्द्रप्रसाद चौधरीले सरकारले उद्योगको क्षेत्रमा पञ्चायतकालको भन्दा बढी विकास गरेको दाबी गरेका थिए । उद्योगले दैनिक १ हजार ५ सय थान कपडा बनाउने यस कारखानामा नेपालीलाई नै काम लगाउने भनिएको थियो ।
नेपालकै ठूलो गार्मेन्ट कारखानाको स्थापना, यसबाट सिर्जना हुने रोजगारी र लगानीको वातावरणका विषयमा केन्द्रित रहेर झापाबाट चिन्तामणि दाहाल र शंकर खरेलले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५१ जेठ १९ मा ‘प्रधानमन्त्रीद्वारा देशको सबैभन्दा ठूलो तयारी पोसाक उद्योग उद्घाटन’ शीर्षकमा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] This is how the country's largest ready-made garment industry was opened](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/momento11112475ka-12122021012034-1000x0-3072025125400-1000x0.jpg&w=1001&h=0)