What you should know
काठमाडौँ — रंगभेदविरुद्धको आन्दोलनको नेतृत्वकर्ता नेल्सन मण्डेलालाई विश्वभर आदर्श राजनीतिक व्यक्तिका रूपमा उदाहरण दिने गरिन्छ ।
२७ वर्ष जेल जीवन बिताएर दक्षिण अफ्रिकाको अश्वेत समुदायबाट पहिलो राष्ट्रपति बनेका मण्डेलाले चलाएको रंगभेदविरुद्धको आन्दोलनसामु श्वेत समुदायले उनलाई कारागारमै मत्युवरण गराउने योजना बनाए पनि त्यो विफल भएको थियो ।
सन् १९६१ मा मण्डेलामाथि देशद्रोहको मुद्दा लगाइयो तर त्यो प्रमाणित हुन सकेन । उनीमाथि १९६२ मा मजदुरलाई हड्ताल गराउन उकासेको र बिनाअनुमति देश छाडेको आरोप लगाएर आजीवन कराबासको सजाए सुनाइएको थियो । तर उनले आफने जेल जीवनमा पनि अश्वेत (काला जाति)लाई संगठित गर्न छाडेनन् । अश्वेतलाई श्वेत (गोरा जाति)ले गरेको दमनका विरुद्ध लगातार आवाज उठाइरहेका मण्डेला २७ वर्ष काराबासको जीवन बिताएका थिए ।
१९९० को दशकमा विश्वभर फैलिएको प्रजातन्त्रको लहरसँगै अफ्रिकी नेसनल कंग्रेस (एएनसीसी) का नेतासमेत रहेका मण्डेला पनि जेलमुक्त भएका थिए । उनी ११ फ्रेबुअरी १९९० मा रिहा भएका थिए । १९९४ मा भएको पहिलो सर्वजातीय निर्वाचनमा नेसनल कंग्रेसले निर्वाचन जितेपछि मण्डेला राष्ट्रपति बनेका थिए । उनी १० मे १९९४ मा अश्वेत समुदायबाट पहिलो राष्ट्रपति बनेका हुन् ।
श्वेत समुदायबाट पीडित मण्डेला राष्ट्रपति बनेपछि उनले आफूलाई जेल हाल्ने अश्वेतमाथि कुनै पनि कारबाही गर्ने वा दुस्मनी साँध्ने मनसाय राखेनन् । उनले अश्वतेहरूको बहुमत भएको डरले देश छाडेर विदेश जाने श्वतेहरूलाई कुनै डर र त्रास नलिई मातृभूमि फर्कन आह्वान गरेका थिए ।
उनले राष्ट्रपति बनेपछि भनेका थिए, ‘चालीस वर्षसम्म जातीय विभेदको चपेटामा रहेको अफ्रिकी समाजलाई एकताबद्ध हुन आवश्यक छ ।’ उनले सबै धार्मिक समुदायलाई अपिल गर्दै एएनसीसीले शान्ति र समृद्धि ल्याउने बताएका थिए । केपटाउनको मुख्य दुई केन्द्र ग्रिन र सी प्वाइन्ट साइनागोग्युको भ्रमणका क्रममा मण्डेलाले भनेका थिए, ‘देश छाडेर जो गएका छन्, उनीहरू फर्किऊन् भन्ने चाहना छ । हामीलाई तपाईंहरूको सीपको आवश्यकता छ ।’
जातीय भेदभाव गरेरै नेसनल पार्टी (एनपी) ले अफ्रिकामा ४६ वर्षसम्म शासन गरेको थियो । मण्डेलाले उक्त शासनकालमा मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाइएको आरोप लगाएका थिए । सरकारलाई अपदस्थ गर्न बृहत् योजना बनाएको अरोपसमेत लगाएर उनलाई लामो समय जेल राखिएको थियो । तर उनले आफूलाई २७ वर्ष जेल राख्ने सरकार र त्यसका अधिकारीहरूलाई पूर्वाग्रह नराख्ने बताएका थिए ।
मण्डेलाले यदि एनसीसीले चुनाव जितेको खण्डमा अफ्रिकीहरू जंग पस्छन् र श्वतेहरूमाथि आक्रमण गर्छन् भनी धर्मगुरुहरूले लगाएको आरोप असत्य प्रमाणित भएको बताएका थिए । उनले भनेका थिए, ‘एएनसीसी राष्ट्रका सबै जनताको भलाइ र कल्याणका लागि वचनबद्ध रहेको छ ।’ उनले सबै धर्मालम्बीले समाजमा नैतिक मूल्य कायम राख्ने विश्वास व्यक्त गरेका थिए ।
मण्डेलाले ५ वटा राजनीतिक दलको प्रतिनिधित्व हुने गरी ३६ जना न्यायाधीशलाई शपथ गराउने घोषणा पनि गरेका थिए । त्यसमा श्वेत राजनीतिज्ञ, उग्रपन्थी श्वेत र अश्वेत जातीय भेदभावविरुद्धका कार्यकर्ता, पूर्वस्वतन्त्र सेनानी, पूर्वराजनीतिक बन्दी, बुद्धिजीवी र बम बिस्फोटको आरोप लागेकाहरू समावेश गरिने घोषणा गरिएको थियो ।
आग्रह र पूर्वाग्रहबिनाको राजनीति कसरी गर्न सकिन्छ ? उनी कसरी सबैको आदर्श बने ? उनको विचारले दिने सन्देश के हो ? यिनै सन्दर्भसहित मण्डेलाले प्रजातन्त्रका लागि गरेको संघर्ष र शासन गर्ने शैलीका विषयमा केन्द्रित रहेर कान्तिपुरले २०५१ वैशाख २५ मा ‘मण्डेलाद्वारा गोराहरूलाई आह्वान’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That Mandela Without Revenge](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/nelsoon-2072025011406-1000x0.jpg&w=1001&h=0)