[अर्काइभ] गणेशमानद्वारा कोइराला नेतृत्वको सरकारलाई ‘पञ्चायती चरित्र’ को संज्ञा 

गणेशमान सिंहद्वारा गिरिजाप्रसादको राजीनामा नआए पार्टीबाट संन्यास लिने चेतावनी

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

[Archive] Koirala-led government termed 'Panchayati character' by Ganeshman

What you should know

काठमाडौँ — ‘२००८ सालमा मातृकाप्रसाद कोइरालाले कांग्रेस छाडे । २०१७ मा विश्वबन्धु थापा र तुलसी गिरीले धोका दिए । २०३७ सालपछि परशुनारायण चौधरी कांग्रेस छाडेर गए । अहिले सात पुस्तामा उठाउन नसक्ने फाइदा सत्तामा बस्नेले उठाएका छन् । पहिलेका पञ्चायतका नेता हाम्रा नेता भएका छन् ।’

२०५१ वैशाख १५ मा झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले व्यक्त गरेका विचार हुन् यी । उनले कांग्रेसलाई के भएको हो भन्दै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई पञ्चायती संस्कारको सरकारको संज्ञा दिएका थिए । प्रजातन्त्रको रक्षाका लागि पनि पञ्चायत संस्कार भएको सरकारलाई नहटाउने हो भने आगामी निर्वाचनमा कांग्रेसले चुनाव नजित्ने उद्घोष गरेका थिए ।

राजाले बहुदल घोषणा गरेको भोलिपल्ट २०४६ चैत २७ मा खुलामञ्चमा आयोजित सभामा गिरिजाप्रसादले 'यो जित पञ्चहरूको पनि जित हो' भनेका थिए । कोइरालाको यो भनाइले सभामा हुटिङ भएपछि गणेशमानले सम्झाएका थिए । त्यसको चार वर्षपछि गणेशमानले कोइराला नेतृत्वको सरकारलाई ‘पञ्चायती चरित्र’ को सरकारको संज्ञा दिएका थिए । 

 कांग्रेसको आन्तरिक कलह चुलिएका बेला तत्काल पूर्वाञ्चल घुम्न निस्केका गणेशमानले कांग्रेस बचाउन गिरिजाप्रसादले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने अडान राखेका थिए । उनले भनेका थिए, ‘पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टो नेपाल भ्रमणमा आउँदा आफूलाई भेट्न नदिने षड्यन्त्र गरियो ।’ मनमुटाव चुलिँदै गएका बेला उनले गिरिजाप्रसादलाई धम्क्याउने, घुर्क्याउने र थर्काउने विभिन्न तरिकाले आलोचना गर्दै आएका थिए । 

त्यही सन्दर्भमा उनले झापाको कार्यक्रममा गिरिजाले राजीनामा नदिए आफूले कांग्रेसबाट संन्याससमेत लिन सक्ने बताएका थिए । ‘गिरिजाबाबु स्वेच्छाचारी तरिकाले सरकार चलाउन चाहनुहुन्छ, यसैमा नै हाम्रो मतभेद छ,’ सिंहले भनेका थिए । उनले प्रजातन्त्र संकटमा परेका बेला सरकार भने ‘सर्पको मुखमा परेको भ्यागुतो’ जस्तो भएको बताएका थिए । त्यसको समाधान गिरिजाप्रसादको राजिनामा हुने धारणा उनको थियो । तर कोइरालाले भने उल्टै सरकारलाई अस्थिर बनाउन खोजेको विचार राख्दै आएका थिए । 

‘मैले गिरिजाप्रसादलाई अनुशासनको कारबाही गर्नुभन्दा अध्यक्ष कृष्णप्रसाद भट्टराई पार्टी फुट्छ भनेर रुन खोज्नु हुन्छ, यसरी पनि पार्टी चल्छ ?,’ गणेशमानले भनेका थिए, ‘अनुशासन नमान्नेलाई कारबाही गर्दा पार्टी फुट्छ भनेर डराउन हुन्न ।’ सबै जातिलाई समेट्नुपर्छ भन्दा आफूलाई पत्रपत्रिकाले साम्प्रदायिकताको आरोप लगाएको भन्दै उनले आफूले सबैलाई मिलाएर लैजान अनुरोध गरेको बताएका थिए । 

[Archive] Koirala-led government termed 'Panchayati character' by Ganeshman

मुलुकमा कमिसनको जगजगी, पार्टीका ३६ सांसदको असन्तुष्टि, जिल्ला–जिल्लामा संगठन कमजोर भएको जस्ता विषय उठाएर गणेशमानले भनेका थिए, ‘कांग्रेस बचाउने अभिभारा अब भट्टराई नभएर गिरिजाको हातमा छ ।’ उनले निकै कठोर शब्दमा आक्रोसित हुँदै भनेका थिए, ‘विश्वका राजनीतिज्ञहरू जनताको सेवा गर्न सत्तामा बस्छन् तर यो सरकारमा बस्नेहरू आफ्नो सेवा गर्न जनतालाई शोषण गर्छन् । ‘पापको घैंटो’ फुटिसकेको छ । यस अवस्थामा यसलाई कतिन्जेल राख्ने तपाईंहरू नै सोच्नूस् ।’ 

उनले प्रतिपक्षले मुलुकलाई कांग्रेसीकरण गरेको भने पनि आफू त्यसमा सहमत नभएको भन्दै बरु ‘कोइरालाकरण’ भएको बताएका थिए । कांग्रेसको २०४८ मा झापामा भएको महाधिवेशनदेखि २०५० माघमा सभापति भट्टराईले काठमाडौं–१ को उपनिर्वाचनमा पराजित भएको घटनासम्म पुग्दा क्रमिक रूपमा जोडिएको आन्तरिक कलहले कांग्रेस थिलथिलो भएको थियो । त्यसकै परिणाम गणेशमानले सबैभन्दा धेरै गिरिजाप्रसादको विरोध गरेका थिए । उनको विरोध मुलुकभर फैलिएको थियो । उनले बेलाबेलामा पार्टीबाट अलग हुने विचार राखिरहेका थिए । 

यिनै सन्दर्भलाई जोडेर झापाबाट चिन्तामणि दाहाल र विराटनगरबाट शंकर खरेलले तयार गरेको सामग्रीलाई कान्तिपुर दैनिकले ‘कांग्रेस बचाउने अभिभारा गिरिजाको हातमा’ शीर्षकमा २०५१ वैशाख १६ मा प्रकाशित गरेको थियो ।  

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully