कोइरालामाथि अनियमितताको आरोपपछि लेखा समितिमा उपस्थित हुनुपर्ने निर्णय, काङ्ग्रेस सांसदहरूबीच मतभेद
What you should know
काठमाडौँ — नेपाल वायुसेवा निगमसँग जोडिएका विभिन्न काण्डमध्ये ३२ वर्षअघिको ‘धमिजा काण्ड’ को अहिले पनि विशेष चर्चा हुने गर्छ । वायुसेवा निगमको अनियमितताको इतिहासमा कहिल्यै नमेटिने घटनाका रूपमा यो काण्डलाई लिने गरिन्छ ।
२०४८ को निर्वाचनपछि संसदमा नेपाली कांग्रेसको एकल बहुमत प्राप्त गरेर प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराललाई ‘धमिजा काण्ड’ले त्यतिबेला सार्वजनिक लेखा समितिमा उभ्यायो । कोइराला संसदीय समितिमा उपस्थित भएर जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको थियो ।
तत्कालीन शाही नेपाल वायुसेवा निगम (शानेवानि) को टिकट बेच्ने एजेन्ट नियुक्तिका क्रममा प्रधानमन्त्री कोइरालाले निर्णय प्रक्रियामा अनधिकृत रुपमा हस्तक्षेप गरेर अख्तियारको दुरुपयोग गरेको आरोप लागेको थियो । प्रधानमन्त्री कोइरालाले १९९३ को अप्रिलमा शानेवानिको युरोपका लागि साधारण टिकट बेच्ने (जीएसए) नियुक्ति गर्ने क्रममा व्यवस्थापनमाथि अनावश्यक दबाब दिएको लेखा समितिले तयार गरेको छानबिन उपसमितिको प्रतिवेदनमा उल्लेख थियो ।
त्यही आधारमा लेखा समितिको २०५१ जेठ १७ को बैठकले कोइरालालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । २०४६ को राजनीतिक परिवर्तनपछि प्रधानमन्त्रीलाई संसदीय समितिले अनियमितताको आरोपमा बोलाएर सोधपुछ गर्ने निर्णय गरेको यो पहिलो पटक थियो ।
युरोपको टिकट बिक्री गर्न बेलायतको फेयर कम्पनीलाई एजेन्टका रुपमा नियुक्त गर्न कोइरालाले दबाब दिएको र अख्तियारको दुरुपयोग गरेर अनियमिततामा प्रत्यक्ष संलग्न रहेको आरोप समितिको प्रतिवेदनमा उल्लेख थियो ।
तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामहरि जोशी, शानेवानिका सञ्चालकहरू तथा टिकट बिक्री गर्ने फेयर कम्पनीका दिनेश धमिजासमेतको उपस्थितिमा कोइरालाले निगमका कार्यकारी अध्यक्ष भुवनेश्वर दैवज्ञलाई किन ढिलो भयो ? ढिलो किन गर्नुहुन्छ ? चाँडो टुंग्याउनूस् भनी निर्देशन दिएको भनाइ लेखा समितिको थियो । लेखा समितिले गठन गरेको तीन सदस्यीय उपसमितिले प्रधानमन्त्रीले अख्तियारको दुरुपयोग गरेर भ्रष्टाचारमा प्रत्यक्ष संलग्न भएको ठहर गरेको थियो । उपसमितिको प्रतिवेदन छलफलका क्रममा सत्तारुढ पार्टीकै सांसदले कोइरालाको विरोध गरेका थिए ।
तर कोइरालाको विरोधमा कांग्रेस पार्टीभित्रको आन्तरिक कलह भने झल्केको थियो । कांग्रेसकै सांसद कुबेरप्रसाद शर्माले जीएसए नियुक्ति गर्न प्रधानमन्त्रीले दिएको दबाब आपत्तिजनक भएको बताएका थिए । तर कांग्रेसकै सांसदहरू चिनकाजी श्रेष्ठ तथा गणेशबहादुर खड्काले निगमका पूर्वकर्मचारीहरूको बयानका आधारमा प्रधानमन्त्रीलाई मुछेको भन्दै आपत्ति जनाएका थिए । सांसदद्वय श्रेष्ठ र खड्काले उपसमितिले प्रधानमन्त्रीलाई दोष लगाएर तयार गरेको प्रतिवेदनप्रति आफ्नो असहमति रहेको बताएका थिए ।
कांग्रेसका सांसद शर्मा कृष्णप्रसाद भट्टराईका निकट र विश्वासपात्र थिए । तर कांग्रेस सांसद श्रेष्ठ र खड्का भने कोइरालापक्षका थिए । त्यसैले प्रतिवेदनमा उल्लेखित विषयमा शर्मा प्रतिवेदनको पक्षमा तथा श्रेष्ठ र खड्का विपक्षमा उभिएका थिए । संयुक्त जनमोर्चाका सांसद कमलप्रसाद चौलागाईंले एउटा व्यापारिक कारोबारका लागि प्रधानमन्त्री जस्तो उच्च पदको व्यक्तिले निर्देशन दिनु अख्तियारको दुरुपयोग भएको धारणा राखेका थिए ।
उपसमितिका संयोजक सांसद प्रकाशचन्द्र लोहनीले भने प्रधानमन्त्री कोइरालाले दबाब दिएको र अनियमिततामा संलग्न भएको बताएका थिए । लेखा समितिको २०५१ जेठ ७ को बैठकमा पर्यटनमन्त्री जोशीले राजा वीरेन्द्र विदेश जाँदा इन्डियन एयरलाइन्सको जहाज चढ्नु परेको घटना सुनाएका थिए ।
पर्यटन मन्त्री जोशीले भनेका थिए, ‘राजाले त्यतिबेला निगमको विमान कहाँ के भइरहेको छ भन्ने चासो राखेछन् । राजाले नेपाली विमानका बारेमा चासो राखेको कुरा प्रधानमन्त्री कोइरालासमक्ष पुगेछ । राजाको चासो बुझेपछि कोइरालाले उक्त कुरा आफूसहित सम्बन्धित व्यक्तिलाई सुनाएका थिए । राजाले व्यक्त गरेको विचारबाट प्रधानमन्त्री कोइराला अत्तालिनुभएको थियो ।’
जोशीले केही नयाँ कुरा आउँदा निगमका सञ्चालक र आफूहरूलाई बोलाउने गरेको सन्दर्भ जोड्न उक्त घटना सुनाएका थिए । उनको भनाइ थियो, ‘कुनै पनि काममा ढिलाइ भएमा वा कुनै नयाँ विषय आएमा आफूहरूलाई बोलाउने गरेकाले जीएसएका विषयमा प्रधानमन्त्रीले जिज्ञासा राख्नुलाई गलत ढंगले बुझ्नु भएन ।’
प्रधानमन्त्रीले निगमका सञ्चालकलाई बालुवाटारमा बोलाएर जीएसएको विषयमा निर्देशन दिएको भन्ने लेखा उपसमितिको आरोपलाई जोशीले यसरी खण्डन गर्ने प्रयास गरेका थिए । लेखा समितिका सांसदहरूले भने जीएसए सम्झौता रद्द गर्नुपर्ने धारणा राखेका थिए ।
उपसमितिले तयार गरेको ४५ बुँदामा अनियमितताको विषय उठाइएको थियो । तर अन्तिम टुंगो कसरी लगाउने समितिका सदस्यहरूले निर्णय गर्न सकेका थिएनन् । यिनै सन्दर्भलाई जोडेर प्रधानमन्त्रीलाई लेखा समितिले बयानका लागि पहिलो पटक बोलाएको विषयमा आधारित भएर तयार गरिएको समाचार कान्तिपुरले ‘लेखा समितिले प्रमलाई पनि बोलाउने’ शीर्षकमा २०५१ जेठ १८ मा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Girija Prasad was raised by the audit committee](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/girij-2972025125206-1000x0.jpg&w=1001&h=0)