What you should know
काठमाडौँ — एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा मृत्यु भएको घटनाको गहिरो छानबिन नभएको आवाज उठिरहेको थियो । सरकारी र गैरसरकारी तीनवटा छानबिन समिति गठन भए पनि शंका–उपशंका मेटिएको थिएन ।
एमाले पार्टी र उसका शुभचिन्तकहरूले सरकारद्वारा २०५० जेठ ४ मा सर्वोच्च अदालतका अतिरिक्त पूर्वन्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा गठित छानबिन आयोगको निष्कर्षलाई अस्विकार गर्दै आएका थिए । अनिल आयोगको प्रतिवेदनलाई एमालेले ‘भ्रामक र असत्य’ भएको ठहर गरेको थियो ।
एमालेका तत्कालीन स्थायी समिति सदस्य तथा सांसद केपी शर्मा ओलीको अध्यक्षतामा गठिन एक सदस्यीय आयोगले नेताद्वय भण्डारी र आश्रितको मृत्यु दुर्घटनाबाट भएको अस्विकार गरेको थियो । ओली आयोगले दुर्घटनालाई षड्यन्त्र र सुनियोजित भने पनि यकिन के हो निष्कर्ष अहिलेसम्म पनि सार्वजनिक भएको छैन ।
नागरिकका तर्फबाट भन्दै वामपन्थी नेता पद्मरत्न तुलाधारको संयोजनमा २०५० जेठ ६ मा गठन भएको छानबिन समितिको निष्कर्ष ‘मदन र आश्रितको हत्या दक्ष आपराधिक समूहबाट’ भन्ने थियो । मूल्यांकन मासिकको सक्रियतामा जनस्तरबाट गठन गरिएको भनिएको उक्त समिति २३ सदस्यीय थियो । उक्त प्रतिवेदन समिति गठन गरेको ८ महिनापछि पुस १५ मा सार्वजनिक गरिएको थियो ।
उक्त प्रतिवेदनमा दुर्घटना हुनुअगावै नेताहरूलाई विषादिको प्रयोग गरेर हत्या गरेको वा बेहोस बनाइएको उल्लेख गरिएको थियो । ओली र तुलाधरको प्रतिवेदनको सारांश उस्तैउस्तै थियो । प्रतिवेदनमा लन्डनको एल्डर मास्टर फरेन्सिक ल्याबको रिपोर्टलाई आधार मान्दै सुँघाउने विषादि प्रयोग गरेको उल्लेख गरिएको थियो ।
२०५० भदौमा डा. भरत प्रधानसहितको तीन सदस्यीय टोलीले नेताहरूको भिसेरा परीक्षणका लागि लण्डनको फोरेन्सिक साइन्स सर्भिस लेबोरेटोरीका विशेषज्ञ आइजे इम्फ्रेजलाई आवश्यक बस्तु हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरिएका बस्तुमा पोस्टमार्टमका क्रममा निकालिएका रगत, पेट र अन्य अंग थिए । २० वर्षदेखि फरेन्सिक वैज्ञानिकका रूपमा कार्यरत इम्फ्रेज अल्कोहल, लागूऔषध र विषादिको परीक्षणमा विज्ञ मानिन्थे । एमालेले उनलाई लागूऔषध वा अन्य विषादि प्रयोग गरेर मारेको हुन सक्छ कि सक्दैन पत्ता लगाउन भनेको थियो । नेताहरूको शरीरमा लागूऔषध, अल्कोहल वा सायनाइड पाइन्छ कि पाइँदैन पत्ता लगाउन विशेष अनुरोध गरिएको थियो ।
इम्फ्रेजले तयार गरेको प्रतिवेदनमा नेताहरूको पेटमा कुनै पनि विषादि प्रयोग भएको नभेटिएको उल्लेख गरिएको थियो । एमालेले सबैलाई मान्य हुने गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरिरहेका बेला नेताहरूको फरेन्सिक रिपोर्ट यस्तो आएको थियो । तर उक्त रगतमा लिग्नोसाइनको केही मात्रा भेटिएको उल्लेख थियो । लिग्नोसाइन शरीरको कुनै निश्चित भागलाई लठ्याउन प्रयोग गरिने रसायन हो । नेताद्वयको पेटमा सायनाइड छ कि भन्ने जिज्ञासा पनि उनको प्रतिवेदनले प्रस्ट पारेको छ । प्रतिवेदनमा सायनाइड नभेटिएको उल्लेख गरिएको थियो ।
दासढुंगा दुर्घटनाको छानबिन गर्न एमालेले माग गरिरहेका बेला यो प्रतिवेदनले नेताद्वयलाई विषादि वा अल्कोहल खुवाएर हत्या गरेको हो कि भन्ने शंकालाई मेटाएको थियो । यिनै सन्दर्भलाई कान्तिपुर दैनिकले २०५१ जेठ ११ मा ‘मदन–आश्रितमा विषादि प्रयोग नभएको पुष्टि’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । २०५० जेठ ३ मा चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा नेताद्वयको मृत्यु भएको घटनाको वास्तविकता अझै रहस्यमय रहेको दाबी एमालेसहितका राजनीतिक नेतृत्व तथा कतिपय सर्वसाधारणले गर्दै आएका छन् ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Such was Madan-Ashrit's viscera report...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-pm-2472025124454-1000x0.jpg&w=1001&h=0)