[अर्काइभ] ...त्यसैले एड्सलाई ‘सुषुप्त राक्षस’ भनिन्थ्यो 

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

[Archive] ...that's why AIDS was called the 'dormant monster'

What you should know

काठमाडौँ — अचेल एड्स रोगको चर्चा खासै सुनिँदैन । यो रोग लागेपछि ढिलोचाँडो मृत्युकै मुखमा पुगिन्थ्यो भन्दा अहिले धेरैलाई पत्यार नलाग्न सक्छ । तर ५० को दशकमा एड्सलाई विज्ञहरूले सुषुप्त राक्षसको संज्ञा दिएका थिए ।

विज्ञहरू भन्ने गर्थे, ‘एड्स चाँडै विस्फोट हुने ज्वालामुखीजस्तै हो ।’ थाहै नपाई भित्रभित्रै सर्ने र रोग लागेपछि मृत्यु नै हुने भएकाले एड्सलाई सुषुस्त राक्षसको रूपमा हेरिन्थ्यो । 

यौन सम्पर्क वा रगतबाट सर्ने यो रोग अहिले नियमित औषधि सेवन गरेपछि निको हुने गरेको छ । त्यसैले यसको चर्चा कम भएको हो । औषधि पत्ता नलागेका कारण ५० देखि ६० को दशकसम्म एड्सले विश्वलाई नै एकप्रकारले आतंकित बनाएको थियो । एचआईभी एउटा भाइरस जीवाणुको नाम हो । यो भाइरस शरीरमा प्रवेश गरेपछि एड्स लागेको मानिन्छ । नेपाल सरकारले पनि यो रोग नियन्त्रण गर्न विदेशी सहयोग लिएर बर्सेनि करोडौं खर्च गर्दै आएको थियो । 

अफ्रिकामा ४० को दशकमा पत्ता लागेको यो रोगलाई अनुन्धानकर्ताहरूले सन् २००० सम्म एसिया महादेश सबैभन्दा बढी एड्स प्रभावित बन्ने घोषणा गरेका थिए । अफ्रिकाबाट युरोप, अमेरिका हुँदै एसियाली मुलुकमा एड्स फैलिएको थियो ।

एसिया क्षेत्रीय कार्यालय बैंकक एड्स नियन्त्रण तथा रोकथाम परियोजना (एड्स क्याप) का मूल्यांकन तथा सरुवा रोग विशेषज्ञ स्टेफेन चेलले २०५१ मा सार्वजनिक गरेको विवरणमा विश्वभर एड्स रोगीको संख्या ६ लाख पुगेको उल्लेख गरेका थिए । थाइल्याण्डमा मात्र त्यतिबेला ३ हजार १ जना एड्स रोगी भेटिएका थिए । मुम्बइमा झण्डै २ लाख जना महिला यौनधन्दामा लागेका र तीमध्ये लगभग ५० प्रतिशत एड्सबाट पीडित भएको थाई रेडक्रस सोसाइटीको सर्वेक्षणले सार्वजनिक गरेको थियो । 

खुला सिमानाका कारण नेपालबाट भारतमा बर्सेनि ६ देखि ७ हजारको संख्यामा महिलाहरू यौनधन्दाका लागि विभिन्न सहरमा बेचिने गरेको तथ्यांक थाई रेडक्रसले सार्वजनिक गरेको थियो । उनीहरूमध्ये कतिपयलाई एड्स लागेको थाहा पाएपछि निकालिने गरेका थिए भने कोही आफैं फर्कनेहरू पनि थिए । 

नेपालमा त्यतिबेला एड्सका बिरामी राख्ने स्थान थिएन । समाजले पनि एड्स लागेको बिरामीलाई नकारात्मक रूपमा हेर्ने गरेको थियो । नेपाल आएपछि उनीहरूले एड्स सार्ने सम्भावना अझ बढी भएको अभियानकर्ताहरूले बताएका थिए । बाँच्ने अर्को विकल्प नभएका कारण एड्स लागेकाहरू फेरि यौनधन्दामा लाग्ने गरेका थिए । त्यसैले यो रोगलाई झन् भयावह रूपमा फैलाउने चिन्ता गरिन्थ्यो । 

यौन निययन्त्रण आयोजनाका प्रमुख डा. बेनुबहादुर कार्कीले यौनसम्पर्कमा जानेहरू मध्ये ५० हजारले मात्र कण्डम प्रयोग गर्थे । यस्ता व्यक्तिहरू नेपाल फर्केर एड्स सार्ने खतरा बढी रहेको उनले जानकारी दिएका थिए । 

 एड्स रोकथाम तथा नियन्त्रण परियोजना एसिया क्षेत्रका निर्देशक डा. निल व्रेनडेनले एड्स नियन्त्रणका लागि यौन आचरणमा परिवर्तन र कण्डमको प्रयोग मुख्य रहेको बताउने गर्थे । एड्स लागेको तत्कालै पत्ता लगाउन नसक्ने भएकाले नियन्त्रणमा कठिन थियो । डा. व्रेनडेनले भने कण्डम जाताततै पाउने व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए । 

नेपालमा लुकीछीपी गर्ने यौन गतिविधिका कारण एड्स पीडित मान्छे पत्ता लगाउन पनि कठिन हुन्थ्यो । त्यतिबेला कामको खोजीमा सुदूरपश्चिमका पुरुष बढी मात्रमा भारत जान्थे । काठमाडौं र आसपासका जिल्लाबाट भने महिलाहरू बढी संख्यामा भारत जाने गरेका थिए ।

भारत, नेपाल, थाइल्याण्डसहित विश्वका मुलुकहरूमा एड्स रोगको अवस्था, यसले पारेको प्रभाव, फैलावट र नियन्त्रणको प्रयासका विषयमा केन्द्रित रहेर पत्रकार स्वस्तिका भट्टराईले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५१ वैशाख १७ मा ‘एड्सः उपचार नभए पनि नियन्त्रण सम्भव’ शीर्षकमा प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर संवाददाता

Link copied successfully